मोहन नेपाली
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्व व्यवस्थाका चारित्रिक कमजोरीहरूबाट टाढा राख्दै जनजीवनलाई रूपान्तरण गर्ने दिशामा सदुपयोग गर्न पत्रकारिता क्षेत्रको भूमिका बढेको छ । जनजीवनलाई सहज र सरल बनाउन तथा उनीहरूमाथि हुने शोषण र विभेदलाई न्यूनीकरण गर्न नेतृत्वपङ्क्तिले तब मात्र प्रभावकारी रूपले काम गर्न सक्छ जब उसले पत्रकारितामार्फत धरातलीय यथार्थको बोध गर्न पाउँछ । सूचना प्राप्त गर्ने स्रोतहरू अन्य पनि छन्, तर राज्य लगायत सबै सरोकारवाला पक्षले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र सूचना संप्रेषकको विशिष्ट जिम्मेवारी दिएको कारणले यो कुरा उल्लेख गर्नु परेको हो ।
सञ्चार माध्यममा क्रियाशील संचारकर्मीहरूले विश्वका साझा मानवीय सवालहरूलाई र राष्ट्रभित्रका केन्द्रीय र स्थानीय सवालहरूलाई गहिरोसँग विश्लेषण गर्ने क्षमताको विकासमा जोड दिनुपर्छ । पत्रकारले विषय छनोट गर्ने क्रममा ठूलो परिश्रम गर्नुपर्ने हुन्छ । यसो गर्न नियमित अभ्यासको जरुरत पर्छ । बानी नबसालिकन सूचना संप्रेषणको विषय वस्तु छनोटमा पोख्त हुन सम्भव हुँदैन ।
नेपालको टड्कारो अभ्यास अनुसार सम्प्रेषित सूचना अधिकतम रूपमा नेतामुखी छ । नेताको मनमा के प्रतिक्रिया उत्पन्न भैरहेको छ भन्नेमा सूचना संप्रेषण बढी केन्द्रित छ । नेताहरूको विचार र प्रतिक्रियाबारे जनतालाई सूचित गर्नु बेमनासिब होइन तर समानुपातिक रूपमा जनताले उद्वेग र प्रतिक्रियाको सट्टा नीतिगत तथा क्रियामुखी जानकारी पाउनु त्यत्तिकै अर्थपूर्ण हुन्छ । तत्तत् विषयमा के नीति छ र कार्यान्वयनको परिणाम के आएको छ र किन भन्ने प्रश्नहरूको उत्तर पाउने गरी हुने सूचना सम्प्रेषण गुणस्तरीय पत्रकारितामा अपेक्षा गरिन्छ । हामीलाई मोटो अवधारणाभन्दा मसिनो सूचना बढी आवश्यक छ । जस्तै, दूरदराजमा मानिसहरू कसरी, कस्तो जीवन बाँचिरहेछन् र तिनका मूल समस्याहरू के के हुन् भन्ने सम्बन्धमा नेपाली समाजको स्थिति र चरित्र विश्लेषण गर्न सघाउ पु¥याउने सूचना पर्याप्त मात्रामा आपूर्ति गर्न नसक्ने हो भने एकातिर पत्रकारिता विधाको धार पनि मुडिदै जानेछ भने अर्कोतिर जनताको निर्णय क्षमता पनि थप कमजोर बन्दै जानेछ । यो भनेको राष्ट्र कमजोर हुनु हो ।
वास्तवमा, जनताको वास्तविक जीवनधाराबाट खोजेर ल्याएको सूचनाले सही नीति निर्माण गर्न सहयोग पुग्नेछ । शहर र सुविधा, केन्द्रित सूचना संप्रेषणले मात्रै भुइँतहका अधिकांश जनसमुदायलाई सम्बोधन गर्ने खालको वैज्ञानिक र वस्तुगत नीति निर्माण गर्न मनग्य सहयोग पु¥याउँछ भनेर विश्वस्त हुन सकिन्न । सीमित वर्गले आफ्नो वर्चस्व कायम गरिराख्न सूचना संप्रेषणको दिशानिर्देश गरिरहेको छ भन्ने जनमत निर्माण नहोस् भन्ने तर्फ सचेत हुन् आवश्यक छ । त्यस्तो स्थिति आयो भने जनता र राज्यबीचको दूरी निकै बढ्न जाने छ । त्यसैले, पत्रकारिता क्षेत्रको एक मूल काम राज्य र जनतालाई बलियोसँग जोड्ने पुलको भूमिका खेल्नु हो भन्ने तथ्यलाई विश्वव्यापी रूपमा स्वीकारिएको हो ।
जनताले बाँचेको वास्तविक जीवनबारे सही सूचना प्राप्त गरेर मात्रै नेतृत्व पंक्तिहरूले आफ्नो लोकतान्त्रिक ज्ञानको दायरा बढाउन सक्छन् । लोकतन्त्रको ज्ञान भन्नु नै जनजीवनको यथार्थबोध गर्नु हो । राजनीतिशास्त्रले पनि जनताकै व्यावहारिक जीवनलाई संश्लेषण गरी सैद्धान्तिकरण गरेको हो । तर, त्यसलाई अद्यावधि गरिरहनु आवश्यक हुन्छ, र त्यसो गर्न आफ्नै जीवन्त जनतालाई पढ्नमा धेरै समय खर्चनु पर्छ । पत्रकारहरूले आफ्नो साधनस्रोतले भ्याएसम्म जनताबारे बुझेर वस्तुगत सूचना सार्वजनिक गर्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता व्यावहारिक आदर्श नै हो । चुनावमुखीभन्दा पनि जनजीवनमुखी राजनीतिक संगठनहरू छन् भने उनीहरूले पनि पर्याप्त मात्रामा भुइँतहको सूचना सङ्कलन गर्न सक्ने सम्भावना रहन्छ । तर, त्यसरी सङ्कलन गरेको सूचना उनीहरूले आफ्नै राजनीतिक प्रयोजनको निम्ति प्रयोग गर्ने बढी सम्भावना हुन्छ । उता, पत्रकारले पत्रकारिताको सिद्धान्तमा टेकेर सङ्कलन र प्रशोधन गरी संप्रेषण गरेको सूचनामा बढी निष्पक्षता हुन्छ भन्ने विश्वास गरिन्छ ।
पत्रकारिता क्षेत्रले पार्टीहरूले भन्दा फरक तरिकाले जनताको प्रतिनिधित्व गर्दछ संसद् नै नभएको बेलामा पनि पत्रकारिता क्षेत्रले आफूसक्दो मात्रामा जनताका मुद्दाहरू उठाइरहन्छ । यसको अलावा, राज्यका सबै तह र तप्काका लागि नीति निर्माणको लागि अत्यावश्यक समाचार र अन्य समालोचनात्मक एवं विश्लेषणत्माक सूचना आपूर्ति गर्ने सार्वजनिक जिम्मेवारी पत्रकारिता क्षेत्रले बहन गरेको हुन्छ । त्यसैले, यसलाई राज्यको चौथो अङ्ग मानिएको हो । यो क्षेत्रलाई कुनै पक्षले पनि आफ्नो अधीनस्थ होस् भन्ने ठानेमा त्यो हानिकारक ठहर्छ । त्यसैगरी, पत्रकारिता क्षेत्र पनि स्वेच्छाचारी बन्न सक्तैन । यसले गर्ने एउटा गल्तीले पनि समाजले भयङ्कर क्षति बेहोर्नु पर्ने हुनाले कानुन र आचारसंहिताको विशिष्ट महìव महसुस गरिएको हो । हरदम खबरदारी गर्नु पत्रकारिताको धर्म हो । सही खबरदारी गर्ने कामलाई दुरुत्साहित गरिएमा सिङ्गै समाज नै नैतिक र मानसिक रूपले निर्बल बन्दै जानेछ । जसरी पत्रकारिता क्षेत्रले विभिन्न संगठित वा असंगठित पक्षहरूले गर्ने राम्रो कामलाई सार्वजनिक गर्ने मात्रै होइन कि नराम्रा कामका विरुद्ध खबरदारी पनि गर्छ, त्यसैगरी समाजका विभिन्न तह र तप्काहरूले पनि पत्रकारिता क्षेत्रले गर्ने असल कर्मलाई खुलेर समर्थन गर्नुपर्छ र त्यसले गर्ने नराम्रा कामका विरुद्ध खबरदारी गर्नुपर्छ । यस प्रकार, नियन्त्रण र सन्तुलनको वातावरण कायम राख्न सकिन्छ ।
कुनै पनि व्यवस्था सफल वा असफल हुनुमा नेतृत्वपंक्ति जनतालाई के कति बुझेर काम गर्छ भन्नेमा भर पर्छ । सकारात्मक प्रचारप्रसारका बाबजुद नेतृत्वले गरेका कामले थोरैलाई मात्र फाइदा तर अधिकांश जनतालाई बेफाइदा भएको खण्डमा नेतृत्व अन्ततोगत्वा सफल ठहर्न सक्तैन । गलत सूचनाको भरमा वा सिलसिलाबद्ध रूपमा उत्पादित भ्रमको प्रभावमा परेर काम गर्ने नेतृत्वपंक्तिले लामो समयसम्म आफ्नो एतिहासिक महìव कायम राख्न सक्तैन । त्यसैले, सूचना प्रशोधनको क्षमता जनता र नेतृत्व दुवै पक्षको निम्ति अति आवश्यक छ । समाज सञ्चार साक्षरताको दृष्टिले जति जति खारिँदै जान्छ, पत्रकारिता क्षेत्र पनि त्यति त्यति नै खारिँदै जान्छ । पत्रकारिता क्षेत्रलाई समाजले घचघच्याउन र जायज समालोचनात्मक समर्थन दिन सकेन भने पत्रकारिता क्षेत्र शिथिल बन्दै जान्छ । यस अर्थमा, पत्रकारिता र समाजको यो अन्तरसम्बन्धलाई आत्मसात् गर्नु आवश्यक छ ।
सूचनाको बमबारी हुने युग हो यो । समाजको सञ्चार साक्षरतालाई सधैँ अद्यावधि नगरी जनताले प्राप्त सूचनालाई प्रशोधन गरी जीवनोपयोगी ढंगले ग्रहण गर्न सक्तैनन् । वर्तमान सूचना र संचारको युगमा तह नै लाउन नसक्ने गरी सूचनाको उत्पादन भैरेहेको छ । कतिपय सूचना त सर्वसाधारण जनताले बुझ्ने खालका हुँदैनन् । तिनलाई विशेषज्ञहरूले व्याख्या गरिदिनु पर्ने हुन्छ । अधिकांश जनताले बुझ्ने सूचना पनि उपयोगमै आएका छैनन् । यस सम्बन्धमा, सूचना प्रशोधन वर्तमान समाजको लागि एक विशिष्ट चुनौती हो भनेर मान्न सकिन्छ ।
नागरिकको सूचना प्रशोधन गर्ने क्षमताको विकास गर्नु अति जरुरी छ । सूचनाको बाढी आइरहेको समयमा नागरिकलाई समग्रतामा विवेकसम्पन्न नबनाउने हो भने एकातिर नागरिकमा मानसिक स्थूलीकरण बढ्न गै राष्ट्र नै कमजोर बन्न जाने हुन्छ भने, अर्कोतिर सूचानाको सदुपयोग हुन नसकी ठूलठूला दुष्परिणामहरू समेत निस्कन सक्छन् । त्यसैले, यस सम्बन्धमा गहन खोजमा आधारित उपयुक्त नीति, योजना र कार्यक्रमको आवश्यकता पर्छ । सञ्चार साक्षरता वर्तमान समाजको लागि अति आवश्यक भएकोले विद्यालय स्तरीय पाठ्यक्रममा समेत आधारभूत सञ्चार साक्षरताको विषय वस्तु समावेश गर्नु आवश्यक छ । सङ्घसंस्थाहरूले पनि अनौपचारिक तवरले जनसमुदायमाझ सञ्चार तथा सूचना साक्षरताको प्रवद्र्धन गर्ने कार्यलाई आवश्यकताकै रूपमा अगाडि बढाउन ढिला गर्नु हुन्न ।
स्रोत : गोरखापत्र दैनिक