विशेष अदालत काठमाडौं र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ (प्रत्यक्ष प्रसारण) थालेका छन् । विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार ‘लाइभ स्ट्रिमिङ’ थालेका हुन् । सर्वोच्च अदालतमा पनि ‘लाइभ’ को तयारी भइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पहिलो चरणमा विशेष अदालत र उच्च अदालत जनकपुरमा ‘लाइभ स्ट्रिमिङ’ सुरु गरिएको बताए । ‘दोस्रो चरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने तयारी छ,’ उनले भने, ‘यो क्रम बिस्तारै उच्च हुँदै मुद्दा धेरै भएका जिल्ला अदालतसम्म फैलिनेछ ।’ यसमा एकरूपता ल्याउन कार्यविधि बनाउने प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका एमाले नेता एवं पूर्वमन्त्री विष्णु पौडेलको म्याद थपका लागि मंगलबार विशेष अदालतमा भएको बहसलाई प्रत्यक्ष प्रसारण गरिएको थियो । विशेष अदालतले इजलासबाहिर ‘लाइभ रुम’ मा रहेको टीभीमार्फत प्रत्यक्ष प्रसारण गरेको हो । दुई दिनअघि उच्च अदालत जनकपुरले पनि बन्द इजलासबाट सुनुवाइ हुने, गोपनीयता कायम राख्नुपर्ने र सार्वजनिक शान्ति, सुव्यवस्था तथा राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्ने विषयका मुद्दाबाहेकमा इजलासको कामकारबाही युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्न थालेको थियो ।
स्रोत : कान्तिपुर दैनिक
प्रकाशित मिति : २०८३ /३/ १२