महिला सांसद नियमित

By editor, 11 November, 2018

महिला सांसद नियमित

आठ महिनामा ८२ दिन बैठक चल्दा प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष दाहाल २२ दिन, प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति देउवा २० दिन, कांग्रेसकै सांसद अभिषेकप्रताप शाह १३ दिन र संघीय समाजवादी फोरमका सूर्यनारायाण यादव १० दिन मात्रै उपस्थित भए

कार्तिक २५, २०७५

मकर श्रेष्ठ 

काठमाडौँ — डडेलधुराकी नीरादेवी जैरु संसद् बैठकमा नियमित पुग्छिन् । पहिलो र दोस्रो अधिवेशनको आठमहिने अवधिमा ८२ दिन भएका पूरै बैठकमा हाजिर भइन् । जिल्लाको समस्यादेखि राष्ट्रिय विषयमा भाग लिइन् ।

उनी प्रतिनिधिसभामा नेकपाका तर्फबाट समानुपातिक सांसद हुन् । यही सक्रियताको कदर गर्दै पार्टीले जैरुलाई राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको भूमिका दियो । प्रतिनिधिसभाका ९० महिला सांसदमध्ये बैठकमा नियमित हुुने उनी एक्ली हुन् ।

पुरुषतर्फ प्रतिनिधिसभाका सबै बैठकमा सहभागी हुने ललितपुरका कृष्णलाल महर्जन, बझाङका भैरवबहादुर सिंह, दैलेखका राजबहादुर बुढाक्षेत्री छन् । कुल बैठकमध्ये ७१ महिला (७८ प्रतिशत) ६१ वटाभन्दा बढीमा उपस्थित छन् । यो कुल हाजिरीको ७५ प्रतिशत हो । एसईईमा ७५ प्रतिशत हाजिर नहुने विद्यार्थी परीक्षा दिन अयोग्य मानिन्छ । यहाँ पनि ७५ प्रतिशत हाजिर नहुने सांसद ९१ जना छन् । उनीहरू बैठकमा ६१ दिनभन्दा कम पुगेका हुन् ।
२०७४ फागुन २१ देखि गत असोज ११ सम्मको हाजिरी विश्लेषण गर्दा ७५ प्रतिशत कटाउने सांसद १ सय ८३ मात्र छन् । प्रतिनिधिसभामा २ सय ७४ सांसद छन् । राजपाका रेशम चौधरी थुनामा छन् । उनको शपथ नै भएको छैन । महिला सांसदमध्ये १९ जना अर्थात् २२ प्रतिशतको हाजिर ७५ प्रतिशत पुगेको छैन । १ सय ८४ पुरुषमध्ये १ सय १२ अर्थात् ६१ प्रतिशतको हाजिरी मात्रै ७५ प्रतिशत कट्छ ।

५० प्रतिशत पनि हाजिर नपुग्नेमा ३० सांसद छन्, २६ पुरुष र चार महिला । महिलातर्फ महिला तथा बालबालिकामन्त्री थममाया थापा र खानेपानीमन्त्री बिनामगरसहित अन्य तीन जना छन् । पुरुषतर्फ ५० प्रतिशत हाजिर नकटाउनेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन् । देउवा २० दिन र दाहाल २२ दिन मात्रै हाजिर छन् ।
सभामुखले अधिवेशनको अन्त्यमा दाहाल नियमित २१ बैठकमा अनुपस्थित भएको भन्दै असोज ११ को अन्तिम बैठकमा उनको बिदा अनुमोदन गराएका थिए । उनी असार ३ देखि २२ सम्मका २१ बैठकमा अनुपस्थित थिए । त्यस्तै देउवा २० दिनमात्रै उपस्थित भएका छन् । उनी जेठ १५ देखि असार ११ सम्मका १५ वटा र असार १२ देखि ३२ सम्मका १७ वटा बैठकमा लगातार अनुपस्थित थिए ।
प्रतिनिधिसभा नियमावलीमा लगातार १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थितको विवरण सभामुखले सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । ‘अग्रभागमा बस्ने नेताहरू नियमित बैठक नआउने अनि उहाँहरूको अनुपस्थिति हुँदाको पद बिदा अनुमोदन गरेर हामीले जोगाइदिनुपरेको छ,’ एक सांसदले भने, ‘पहिलो र दोस्रो लाइनमा बस्ने नेता नियमित आउने हो भने अरू सांसद त आइहाल्छन् ।’
कांग्रेसका ६३ सांसदमध्ये ३१ जनाको मात्रै हाजिरी ७५ प्रतिशतभन्दा बढी छ । तिनमा १६ जना महिला छन् । दाङकी विमला नेपाली र हुम्लाकी रंगमती शाही ८० दिन र बाग्लुङकी ज्ञानकुमारी छन्त्याल ७९ दिन बैठक पुगे । पुरुषतर्फ दिव्यमणि राजभण्डारी र सत्यनारायण शर्मा खनाल सबभन्दा बढी ७९ दिन उपस्थित भएका छन् । कुल सांसदमध्ये ३० जना ४१ दिन मात्रै उपस्थित छन् । तिनमा १० जना कांग्रेस हुन् । कांग्रेसतर्फ कपिलवस्तुका अभिषेकप्रताप शाह १३, बर्दियाका किशोरसिंह राठौर २३, रूपन्देहीका प्रमोदकुमार यादव २५, कास्कीका सूर्यबहादुर केसी २९, विनोद चौधरी ३०, देवेन्द्रराज कँडेल ३४, सर्लाहीका नागेन्द्रकुमार ३७, पदमनारायण चौधरी ३७ र कर्मा घले ४१ दिन मात्र उपस्थित थिए ।

नेकपाको ११५ सांसदको हाजिर ७५ प्रतिशतनेकपाका १ सय ७४ सांसदमध्ये १ सय १५ जनाको हाजिरी ७५ प्रतिशतभन्दा बढी छ । डडेलधुराकी जैरुपछि महिलातर्फ काठमाडौंकी मायादेवी न्यौपाने ८१, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला, कैलालीकी लक्ष्मीकुमारी चौधरी र काठमाडौंकी बिनाकुमारी श्रेष्ठ ८० दिन उपस्थित भएका छन् ।
पुरुषतर्फ महर्जन, सिंह र बुढाक्षेत्रीपछि धादिङका खेमप्रसाद लोहनी, दार्चुलाका गणेशसिंह ठगुन्ना, कालिकोटका दुर्गबहादुर रावत ८१ दिन उपस्थित छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सुर्खेतका ध्रुवकुमार शाही, नवराज रावत, ललितपुरका नवराज सिलवाल, तेह्रथुमका विजय सुब्बा, दैलेखका रवीन्द्रराज शर्मा, बाजुराका लालबहादुर थापाको ८० दिन हाजिर छ । १५ जनाको हाजिरी ५० प्रतिशत पनि छैन । तिनमा १३ जना मन्त्री छन् । अध्यक्ष दाहाल र शिवकुमार मण्डल ४१ दिनभन्दा कम उपस्थित छन् ।
राजपाका १७ सांसदमध्ये ७५ प्रतिशत हाजिरी कटाउने ९ जना मात्र छन् । निर्जला राउतको उपस्थिति सबैभन्दा न्यून ३९ दिन छ । अमृतादेवी अग्रहरी सबैभन्दा बढी ७७ दिन हाजिर छिन् । संघीय समाजवादी फोरमका १६ सांसदमध्ये अध्यक्ष उपेन्द्र यादव २७, मोहम्मद इस्तियाक राई ३५, रेणुकुमारी यादव ३२ र सूर्यनारायण यादव १० दिनमात्रै बैठकमा गएका छन् । ७५ प्रतिशत हाजिरी कटाउने सात जना मात्र छन् । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सबैभन्दा बढी ८१ दिन उपस्थितभएका छन् । महिलातर्फ सबैभन्दा बढी कालुदेवी विश्वकर्मा ७७ दिन हाजिर छिन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई ४७ दिन मात्रै उपस्थित छन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ७२, राप्रपाका राजेन्द्र लिङदेन ६८, जनमोर्चाकी दुर्गा पौडेल ६२ दिन, स्वतन्त्र सांसद छक्कबहादुर लामा ७६ दिन उपस्थित भएका छन् ।
मन्त्री अधिकांशमा गयलबैठकमा मन्त्रीहरूकै हाजिरी दर कमजोर छ । उनीहरू आधाभन्दा बढी बैठकमा अनुपस्थित देखिएका छन् । प्रधानमन्त्री केपी ओली २६ दिन मात्र उपस्थित छन् । उनीसहित १३ मन्त्री र १ राज्यमन्त्री ४१ दिन पनि बैठक पुगेनन् । थममाया थापा ४०, रघुवीर महासेठ ३८, रवीन्द्र अधिकारी ३८, वर्षमान पुन ३७, मोहम्मद इस्तियाक राई ३५, चक्रपाणि खनाल, जगतबहादुर सुनार ३४, गोकुल बाँस्कोटा र मातृका यादव ३३, बिना मगर २९, उपेन्द्र यादव २७, शक्ति बस्नेत २६ र गोकर्ण विष्ट २४ दिन मात्रै उपस्थित भए ।
राज्यमन्त्री धनबहादुर बुढा ३५ वटा बैठकमा मात्र पुगे । मन्त्रीमध्ये भानुभक्त ढकाल सबैभन्दा बढी ७० वटा बैठकमा उपस्थित भए । शेरबहादुर तामाङ हटेपछि उनी कानुनमन्त्री भएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल ५७, पद्मा अर्याल ५४, लालबाबु पण्डित ५३, प्रदीप ज्ञवाली ४७, गिरिराजमणि पोखरेल ४६, राज्यमन्त्रीहरू सुरेन्द्रकुमार यादव ४६ र रामकुमारी चौधरी ४५ दिन उपस्थित भए ।
राष्ट्रिय सभामा बढीराष्ट्रिय सभाको हाजिरी प्रतिनिधिसभामा भन्दा राम्रो पाइएको छ । ५९ सदस्यमध्ये ५४ जनाको हाजिरी ७५ प्रतिशत कटेको छ । फागुन २१ मा सुरु राष्ट्रिय सभाको दोस्रो अधिवेशन असोज ११ सम्मै चलेको थियो । कुल ६३ दिन बैठक बस्यो । ७५ प्रतिशत हाजिर पुग्न ४७ दिन उपस्थित हुनुपर्छ । त्यति पनि हाजिर नहुनेमा गृह, अर्थमन्त्री र अन्य तीन सांसद छन् ।
गृहमन्त्री रामबहादुर थापाको सबैभन्दा कम २७ दिन हाजिरी छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाको ४२, नेकपाका सांसद चन्द्रबहादुर खडकाको ४३, कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र संघीय समाजवादी फोरमका रामपृत पासवानको ४० दिन मात्र छ । नेकपाका उदया शर्मा पौडेल, खिमकुमार विक, परशुराम मेघी गुरुङ र मनोनीत रामनारायण बिडारीले एकै दिन बैठक छुटाएनन् ।
हाजिर गर्दै भाग्दैप्रतिनिधिसभामा अधिकांश सांसद हाजिर गर्दै बैठकबाट बाहिरिने गरेका छन् । संसद्मा महत्त्वपूर्ण विषयमा छलफल हुँदासमेत उनीहरू देखिँदैनन् । नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै बारम्बार आवाज उठाउने गरेका छन् ।

कतिपय सांसद बैठक सुरु हुनुअघि नै हाजिर गरेर बाहिरिन्छन् त कोही बैठक सकिएपछि हाजिर गर्न मात्र आउँछन् । ‘केही माननीय त दुई–चार दिनपछि आएर अस्तिको हाजिर गर्नु थियो भन्छन्,’ संसद् सचिवालयका एक कर्मचारी भने, ‘जबर्जस्ती हाजिर गरेर जान्छन् ।’ बैठकमा उपस्थित भएबापत सांसदलाई दुई हजार भत्ता दिइँदै आएको छ ।

स्रोत : कान्तिपुर दैनिक