मिथ्या सूचनाको परिवेशमा पत्रकारिता

By editor, 24 November, 2025

- उज्जवल आचार्य -

गत भदौ २४ गते बेलुकी सोसल मिडियामा पशुपतिनाथ मन्दिरमा आगो लगाउने प्रयास भइरहेको सामग्री प्रवाह भयो । टिकटकमा केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरको मूलद्वारको बन्द चेन–गेटमा चढ्ने प्रयास गरिरहेको भिडियोसहित सामग्री आयो । अघिल्लो दिन जेन–जी युवाहरूको आन्दोलनमा सरकार हिंस्रक भएपछि त्यो दिन देशैभर प्रदर्शन र आगजनी भएका थिए । त्यो सामग्री फैलिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए, सुरक्षा संयन्त्रहरू निष्प्रभावी थिए र सेनाले सुरक्षाको जिम्मा लिइसकेको थिएन ।

संसद् भवन र सिंहदरबारलगायत थुप्रै सरकारी र व्यापारिक संरचना जलेको तस्बिर र भिडियो हेरेर स्तब्ध बनेको बेला त्यो अप्रत्याशित सामग्री अत्याउने खालको थियो । त्यो सामग्री देख्ने धेरैले ‘पशुपतिनाथ बचाउनुपर्छ’ भन्ने आशयमा सामग्री पोस्ट गरे भने कतिपयले पशुपतिनाथ मन्दिर जले धार्मिक द्वन्द्व हुन सक्ने डर देखाए । टिकटकमै पशुपतिनाथ परिसरबाट एक जना प्रयोगकर्ताले ‘त्यहाँ भीड जम्मा नभएको’ भन्दै भिडियो हालेर सतर्क रहन आग्रह गरे ।

त्यो सामग्रीले पुर्‍याउन सक्ने सम्भावित हानि आकलन गरेर ‘नेपालफ्याक्टचेक डट ओआरजी’ ले तथ्य–जाँच प्रकाशन गर्‍यो, जसमा त्यो भिडियो केही महिनाअगाडि वत्सलेश्वरीको जात्राको भएको प्रमाण दिइएको थियो ।

यो उदाहरणले इन्टरनेट र सोसल मिडियाका कारण बदलिएको सूचना परिवेश, त्यसका कारण कसले सूचना प्रवाह र संकथन नियन्त्रण गर्छ भन्ने विषयमा ल्याएको परिवर्तनका साथै डिजिटल सूचना परिवेशमा मिथ्या सूचनाले ल्याउन सक्ने खतरा र त्यो खतरालाई निराकरण गर्न त्यही परिवेशको उपयोगिता झल्काउँछ । यो आलेखमा यिनै विषयवस्तुहरूमाथि विश्लेषण गर्दै डिजिटल सूचना परिवेशलाई उच्चतम उपयोग गर्न राज्य, मिडिया, नागरिक समाज र नागरिकले खेल्नुपर्ने भूमिकाहरूबारे विचार प्रस्तुत गरिएको छ ।

बदलिएको सूचना परिवेश

जेन–जी आन्दोलनले देखाएको एउटा महत्त्वपूर्ण पाटो हो– बदलिएको सूचना परिवेश । जेन–जी आन्दोलनका सम्बन्धमा छलफल र सन्देश–प्रवाह धेरैजसो सोसल मिडिया प्लेटफर्महरूमा भइरहेका थिए । विभिन्न खाले सोसल मिडिया प्लेटफर्म फरक हिसाबले प्रयोग भएका थिए । युवाहरूका लागि सञ्चार, ज्ञान, स्वरोजगारी र उद्यमशीलतामा प्रयोग भइरहेका सोसल मिडिया प्रतिबन्धबारे बोल्न उनीहरूले रेडिट रोजे, त्यहाँ पोस्ट भएका सामग्रीबाट उनीहरूले भ्रष्टाचार, सरकारी कार्यालयका सास्ती र आफूले प्राप्त गरेको शिक्षाका कमजोर गुणस्तरको अनुभव व्यक्तिगत नभई साझा समस्या भएको थाहा पाए र केही गर्नुपर्छ भन्ने निष्कर्षलाई स्वरूप दिन डिस्कर्ड रोजे ।

त्यहाँबाट निर्धारण भएका कार्यक्रमको प्रचार र आमसमर्थनका लागि मात्रै हामीले धेरै प्रयोग गर्ने फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब र टिकटक रोजे । भदौ २३ को प्रदर्शनमा राज्य, परम्परागत मिडिया र अरू धेरैले अपेक्षा गरेभन्दा ठूलो संख्यामा युवाहरू सहभागी हुनुले के देखायो भने हाम्रा सूचना संयन्त्रहरूले बदलिएको सूचना परिवेशलाई बुझ्न सकेनन् । नागरिकलाई सूचना प्रवाह गर्ने प्रमुख माध्यम भनिएका रेडियो, टेलिभिजन र पत्रपत्रिकाले आफू सूचनाको नयाँ परिवेशमा हराएको महसुस भयो ।

नयाँ सूचना परिवेश विशेषगरी डिजिटल–नेटिभ भनिने इन्टरनेट पुस्ताको सूचना परिवेशमा शक्तिशाली अंश परम्परागत मिडिया होइनन्, न त कुनै एक सोसल मिडिया प्लेटफर्म वा त्यसमा आधारित कुनै नाम विशेष अकाउन्ट वा समूह हुन् । इन्टरनेट र सोसल मिडियाले सूचना परिवेशमा गनिसाध्य नहुने गरी ससाना स्रोतहरू जन्माएका छन् र ती सूचनाका स्रोतहरू पनि समय, विषय र परिस्थितिले परिवर्तन भइरहन्छन् । केही चर्चित समूह वा पेजहरू भने समय र परिस्थितिअनुसार आफ्नो सामग्रीमा परिवर्तन गरिरहेर सान्दर्भिक भइरहने प्रयास गर्छन् ।

समकालीन सूचना परिवेशमा असीमित खेलाडीहरू छन् र सूचना प्रवाह सीमित व्यक्ति वा समूहको हातमा छैन । परम्परागत मिडिया रेडियो, टेलिभिजन, पत्रपत्रिका शक्तिशाली हुने केही दशकअगाडिको समयमा मिडिया मालिक, प्रभावशाली पत्रकारहरू, ती मालिक र पत्रकारलाई कुनै तरिकाले प्रभाव पार्न सक्ने सीमित समूहको हातमा सूचना नियन्त्रण हुने अवस्था हुन्थ्यो, जसलाई आलोचना गर्दै जर्मन पत्रकार पल सेथले ‘प्रेस स्वतन्त्रता २०० धनी मानिसहरूका लागि आफ्नो विचार फैलाउने स्वतन्त्रता’ भनेका थिए । समाजमा प्रभावशाली सीमित व्यक्तिले सूचना प्रवाहमा नियन्त्रण राख्दै राजनीतिक र सामाजिक संकथनहरू निर्माण गर्ने शक्ति अहिलेको सूचना परिवेशमा कमजोर हुँदै गएको छ ।

कसले गर्छ संकथन निर्माण ?

जेन–जी आन्दोलनपछि नेपाली समाजमा चर्चामा रहेका धेरैमध्ये एउटा संकथन ‘यो आन्दोलन विदेशी विशेषगरी अमेरिकीहरूको योजनामा भएको’ भन्ने हो । आन्दोलनका वैधानिक मागहरू र सत्तामा रहँदा आफ्नो अकर्मण्यता छोप्न मात्रै होइन, राजनीतिक या सामाजिक अजेन्डा बोकेका अतिवादी विचारधारामा व्यक्तिहरूले यो संकथनलाई मलजल गरिरहेका छन् । यसको निसानामा गैरसरकारी संस्थाहरू छन्, जसले नेपाली नागरिकको नेतृत्व विकास, लोकतन्त्रको सुदृढीकरण र चेतनास्तर वृद्धिमा विदेशी दाताको सहयोगमा काम गरेका छन् ।

सबै गैरसरकारी संस्थाका सबै कामलाई बचाउ गर्न सकिन्न, तर कम्तीमा एउटा तथ्य के हो भने विदेशी सहयोग प्राप्तिका लागि प्रत्येक कार्यक्रमको स्वीकृति नेपाल सरकारको समाज कल्याण परिषद्बाट लिनुपर्छ र परिषद्ले स्वीकृत परियोजनाअनुसार काम भए/नभएको अनुगमन गर्छ । यसको अर्थ ती कार्यक्रमहरू लुकेर/छिपेर गरिएका होइनन् र भएका छन् भने हामीले हाम्रो राज्यको पनि कमजोरी भएको मान्नुपर्छ । सूचनाको चलखेलको प्रतिरोध गर्ने पुस्तकबारे छलफल गरिएको कार्यक्रमको तस्बिर हालेर सूचना चलखेलका लागि ‘फलानो संस्थालाई पैसा दिइएको प्रमाण’ भन्ने खालका सामग्रीबाट अहिले समाजका केही संकथन निर्माण भइरहेका छन् ।

केही वर्ष अगाडिसम्म परम्परागत मिडियाले समाजका राजनीतिक र सामाजिक संकथनहरूको निर्माणमा प्रभावशाली भूमिका खेल्थ्यो तर अहिले त्यो जग कमजोर भएको छ । अहिले संकथन निर्माण सोसल मिडियामा भइरहेका छन् र त्यसमा

इन्फ्युएन्सर भनिने धेरै जनासम्म पुग्न सक्ने व्यक्तिहरू शीर्षस्थानमा छन् । यो परिवर्तनको समस्या के हो भने धेरै इन्फ्युएन्सरहरू सामाजिक उत्तरदायित्वको घेरामा पसिसकेका छैनन् र उनीहरू को हुन्, कुन उद्देश्यका लागि संकथन निर्माण गरिरहेका छन् भन्ने विषय स्पष्ट भइसकेको छैन । त्यसैले अहिलेको अवस्थामा मिडियाले गरेको खोजमूलक समाचारका जानकारीलाई नेपालको सन्दर्भबाट टाढा विदेशमा रहेका इन्फ्युएन्सरले गुगलमा खोज्दा थप भेटिएका नतिजालाई प्रमाण भन्दै चर्को स्वर र कडा शब्दावलीको प्रयोग गरी भ्रामक सामग्री बनाएर नेपाली समाजको संकथन निर्माण गरिरहेका छन् ।

इन्फ्युएन्सरहरूको दुःख सोसल मिडियाका अल्गोरिदम हुन्, जसले नियमित चर्चित सामग्री माग गर्छ र त्यसका लागि उनीहरूलाई निरन्तर विवादास्पद विषय, चर्को बोल्ने पात्र र अतिवादी अभिव्यक्ति आवश्यक पर्छ । राजनीतिकर्मीहरू पनि यही फोहोरमा खेल्न रुचाएको देखिन्छ । त्यसैले राजनीतिक वक्तव्यबाजीमा उनीहरूले आलोचनात्मक चेत भएका, जाने/बुझेका पत्रकारभन्दा सामग्री खोज्ने कन्टेन्ट क्रियटर वा युट्युबप्रति रुचि देखाउन थालेका छन् । यसले गर्दा उनीहरूले फैलाउन चाहेका पक्षधर सामग्री, जुन धेरैजसो अवस्थामा मिथ्या वा भ्रामक हुन्छन्, समाजमा फैलिरहेका छन् ।

मिथ्या सूचना र संकथनको खतरा

मिथ्या सूचना सामान्य रूपमा गलत वा भ्रामक सामग्री हो । अज्ञानमा फैलाइएका होस् या कुनै उद्देश्यप्राप्तिका लागि जानीजानी फैलाइएका, सबैखाले भ्रम सिर्जना गर्ने असत्य वा अर्धसत्य वा गलत सन्दर्भ वा अप्रमाणित विषय नै मिथ्या सूचना हो । महाभारतकालीन ‘अश्वत्थामा हतोःहत’ ले मिथ्या सूचनाको जग पौराणिक हो भन्ने देखाउँछ भने राजनीतिमा यसको प्रयोग नयाँ होइन । नेपालमै पनि विसं २०५७ मै मिथ्या सूचनाका कारण चारजनाको ज्यान जाने गरी भएको ‘ऋतिक रोशन काण्ड’ इन्टरनेट फैलिनु अगाडिको घटना थियो ।

इन्टरनेट र सोसल मिडियाको आगमनपछि भने मिथ्या सूचना ह्वात्तै बढ्न थाल्यो । पहिले मिथ्या सूचना निश्चित भौगोलिक सीमाबाट बाहिर फैलिन समय लाग्थ्यो र केही समयमा विस्मृत हुन्थ्यो भने इन्टरनेटका कारण ती ज्यादै छिटो फैलिनुका साथै स्थायी हुन थाले । साक्षरता दर कम भएको अल्पविकसित देशहरू मात्रै होइन, अमेरिकी र युरोपजस्ता साक्षरता दर उच्च भएका विकसित मुलुकहरूमा पनि मिथ्या सूचनाले नागरिकहरूलाई प्रभावित पारेको घटना भए ।

सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु र सन् २०१७ मा बेलायतले युरोपेली संघबाट छुट्टिने जनमत संग्रहको नतिजालाई मिथ्या सूचनाको दाबी गर्ने अनुसन्धानहरू प्रकाशित छन् । कोभिड महामारीका समयमा समेत यसको खोप लगाउन अस्वीकार गर्ने ठूलो जनसंख्यालाई मिथ्या सूचनाले प्रभावित पारेको दाबी गरिन्छ । यी विभिन्न घटनाहरूले मिथ्या सूचनाले व्यक्तिको दैनिक जीवन, जनस्वास्थ्य र राजनीतिक निर्णयमा प्रभाव पार्ने देखाउँछ र त्यसको हिंसात्मक नतिजा हुन सक्ने पनि देखाउँछ ।

नागरिकहरूलाई भड्काउन र आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि विशेषगरी अतिवादी, अलोकतान्त्रिक र लोकप्रियतावादीहरूले अत्यधिक प्रयोग गर्न थालेपछि मिथ्या सूचनालाई लोकतन्त्रको सबैभन्दा ठूलो खतरामध्ये एक मान्न थालिएको छ । लोकतन्त्रको जग नागरिकले गर्ने स्वविवेकी निर्णयमा आधारित हुने र नागरिकको स्वविवेकको आधार उनीहरूले प्राप्त गर्ने सूचनामा भर पर्ने हुँदा मिथ्या सूचनाले लोकतन्त्रलाई आधारभूत रूपमै कमजोर बनाउँछ ।

मिथ्या सूचनाको प्रभावका विषयमा छलफल र अध्ययन गर्न देशका विभिन्न भागमा पुग्दा जोखिमको परिदृश्य देखिन्छ । हुन त हामीले यसअघिका दुई निर्वाचनका समयमा गरिएको निगरानीबाट नेपालमा मिथ्या सूचनाको मात्रा अत्यधिक बढिरहेको भए पनि चुनावको नतिजै परिवर्तन गर्न खालको प्रभाव नपारेको निष्कर्ष निकालेका थियौं । पछिल्लो निर्वाचनका क्रममा धेरै मात्रामा दल तथा उम्मेदवारहरूले आफ्नो राम्रो प्रचारका लागि मिथ्या सूचना प्रयोग गरेको र कमै मात्र अवस्थामा प्रतिस्पर्धी दल वा उम्मेदवारका विषयमा नकारात्मक विषय फैलाउन यसको प्रयोग गरिएको पाएका थियौं । यद्यपि निर्वाचनमा उम्मेदवारै बन्न नदिन वा आफ्नो पार्टीभित्र प्रतिस्पर्धीलाई कमजोर बनाउन मिथ्या सूचनाको प्रयोग भने भएको थियो । पछिल्लो निर्वाचनपछि भने मिथ्या सूचनाको प्रवृत्तिमा केही जोखिमपूर्ण परिवर्तन देखिएका छन्, जसले यसको निगरानी र अध्ययन गरिरहेका हामीलाई चिन्तित बनाएको छ ।

ती प्रवृत्तिहरू मिथ्या सामग्री निर्माणमा आर्टिफिसियल इन्टिलिजेन्सको बढ्दो प्रयोग, आफ्नो राम्रो भन्ने सामग्रीभन्दा अरूलाई नराम्रो भन्ने सामग्रीहरूमा वृद्धि, घृणायुक्त विषय फैलाउन मिथ्या सूचनाका प्रयोग एवं नागरिक वा समाजको आलोचनात्मक चेतलाई मार्न मिडिया, नागरिक समाज वा बुद्धिजीवीका स्वतन्त्र विचारविरुद्ध निर्माण गरिएका मिथ्या संकथनहरू हुन् । एआईको प्रयोगले मिथ्या सामग्रीलाई चिन्न एकदमै गाह्रो बनाउँछ भने नकारात्मक सामग्रीले समाजमा ध्रुवीकरण र विवाद बढाउँछ । तर, यस्ता सामग्रीप्रति केही अतिवादी व्यक्तिहरूको मोहले नेपाली समाजलाई अशान्तितर्फ धकेल्दै छ ।

अहिले व्यक्ति–व्यक्तिले इन्टरनेटको उपभोग गरेर विचार फैलाइरहेका छन् । पुराना अवस्थामा टेलिभिजन कार्यक्रमजस्ता देखिने भिडियोहरू यति धेरै उत्पादन हुन थालेका छन् कि ती सबैको लेखाजोखा राख्नु असम्भवजस्तै भएका छन् । त्यस्ता भिडियोका लामा सामग्री हेर्ने फुर्सद त कसैलाई छैन । तर, तिनका छोटा विवादास्पद क्लिपहरू भाइरल हुन्छन्, जुन धेरैजसो अवस्थामा सन्दर्भविहीन हुन्छन् ।

गालीगलौज, आलोचना, राजनीतिक अतिवादी अभिव्यक्ति, षड्यन्त्रका दाबी, अप्रमाणित भावनात्मक विषय र बेतुकका दाबी भाइरल हुन्छन् भनेर त्यसै भनाइको खोजी गर्ने प्रश्नकर्ता र बोलेको कुराप्रति उत्तरदायी हुनु नपर्ने भएपछि जे पनि बोलिदिने उत्तरदाताबीचको संवादले जग गाड्दा तार्किक र अनुभवी विचारहरू किनार लागेका छन् । तार्किक कुराहरू नचल्ने आइटम बनेका मात्रै होइनन्, त्यस्ता विचारहरूमाथि हुने आक्रमणले स्वतन्त्र रूपमा बोल्न डराउनुपर्ने अवस्था छ । मिडिया र गैरसरकारी संस्थामाथि भइरहेको आक्रमणले त्यही देखाउँछ । लोकतन्त्रका लागि अत्यावश्यक शक्तिमा रहेकाको आलोचना र उत्तरदायित्व खोज्ने काम त असम्भव हुने हो कि जस्तो वातावरण निर्माण भएको छ ।

मिथ्या सूचना न्यूनीकरणका उपाय

मिथ्या सूचनाको यो जगजगी र यसले विकृत बनाउन थालेको समाजलाई के कुराले जोगाउँछ ? यो प्रश्नको जवाफ सहज छैन । यसले समाजको सबै क्षेत्र जेल्ने हुँदा जादुको छडीजस्तो समाधान पनि छैन । नेपालजस्तो कमजोर लोकतन्त्र, विविधता, कम साक्षरता र मिडियाको बलियो उपस्थिति नभएको देशमा त यसको समाधान झनै गाह्रो देखिन्छ । नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतालाई पूर्ण आत्मसात् नगरेको एवं ठूला सामाजिक र राजनीतिक मुद्दामाथि संसद्मा समेत गम्भीर छलफल नहुने कमजोर लोकतन्त्र र राज्य प्रणालीको अर्थ राज्यले यसलाई न्यूनीकरण गर्न बलियो नीति निर्माण गर्न सक्दैन ।

विगतमा सोसल मिडिया नियमन गर्ने भनिएका विधेयक र मिथ्या सूचना रोक्न सोसल मिडिया ‘बन्दै गर्नुपर्छ’ भन्ने निर्णयहरू यसका उदाहरण हुन् । यद्यपि राज्यका नीति मिथ्या सूचना न्यूनीकरणका लागि महत्त्वपूर्ण छन् भन्नेमा दुईमत छैन । तर, यसका लागि सूचना प्रवाहकर्तालाई जिम्मेवार र उत्तरदायी बनाउनु उनीहरूले प्रयोग गर्ने प्लेटफर्मलाई नियमन गर्नुभन्दा बढी महत्त्वपूर्ण छन् ।

नागरिकले मिथ्या सूचनाबारे जति छिटो बुझे, त्यति उनीहरू सचेत हुन्छन् । यसका लागि सूचना साक्षरता बढाउन आवश्यक छ । म आबद्ध ‘सीएमआर नेपाल’ ले युवाहरूमाझ मिडिया र सूचना साक्षरता बढाउने सानो अभियान चलाइराख्दा मिथ्या सूचनाबारे साक्षरता असाध्यै कम रहेको र सानो प्रयासले पनि नागरिकहरूमा प्राप्त सूचनामाथि प्रश्न गर्ने आधारभूत चेतना विकास गर्न सकिने अनुभव छ । मिथ्या सूचनाविरुद्ध बिस्तारै नागरिकमा चेतना वृद्धि त हुँदै जान्छ, त्यो वृद्धिलाई तीव्रता दिन राज्य र नागरिक समाजले ठूलो स्तरमा मिडिया र सूचना साक्षरता अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ ।

तथ्य–जाँचजस्ता प्रतिक्रियात्मक कार्यहरू महत्त्वपूर्ण छ, तर नेपालमा यसलाई बेवास्ता गरिएको छ । छिमेकी देश भारतमा सयौं तथ्य–जाँच कार्यक्रमहरू छन्, तर नेपालमा एक–दुई वटा साना प्रयासहरू मात्रै । तथ्य–जाँचका लागि ठूलो लगानी र विज्ञता आवश्यक पर्छ, जसका लागि ‘नेपालफ्याक्टचेक डट ओआरजी’ को परियोजना प्रमुख भएर कार्य गरिरहँदा मैले यसलाई निरन्तरता दिन ज्यादै कठिनाइ भोगेको छु ।

सही सूचना नै मिथ्या सूचनाको अचुक उपचार हो । त्यसैले मिथ्या सूचनाविरुद्ध लड्न हामीसँग उपलब्ध सबैभन्दा बलियो हतियारचाहिँ पत्रकारिता हो । पत्रकारिताले मिडियारूपी प्रभावशाली सूचना सञ्जाल निर्माण गरेको छ । त्यो सूचना सञ्जाललाई उपभोग गरेर पत्रकारिताले आफूलाई स्वतन्त्रताको नैतिक धरातलमा उभ्याउने हो भने मिथ्या सूचना प्रभाव कमजोर हुन्छ । तर, अहिले पत्रकारिता र मिडियालाई कमजोर बनाउने कार्य आन्तरिक र बाह्य दुवै स्तरमा भइरहेका छन् । पत्रकारिता र मिडियालाई कमजोर बनाउन यसलाई दलीयकरण गरिएका छन्, मुखपत्र बनाउन खोजिएका छन्, समाचारलाई मिथ्या भनिन थालेका छन् र सत्ताको स्थायी प्रतिपक्ष मानिने मिडियालाई पक्षधर भएको आरोप लगाउन थालेका छन् ।

त्यसलाई मलजल गर्ने कार्य चाहिँ पत्रकार र मिडिया आफैंले आफूलाई स्वतन्त्र र निष्पक्ष प्रमाणित गर्ने सामग्री नदिएर गरेका छन् । भ्रष्टाचारका राम्रा खोजमूलक समाचारमा पनि आरोपितलाई आफ्नो कुरा राख्ने यथोचित स्थान नदिँदा ती कमजोर बनेका छन् भने धेरै पत्रकारले सोसल मिडियामा अनावश्यक रूपमा राजनीतिक वा विषयगत पक्षधर देखाउँदा आफूलाई निष्पक्ष देखाउन सकेका छैनन् । सम्पादकका विचार व्यक्तिगत हुँदैनन्, तिनले उनीहरूले नेतृत्व गर्ने मिडियाको विचार प्रतिनिधित्व गर्छन् भन्ने हेक्का नराख्दा कतिपय अवस्थामा पत्रकारिता कमजोर बन्दै गइरहेको छ । पत्रकारिता कमजोर बन्दा आफ्नो पेसा मात्रै होइन, समग्र समाज र देशलाई नकारात्मक असर पार्छ भन्ने सचेतना हामीभित्रै आवश्यक देखिन्छ ।

पत्रकारिताको प्रमुख भूमिका

म ‘मिथ्या समाचार’ भन्ने शब्दावली सकेसम्म प्रयोग गर्दिनँ किनभने पत्रकारिताको अध्ययन र अभ्यासबाट ‘समाचार भए मिथ्या हुँदैन, मिथ्या भए समाचार हुँदैन’ भन्ने विश्वास गर्छु । ‘मिथ्या समाचार’ भन्ने शब्दावली पत्रकारिता र मिडियालाई अवमूल्यन गर्न र कमजोर बनाउन मन्द तर कडा विषका रूपमा प्रयोग भइरहेको छ । अहिलेको सूचना परिदृश्य, मिथ्या सूचना र संकथनको जगजगी एवं हाम्रो कमजोर अवस्थाका कारण हामी मिथ्या सूचनाको विनाशकारी असरको जोखिममा छौं ।

मिथ्या सूचनाले नेपालको विविधतामा एकता र शान्तिपूर्ण समाजको जगलाई हल्लाउन सक्ने केही साना घटनाहरू देखिसकिएका छन् । यो अवस्थामा मिथ्या सूचनाको प्रतिकारका लागि राज्य, समाज र नागरिकले एकीकृत शक्ति लगाउनुपर्ने हुन्छ । सबै सरोकारवालाको भूमिका उत्तिकै आवश्यक भए पनि प्रतिरक्षाका लागि उपलब्ध सबैभन्दा शक्तिशाली हतियार पत्रकारिता नै हो । तर, पत्रकारितालाई धारिलो बनाउन सबैको साथ–सहयोग आवश्यक छ ।

पत्रकारिता र मिडिया बलियो बनाउन राज्यको योगदान आवश्यक छ । विशेषगरी अहिलेको विषम आर्थिक परिवेशमा मिडिया बचाउन राज्यको मिडियामैत्री नीति आवश्यक छ । उदाहरणका लागि सोसल मिडियाले विज्ञापन बजारमा हिस्सा लिँदै गएको अवस्थामा स्थानीय मिडिया र सोसल मिडियामा विज्ञापनको अनुपात तोक्ने नीति हाम्रो राष्ट्रिय स्वार्थका लागि आवश्यक छ ।

अमेरिका जस्तो देशका कतिपय राज्यमा स्थानीय पत्रकारिता बचाउन यसलाई राज्यस्तरमै आर्थिकलगायतका सहयोग दिनुपर्ने आवश्यकता बोध गरी कानुनका खाकाहरूमा चर्चा भइरहेको अवस्थामा नेपाली मिडियालाई राज्यले सहयोग गर्नुपर्छ भन्ने सोच विकास गर्नैपर्छ । पत्रकारहरूको दक्षता अभिवृद्धि वा मिडिया अवस्था र सामग्रीका अध्ययन–अनुसन्धानले पनि मिडियालाई सहयोग गर्छ । इन्टरनेट प्लेटफर्ममा आधारित सूचना प्रवाहका माध्यमहरूलाई मिडिया वर्गीकरण गरी आचारसंहिता र पत्रकारिताका आधारभूत सिद्धान्त अभिमुखीकरण गर्दा पनि सूचना परिदृश्यमा सुधार आउँछ । यी सबैका लागि राज्यको मिडियामैत्री नीति र लगानी आवश्यक पर्छ ।

मिडिया र पत्रकार आफैंचाहिँ स्वतन्त्र र निष्पक्ष हुनु र देखिनु आवश्यक छ । यसका लागि पत्रकारिताका आधारभूत सिद्धान्त पालना गरिदिए पुग्छ । हिजोका दिनमा पनि गम्भीर पत्रकारिता (ब्रोडसिट पत्रिका) भन्दा चटपटे पत्रकारिता (ट्याब्लोइड पत्रिका) बढी चलेकै हुन् । त्यसैले भाइरल हुन्छ भनेर पत्रकारिता चटपटे सामग्री र भ्युज संख्याले निर्देशित हुनु सही बाटो होइन । जेन–जी आन्दोलनको आसपासमा नेपाली पत्रकारिता आम जनसमुदाय र विशेषगरी युवा समुदायबाट विषयवस्तु र सोचका हिसाबले टाढा हुँदै गएको देखिएको थियो । आन्दोलनको सेरोफेरोमा मिडियाको अलमल र प्राथमिकताले त्यही देखाउँछ र आन्दोलनपछि जेन–जी पुस्ताको विचारलाई स्थान दिने प्रयास गरिए पनि त्यो यथेष्ट नभएको र केही सामग्रीबाहेक अन्यमा त्यो प्रतिबिम्बित नभएको देखिन्छ ।

बदलिएको परिस्थिति, डिजिटल प्लेटफर्महरूको सर्वव्यापकता र प्रभाव, अनि त्यो परिदृश्यमा आवश्यक पत्रकारिता भइरहेको छैन । मिथ्या सूचनाकै विषयमा कुरा गर्दा पनि यसले पत्रकारिता र मिडियालाई जति क्षति पुर्‍याएको छ, त्यसको अनुपातमा यस विषयमा सामग्री नगण्य छ । र, पत्रकारिताले मिथ्या सूचनाविरुद्ध प्रतिकारमा लिनुपर्ने नेतृत्वदायी भूमिका लिन सकेको छैन । नेपाली समाजलाई मिथ्या सूचनाको प्रकोपबाट बचाउन र हाम्रो लोकतन्त्रका मूल्यमान्यताको रक्षाका लागि पत्रकारिताको भूमिका प्रमुख छ । तर, त्यसका लागि नेपाली पत्रकारिता र मिडियाले आफ्नो आत्मसमीक्षा गर्दै सक्रिय रूपमा आफूलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख गर्न सोच, सिद्धान्त, अभ्यासका साथसाथै बजारीकरण र क्षमतामा लगानी गर्नुपर्छ ।

 

स्रोत : कान्तिपुर दैनिक 
प्रकाशित मिति : २०८२/ ८ /८