राष्ट्रिय महत्वका दस्ताबेजको अभिलेख खोज्दै संसदीय समिति

By editor, 4 October, 2018

कृष्ण कट्टेल

 

संसद् सचिवालयकै २० हजार पुस्तक भुइँतलामा असरल्ल

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वका दस्तावेजहरूको अभिलेखबारे अध्ययन तथा अनुगमन थालेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले अध्ययन, अनुगमन गर्ने निष्कर्ष निकालेको हो ।

महत्वपूर्ण दस्तावेज अभिलेखबारे सरकारलाई निर्देशन दिनु आवश्यक भएकाले अध्ययन, अनुगमन गर्ने निष्कर्षमा समिति पुगेको समितिका सदस्य राधेश्याम अधिकारीले बताए । उनले संघीय संसद् सचिवालयले पुस्तकालय व्यवस्थापन गर्न गरेका काम–कारबाही, संसद्ले गर्नुपर्ने कामबारे अध्ययन गरिने जानकारी दिए ।

समितिका सभापति रामनारायण बिडारीले महत्वपूर्ण दस्तावेजलाई अभिलेख गर्न सम्बन्धित निकायबाट भए–गरेका कामको अनुगमन गरिने बताए । ‘सरकारको मात्रै नभई संसद्को अभिलेखालयलाई व्यवस्थित, परिमार्जित, वैज्ञानिक र आधुनिक बनाउने हाम्रो चासो हो,’ उनले भने ।

ऐनदेखि विनियमसम्म  अध्ययन :  सभापति बिडारी
संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ऐनअनुसार नियम तथा विनियम नभए उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । ‘ऐनअनुसार नियम मिलेको छ कि छैन भन्ने विषय पनि समितिको क्षेत्राधिकारमा छ । हामी जुनसुकै निकायमा ऐनअनुसारको नियम छ कि छैन भन्ने विषय अध्ययन गर्दै छौँ,’ सभापति रामनारायण बिडारीले भने । संघीय संसद्मार्फत सरकारले दिएका आश्वासन पूरा भए–नभएबारे समेत अध्ययन प्रारम्भ गर्ने समितिले जनाएको छ ।

२० हजार पुस्तक व्यवस्थित गरिँदै
संघीय संसद् सचिवालयको पुस्तकालयमा २० हजार पुस्तक रहेको पुस्तकालय प्रमुख कमलादेवी शर्माले बताइन् । पुस्तकालय माथिल्लो तलाबाट तल्लो तलामा सारिएकाले व्यवस्थापनको काम भइरहेको उनले बताइन् । ‘अटेसम्मका पुस्तक भुइँतलामा नै राख्छौँ । नअटेमा अन्डरग्राउन्डमा राख्ने विषयमा कुरा गरिरहेका छौँ,’ पुस्तकालय प्रमुख शर्माले भनिन् ।

विगतका संसद्का महत्वपूर्ण दस्तावेज अव्यवस्थित तरिकाले राखिएको र जीर्ण हुने अवस्थामा देखिएको समितिका सदस्यहरूले बताएका छन् । समितिले पुस्तकालयका कर्मचारी तथा सचिवालय कर्मचारीसँग छलफल गर्ने र आवश्यक निर्देशन दिने बताएको छ ।

यसरी उपेक्षामा प-यो पुस्तकालय
राष्ट्रिय सभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउन भन्दै संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना तथा सार्वजनिक खरिद ऐनविपरीत झन्डै २ करोड रुपैयाँ खर्च गरेको छ । सोहीक्रममा पुस्तकालयलाई भुइँतलामा झारिएको छ । ‘राष्ट्रिय सभा अध्यक्षदेखि समिति सभापतिलगायतको कार्यकक्ष सुविधासम्पन्न बनाउन लाखौँ खर्च गरिसके । तर, पुस्तकालयको बिजोग छ,’ सचिवालयकै एक कर्मचारीले भने ।

संसद्कै पुस्तकालय भद्रगोल
संसदीय समितिले आइतबार नै संसद्को पुस्तकालय अवलोकन गरेको छ । यसअघि पुस्तकालय रहेको क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्षदेखि अन्य पदाधिकारीको कार्यकक्ष बनाउने भन्दै सचिवालयले झन्डै दुई करोड खर्च गरेको छ । पदाधिकारीलाई सुविधासम्पन्न कार्यकक्ष बनाउने क्रममा पुस्तकालयलाई संघीय संसद् सचिवालयको भवन नम्बर दुईको ग्राउन्ड फ्लोरमा झारिएको छ, जुन भद्रगोल अवस्थामा छ । ‘संसद्कै पुस्तकालयको अवस्था व्यवस्थित छैन । यसबारे हामी सचिवालयका कर्मचारीसँग छलफल गर्छौं, अनि आवश्यक निर्देशन दिन्छौँ,’ समिति सभापति बिडारीले भने ।

८ वर्षको राजपत्र गायब
नेपालमा ००७ पछि राजपत्रमा विभिन्न सूचना प्रकाशन गरिँदै आएको हो । संघीय संसद् सचिवालयमा ०१६ सम्मको राजपत्र नभेटिएको समितिका सदस्य राधेश्याम अधिकारीले बताए । भएका पुस्तक तथा विभिन्न महत्वपूर्ण दस्तावेजलाई पनि व्यवस्थित गर्नुपर्ने उनले बताए ।

स्रोत : नयाँ पत्रिका