सूचनाको हक प्रयोगपछि शिक्षकको सरुवा बदर

By editor, 26 February, 2026

सूचना मांग गरेको २४ घण्टा नबित्दै शिक्षा बिकास तथा समन्वय इकाई सिरहाले कानून बिपरित गरेको शिक्षकको सरुवा बदर गर्न बाध्य भएको छ।
उत्कृष्ट अभियन्ता पुरस्कार बिजेता परशुराम साहको सहयोगमा सप्तरीको सप्तकोशी नगरपालिकाका बिपी कोइरालाले सरुवाका कानूनी आधार र सरुवाका लागि सरुवा कार्यविधि बमोजिम अनलाईन गरिएको देखिने प्रमाणको खोजी गरेपछि सुज माध्यमिक विद्यालय औरहीबाट रजै जनकल्याण माध्यमिक विद्यालय बल्ही सिरहामा सरुवा गरिएका माध्यमिक शिक्षक इन्द्रदेव यादवको सरुवा बदर गरि सोही ब्यहोराको सूचना उपलब्ध गराएका हुन ।

रजै जनकल्याण मावि बल्हीमा अंग्रेजी बिषयका शिक्षक हुदाहुदै सुज माध्यमिक विद्यालय औरहीका मावि अंग्रेजी शिक्षकलाई सरुवा कानून बिपरित इकाईले गरेका थिए । शिक्षकको सरुवाले एउटै विद्यालयमा माध्यमिक तहका अंग्रेजी शिक्षक दुइजना हुने र एउटा बिद्यालयमा अंग्रेजी पढाउने शिक्षकको रिक्तता भइ पठनपाठन नै अवरोध हुने अवस्था सृजना भएपछि कोइरालाले २०८२ बैशाख २ मा सूचना मांग गरेका थिए । सूचना मांग गरेको भोलीपल्ट इकाई प्रमुख दिपकराज कलौनीले सो सरुवा बदर गरिदिएका हुन ।

सूचनाको औजार प्रयोग गरेर कानून बिपरितका गतिविधि रोक्न सकिन्छ भन्ने कुरोको यो ज्वलन्त प्रमाण हो । यद्दपी शिक्षा बिकास तथा समन्वय इकाई,सिरहाले शिक्षकको खुल्ला एवम् बढुवा प्रयोजनका लागि पठाउनुपर्ने दर्जनौ दरवन्दी लुकाएर त्यस्ता दरवन्दीमा जिल्लान्तर सरुवाबाट पदपूर्ति गरेको थुप्रै उदाहरण छन ।

 

स्रोत : PTO खबर
मिति : २०८२ फागुन १३, बुधबार