'प्रधानमन्त्री टीम'को अस्वाभाविक सुविधाबारे लोकान्तरलाई सूचना दिने अधिकारीमाथि कारबाही !

By editor, 15 December, 2023

रामचन्द्र भण्डारी र अजय अनुरागी

गफ सुशासनको, व्यवहार निरंकुश

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ ।

करिब ५ वर्षदेखि प्रधानमन्त्री कार्यालयमा रहेर झन्डै ३ वर्षदेखि सूचना अधिकारीको भूमिकामा कार्यरत उपसचिव फुयाँललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहने गरी सरुवा गरिएको हो ।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐनको दफा ३ र ७ अनुसार मागिएको सूचनाका आधारमा लोकान्तर डट्कमले यही मंसिर १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का सल्लाहकार तथा सचिवालय सदस्यहरूको नियुक्ति र तलब भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

सोही समाचार आएको १० दिन बित्न नपाउँदै फुयाँललाई कुनै नयाँ जिम्मेवारी समेत नतोकी जगेडामा सरुवा गरिएको हो । प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटबाट समेत उनको तस्वीर र विवरण हटाइसकिएको छ ।

फुयाँलको सरुवा भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग पुष्टि गरे ।

'सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरुवा गरिएको छ, तर उहाँले रमाना बुझ्न बाँकी रहेको मैले पाएको छु । आज शुक्रवार भयो, सम्भवत: आइतवार वा सोमवारसम्ममा रमाना बुझेर सरुवा भएको ठाउँमा जानुहोला,' ती अधिकारीले लोकान्तरसँग भने ।

उनका अनुसार सरुवाको जानकारी गराइएपछि फुयाँल प्रधानमन्त्री कार्यालयमा हाजिर भएकी छैनन् । '२८ गते नै उहाँलाई सरुवाको पत्र थमाउने कुरा थियो, पत्र बुझ्नुभएको छ कि छैन भन्नेचाहिँ मलाई जानकारी भएन,' उनले थपे ।  

यस विषयमा बुझ्न फोन गर्दा उपसचिव फुयाँलले कुनै प्रतिक्रिया दिन चाहिनन् ।

प्रधानमन्त्री कार्यालयबाटै संविधान तथा कानूनको धज्जी!

संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ । उक्त धारामा भनिएको छ–

'प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने  पाउने हक हुनेछ  तर,कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन '

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले संविधानको धारा २७ कार्यान्वयनका लागि अझै प्रस्ट व्यवस्था गरेको छ । प्रत्येक नागरिकलाई सूचनाको हक हुने र सार्वजनिक निकायमा रहेको हरेक सूचनामा उसको पहुँच रहने उक्त दफामा उल्लेख छ । साथै, कानूनबमोजिम गोप्य राख्नुपर्ने विषयहरूलाई पनि ५ वटा बुँदामा स्पष्टसँग उल्लेख गरिएको छ ।

लोकान्तरलाई उपलब्ध गराइएको र सार्वजनिक भएको कुनै पनि सूचना कानूनले निषेध गरेका ५ वटा बुँदासँग सम्बन्धित देखिँदैन ।

सरकारी कोषबाट सेवा सुविधा पाउने पदाधिकारी तथा कर्मचारीको नियुक्ति तथा तलब भत्तासम्बन्धी विषय सार्वजनिक सरोकारअन्तर्गत पर्छ ।

'सार्वजनिक पद धारण गरेका व्यक्तिको 'स्यालरी सीट' नै पनि व्यक्तिगत गोपनीयता वा गोप्य राख्नुपर्ने विषय होइन, ती व्यक्तिको बैंक खातामा कति पैसा छ भनेर स्टेटमेन्ट दिएको वा छापेको भए अलग कुरा हुन्थ्यो, कति तलब भत्ता गइरहेको छ भनेर 'पोरोल सीट' उपलब्ध गराउनु वा छाप्नु दुवै कानूनले प्रत्याभूत गरेका अधिकार हुन्,' नेपाल सरकारका एक अवकाश प्राप्त पूर्व सचिवले लोकान्तरसँग भने ।

सूचनाको हकसम्बन्धी ऐनको दफा ७ मा सूचना माग्ने र उपलब्ध गराउने प्रक्रियासहितको स्पष्ट व्यवस्था छ । कानूनबमोजिम मागिएको सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कर्तव्य हो ।

यसरी सूचना उपलब्ध गराउने अधिकारीलाई पदमुक्त गर्न वा कुनै किसिमको हानी-नोक्सानी पुर्‍याउन नमिल्ने सोही ऐनको दफा २९ मा उल्लेख छ ।

उपदफा (१) मा सूचना उपलब्ध गराउनु सम्बन्धित कर्मचारीको दायित्व हुने उल्लेख छ । उपदफा (३) र (४) ले सूचना उपलब्ध गराएबापत कुनै पनि कारबाही गर्न वा हानी नोक्सानी पुर्‍याउन नपाइने र कानूनी उपचार खोज्न सकिने अधिकार ग्यारेन्टी गरेको छ ।

'उपदफा (१) बमोजिम सूचना दिएको कारणले त्यस्तो सूचनादातालाई पदमुक्त गर्न वा कुनै किसिमको कानूनी दायित्व बहन गराउने गरी सजाय गर्न वा हानी नोक्सानी पुर्‍याउन पाइने छैन, ऐनमा भनिएको छ, 'उपदफा ३ विपरीत हुने गरी सूचनादातालाई सजाय गरेमा वा हानी नोक्सानी पुर्‍याएमा सूचनादाताले सो निर्णय बदर गराउन क्षतिपूर्तिको मागसहितको आयोगमा उजुरी गर्न सक्नेछ,' उपदफा (३) र (४) मा भनिएको छ ।

यस्तो उजुरी परेमा सूचना आयोगले कारबाही वा जिम्मेवारी हेरफेरको निर्णय बदर गरी क्षतिपूर्तिसमेत भराउन सक्ने उपदफा (५) मा उल्लेख छ 

विज्ञ भन्छन्– 'दुर्भाग्यपूर्ण कदम'

सूचनाको हकसम्बन्धी अभियानका अभियन्ता तारानाथ दाहालले यसलाई ‘दुर्भाग्यपूर्ण निर्णय’ का रूपमा टिप्पणी गरे ।

‘यदि सूचनाको हक प्रचलन गरेकै कारण सूचना अधिकारीलाई कारबाही गरिएको हो भने यो ज्यादै दुर्भाग्यपूर्ण र गैरकानूनी निर्णय हो । यसले सरकार सूचनाको हक प्रचलनमा कतिसम्म पूर्वाग्रहयुक्त छ भन्ने पुष्टि गर्छ,’ दाहालले लोकान्तरसँग भने ।

उनले थपे, ‘यो कदमले सूचनाको हक प्रचलन गर्न चाहने कर्मचारीहरूलाई हतोत्साही बनाउँछ । साथै, प्रधानमन्त्रीले लगाउँदै आएको सुशासन र पारदर्शिताको नारा पनि नक्कली थियो भन्ने पुष्टि हुन्छ ।’

फुयाँललाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको इमान्दार कर्मचारीको रूपमा आफूले चिन्ने गरेको दाहालले बताए ।

‘उहाँ (कविता फुयाँल)लाई म आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध सूचना अधिकारीका रूपमा चिन्दछु । उहाँले कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आउनुभएको थियो,’ दाहालले भने, ‘सूचना दिएकै कारणले निरुत्साहित गर्न खोजेको हो भने सूचनादाताको संरक्षणसम्बन्धी कानूनअनुसार उहाँले आयोगमा उजुरी समेत दिन सक्नुहुन्छ ।’

मलाई थाहा छैनहामीले कुनै प्रतिक्रिया जनाएका छैनौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार

फुयाँलको सरुवाका विषयमा बुझ्दा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस सल्लाहकार गोविन्द आचार्यले अनभिज्ञता प्रकट गरे ।

'मलाई थाहा नै छैन, तपाईंले भनेर थाहा पाएँ,' आचार्यले लोकान्तरसँग भने, 'नियमित प्रक्रियाको कुरा होला, हामीले यस (सूचना दिएको) विषयमा प्रतिक्रिया समेत जनाएका छैनौं,' आचार्यले लोकान्तरसँग भने ।

सूचना दिएबापत कारबाही गर्ने आफूहरूको नीति नरहेको उनले बताए ।

'सूचना दियो भनेर कारबाही गर्ने होइन, बरु पुरस्कृत नै गर्ने प्रधानमन्त्रीको नीति छ,' आचार्यले थपे ।

आचार्यले नियमित प्रक्रिया हुन सक्ने र कारबाही नगरिएको बताए पनि उपसचिव फुयाँलको सरुवा कुनै नयाँ जिम्मेवारी तोकेर होइन, जगेडामा भएको छ। जगेडा भनेर 'कुनै भूमिका छैन' भनिएको हो ।

​कारबाहीस्वरूप तानिएका, कुनै कार्यालयमा जिम्मेवारी तोकिएर पनि हाजिर हुन नपाएका, पदस्थापन हुन नसकेका लगायत कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा राख्ने गरिएको छ ।

यसरी जगेडामा रहने कर्मचारीको काम मन्त्रालय पुगेर हाजिर गर्ने अनि घाम तापेर घर फर्किने मात्र हो । उनीहरूलाई बस्नलाई कार्यकक्ष समेत हुँदैन ।

सोही कारण पनि समाचार आएको १० दिन बित्न नपाउँदै फुयाँललाई जगेडामा धकेल्नुले प्रधानमन्त्री कार्यालयबाट नियतवश सरुवा गराइएको पुष्टि हुने स्वयं प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरू बताउँछन् ।


स्रोत: लोकान्तर डट कम (मंसिर २९, २०८०)