सूचनाको हकसम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

By editor, 29 August, 2018


 
      काठमाडौँ, १३ भदौ ,  सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्ने उद्देश्यले सूचनाको हकसम्बन्धी तीन दिने आवसीय प्रशिक्षण आज सम्पन्न भएको छ ।

 
      लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक, सुशासन र पारदर्शीताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित उक्त प्रशिक्षणमा प्रदेश नं. ३ का सिन्धुपाल्चोक, ओखलढुङ्गा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप र मकवानपुरका विभिन्न स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयका गरी २१ जना सूचना अधिकरीको सहभागिता रहेको कार्यक्रम अधिकृत भावना पोद्दारले जानकारी दिनुभयो ।
 
      प्रशिक्षण–कार्यशालामा सूचनाको हकको अन्तर्राष्ट्रिय अभ्यास, अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानुनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलन जस्ता विषयहरूमा फ्रिडम फोरमका महासचिव एवं नेपाल पत्रकार महासंघका पूर्वसभापति झर्मेन्द्र झा, फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल र कार्यक्रम संयोजक सञ्जिव घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
 
प्रशिक्षणबाट आफुले सुशासन, सूचनाको हक, अवधारणा र मान्यतालाई ध्यानमा राखि नागरिकप्रती बढीभन्दा बढी पारदर्शी बनी सूचना प्रवाह तथा सार्वजनिक गर्ने उपस्थित स्थानीय तहका सूचना अधिकारीहरुले बताउनुभयो ।

      सूचनाको हकको संरक्षण, प्रचलन तथा प्रबद्र्धन गर्ने सन्दर्भमा फ्रिडक फोरमले यसअघि प्रदेश नं. ७ को धनगढी, ६ को सुर्खेत, ५ को दाङ र कपिलवस्तु, ३ को भक्तपुरमा प्रशिक्षण सम्पन्न गरिसकेको छ ।