सन्चार माध्यम र पत्रकारका लागि निर्वाचन आचार संहिता

By editor, 2 February, 2026

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि देश चुनावमा होमिइसकेको छ । यसलाइ निश्पक्ष, स्वतन्त्र र स्वच्छ बनाउन निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचार संहिता–२०८२’ मा पत्रकारहरुले ख्याल गर्नुपर्ने कुरा उल्छलेख छ । राजनीतिक दलले जस्तै आचार संहिता पत्रकाहरुले पनि पालना गर्नेपर्ने हुन्छ ।

सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता वा सूचीकरण भएका  आफूलाई ‘सञ्चार माध्यम’ भन्रे सबै डिजिटल माध्यम र अन्य सन्चार माध्यम सहित आम जनताको बीचमा पत्रकारका रुपमा प्रस्तुत हुने सबैले यो संहिता पालना गर्नै पर्छ।

तर, विधिवत् दर्ता भएर चलेका सञ्चार माध्यम, टीभी, पत्रपत्रिका, रेडियो, अनलाइन या युट्युब च्यानहरुले पनि चुनाबका बेला कुनै अमूक उम्मेद्वारको प्रचार प्रसार गर्ने र कसैको बदनामी गर्ने कार्य गर्न पाइँदैन । किनभने, निर्वाचनका बेलामा पत्रकारहरुले निर्वाचन आचारसंहिता– २०८२ को अक्षरशः पालना गर्नैपर्ने हुन्छ ।

पत्रकारले निर्वाचनका समय गर्न नहुने ११ काम:

आयोगले जारी गरेको निर्वाचन आचार संहिताको दफा २५ को (२) मा भनिएको छ, ‘आचारसंहिताको अधिनमा रही कुनै पनि सञ्चार संस्था वा सञ्चार गृहले आफ्नो संस्थामा कार्यरत पत्रकार, स्ट्रिन्जर, कु मेम्बर र कर्मचारीलाई निर्वाचन सम्बन्धी स्वःआचारसंहिता बनाई लागू गर्न सक्नेछन् ।’

त्यस्तै उपदफा (१०) मा मिडिया  र पत्रकारहरुले गर्न नहुने वा गर्नुपर्ने ११ वाट बुँदाहरु उल्लेख गरिएका छन् । जसमा भनिएको छ–सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले देहायका आचरण पालन गर्नु पर्नेछ –

१. कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने ।

२. कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने ।

३. जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्र बीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने ।

४. राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार प्रसारका लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने ।

५. दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाऊ दिनु पर्ने ।

तर, मतदान हुने दिनको अघिल्लो अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन ।

५. कसैको पक्ष वा विपक्षमा एस.एम.एस.. सामाजिक सञ्जाल, अनलाइन छापा जस्ता विद्युतीय माध्यममा आर्टिफिसियल इन्टिलिजेन्स (ए.आई.) को प्रयोग गरी वा नगरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नहुने ।

६. सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न नहुने ।

७. राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।

८. मतदान हुने दिनको अघिल्लो अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने ।

९. निर्वाचनका बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्वीर वा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने ।

१०. नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रशारण गर्न नहुने ।

११. कसैले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण (हेट स्पिच), जस्ता भ्रामक टीका टिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न नहुने र त्यस्तो टीकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केबल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनु पर्ने ।