सूचना मागेपछि स्थानीय तहले सुरु गर्‍यो स्वतः प्रकाशन

By editor, 30 April, 2024

सिराहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाइट मार्फत स्वतः प्रकाशन सार्वजनिक गरेको छ ।  सूचनाका अभियन्ता परशुराम साहले स्वतः प्रकाशनसँग सम्बन्धित सूचना माग गरेपछि पालिकाले वेबसाइट मार्फत २०८० माघ, फागुन र चैत्र महिनाको स्वतः प्रकाशन सार्वजनिक गरेका हुन् ।

सूचना अधिकारी तोक्न सूचना माग अभियान नै  सञ्चालन गरेका साहले सूचना अधिकारी तोक्ने  र तोकिएका  सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्न लगाउने अभियानमा  सफलता  प्राप्त भएपछि, अभियन्ता साहले  केही दिन यता  स्वतः प्रकाशन गराउन  सार्वजनिक निकायमा दबाब सृजना गरेका हुन । स्वतः प्रकाशनसँग सम्बन्धित सूचना माग गर्न थालेपछि मधेस प्रदेशका सार्वजनिक निकाय स्वतः प्रकाशन गर्न बाध्य भएका हुन् ।

यस अघि सिराहाको विष्णुपुर गाउँपालिकाले स्वतः प्रकाशन वेबसाइट मार्फत सार्वजनिक गरेको थियो । सिराहाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र कार्यालय, प्रादेशिक अस्पताल, भूमिगत जल सिँचाइ डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र वन कार्यालय लगायतका कार्यालयले स्वतः प्रकाशन सार्वजनिक गरेका हुन् । 

नागरिकले सूचना माग नगरे पनि सार्वजनिक निकायले प्रत्येक ३/३ महिनामा नागरिकको जानकारीको लागी स्वतः सूचना सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । सूचनाको हक सम्बन्धी ऐन,२०६४ र नियमावली २०६५ बमोजिम २० वटा शीर्षकमा आफ्नो निकायसँग सम्बन्धित विवरण ३ महिना पूरा भएको १५ दिन भित्र सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
 

स्रोत : असल शासन अनलाइन (१८ बैशाख २०८१)