निर्वाचनको मिति जति नजिकिँदै छ, हानिकारक (टक्सिक) सूचनाको प्रचारप्रसार उति नै बढ्दै छ । मतदातालाई प्रभावित पार्ने गरी हानिकारक सूचनाको प्रचारप्रसार बढेको निर्वाचन आयोगले नै जनाएको हो ।
आयोगले यस्ता ६१२ सूचना पहिचान गरेको छ । आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा ल्याएको सूचना सदाचार प्रवद्र्धन इकाइले हानिकारक सूचना पहिचान गर्छ । पहिचान भएका हानिकारक सूचनाउपर काराबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ । आयोगका अनुसार अधिकांश हानिकारक सूचना विद्युतीय कारोबारसम्बन्धीका छन् ।
५४५ सूचनामा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुन्छ । त्यसउपर कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ । त्यस्तै, निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । ७४ सूचनामा प्रेस काउन्सिल ऐन, २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको छ भने एउटा सूचनालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि विज्ञापन बोर्डमा पठाइएको आयोगले जनाएको छ ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले हानिकारक सूचनामाथि कारबाहीका लागि पठाएकामा निकायहरूले कारबाही पनि गरेको बताए । उनका अनुसार हालसम्म प्रहरीले १३२, केन्द्रीय आचारसंहिता अनुगमन समितिले ९० र प्रेस काउन्सिलले ३२ हानिकारक सूचना फैलाउनेमाथि कारबाही गरेका छन् ।
अधिकांश हानिकारक सूचना कृत्रिम बौद्धिकता (एआई)बाट निर्मित डिपफेक देखिएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले गरेको एक अध्ययनले निर्वाचनमा सम्प्रेषण गरिएका हानिकारक सूचनामध्ये ५४ प्रतिशत एआईनिर्मित डिपफेक फोटो र भिडियोबाट निर्मित डिपफेक चित्र तथा भिडियो रहेको देखाएको आयोगले जनाएको छ । ‘अहिले निर्वाचनको समयमा एआईसिर्जित डिपफेक सामग्रीको चुनौती देखिएको छ,’ आयोग प्रवक्ता भट्टराईले भने, ‘यद्यपि, यसलाई आयोगले ट्र्याक गरिरहेको छ,’ निर्वाचन आचारसंहिता उल्लंघन नगर्न उनले सबैलाई आग्रहसमेत गरे ।
त्यस्तै, आयोगले आचारसंहिता उल्लंघनमा नेपाली कम्युनिस्ट पार्टीको जाजरकोट १ का उम्मेदवार शक्तिबहादुर बस्नेत, रुपन्देही २ का जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) र श्रम संस्कृति पार्टीलाई जनही २५–२५ हजार जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै, रास्वपाका बाँके ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति नदिन सचेत गराउने र भक्तपुर २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठक (शोभा)लाई जेन–जी आन्दोलनमा रगतले लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न सचेत गराउँदै अबउप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरेको छ ।
अहिलेसम्म २५४ हानिकारक सूचना फैलाउनेमाथि कारबाही भएको छ : नारायणप्रसाद भट्टराई प्रवक्ता, निर्वाचन आयोग
अहिले निर्वाचनको समयमा एआईसिर्जित डिपफेक सामग्रीको चुनौती देखिएको छ । यद्यपि, यसलाई आयोगले ट्र्याक गरिरहेको छ । हालसम्म ६१२ हानिकारक सूचना ट्र्याक गरिएको छ । त्यसमध्ये ५४५ सूचनामा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुन्छ । त्यसउपर कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ । त्यस्तै, निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । ७४ सूचनामा प्रेस काउन्सिल ऐन, २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको छ भने एउटा सूचनालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि विज्ञापन बोर्डमा पठाइएको छ । हालसम्म प्रहरीले १३२, केन्द्रीय आचारसंहिता अनुगमन समितिले ९० र प्रेस काउन्सिलले ३२ हानिकारक सूचना फैलाउनेमाथि कारबाही गरेका छन् ।
स्रोत नयाँ पत्रिका दैनिक
प्रकाशित मिति २०८२ ११ १७