काठमाडौँ महानगरपालिकाः सूचना अद्यावधिक छैन

By editor, 11 April, 2023

आदित्य दाहाल

काठमाडौँ महानगरपालिकाको मयेर पदमा निर्वाचित भएपछि कार्यपालिकाको खुला बैठक गरेर चर्चित हुनुभएका बालेन्द्र शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले अहिले पारदर्शीता र आर्थिक अनुशासनका लागि पालना गर्नुपर्ने कानुनी प्रवन्धहरुलाई अनदेखा गरिरहेको छ ।

महानगरपालिकाले सूचनाको हक अन्तरगत स्वतः सार्वजनिक गर्नुपर्ने विवरणहरु छ महिना यता सार्वजनिक गरेको छैन । त्यसै गरी कार्यपालिकाको मासिक प्रगति प्रतिवेदन पनि प्रकाशन गर्न छोडेको छ । यसैगरी वेभसाइटमानै नियमित सार्वजनिक गर्नुपर्ने आम्दानी र खर्चको नियमित विवरण पनि सार्वजनिक गरेको छैन ।
यसबारे किन महानगरपालिका पारदर्शीताका दायित्वहरुबाट पन्छिरहेको छ भनि प्रश्न गर्दा सूचना अधिकारी बसन्त आचार्यले केही बताउन चाहानुभएन । उहाँ यी प्रश्नहरुपछि स्वतन्त्र समाचार सेवाको सञ्चार सम्पर्कमा आउनुभएन ।

सामाजिक सञ्जालमा विभिन्न आलोचनात्मक टिप्पणी गर्न अग्रसर हुने प्रमुख शाहले आफ्नै कार्यालयमा भने काननुको उल्लघंन भैरहदा कुनै पहल गर्नुभएको छैन ।

महानगरपालिकाको बैठक भने महानगरको युट्युबबाट प्रत्यक्ष प्रसारण भएको देखिन्छ । तर कार्यपालिकाका निर्णयहरु लिखितरुपमा सार्वजनिक नभएको १० महिना भैसकेको छ । गत आर्थिक वर्षको जेठ महिनाको कार्यापालिकाको निर्णय र सोको कार्यान्वयन अवस्था विवरण मात्रै वेभसाइटमा सार्वजनिक गरिएको छ । त्यस्तै महानगरपालिकाको वार्षीक नीति तथा कार्यक्रम सम्बन्धी दस्तावेज पनि सार्वजनिकरुपमा उपलब्ध छैन ।

सुशासनको लागि सबैभन्दा बढी पारदर्शि र खुला हुनुपर्ने भएपनि काठमाडौँ महानगरपालिकाले सूचनाको हक सम्बन्धी कानुनमा व्यवस्था भएको स्वतः प्रकाशन हुनुपर्ने साथै मासिक, चौमाषिक खर्च विवरण अद्यावधिक हुनुपर्नेमा सो गरेको छैन ।

सूचनाको हक सम्बन्धी ऐनमा व्यवस्था भए अनुसारको तीनतीन महिनामा स्वतः खुलासा गर्नुपर्ने सूचनाहरु महानगरपालिकाले गत असोज महिनासम्मको मात्र वेभसाइटमा राखेको छ । पहिलापहिला सूचना स्वतः सार्वजनिक गर्ने परम्परा नियमित थियो ।

पालिकाको यो आर्थिक वर्षमा हालसम्म कति आम्दानी भयो र कति खर्च भयो भन्ने विवरणहरु पनि असोज देखि वेभसाइटमा अद्यावधिक गरेको छैन । तर, यसबारे फागनु २१ गते राष्ट्रिय सभा गृहमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर छलफल गरिएको दाबी महानगरका प्रवक्ता नवीन मानन्धरले गर्नुभयो । मानन्धरले भन्नुभयो – ‘महानगरको बैठकको प्रत्यक्ष प्रसारण भैरहेको छ र पारदर्शीता गर्नुपर्ने आर्थिक विवरणहरु राजश्व विभागबाट सार्वजनिक गर्ने कार्य निरन्तरनै रहेको छ ।’ तर ती विवरणहरु महानगरको वेभसाइटमा उपलब्ध छैनन् नि भनि प्रश्न गर्दा उहाँले आफ्नो अनविज्ञता जाहेर गर्नुभयो ।

आर्थिक वर्ष २०७८/७९ को महालेखापरीक्षको प्रतिवेदन अनुसार गर्नुपर्ने वेरुजु फच्छ्र्यौट तथा वित्तिय सुधारका कामहरुबारेको विवरण पनि वेभसाइटमा अद्यावधिक छैन ।

महानगरपालिकाको विकास कार्यक्रमहरुको नियमित अनुगमन प्रतिवेदनहरु सार्वजनि हुन छाडेको पाँच वर्ष नै भैसकेको छ । जबकी कुनै पनि योजनाको भुत्तानी अघि ती प्रतिवेदनहरु आम नागरिकलाई सुसूचित गर्न सार्वजनिक गर्नुपर्ने हुन्छ ।

महानगरपालिकाले आन्तरिक लेखपरीक्षण प्रतिवेदन पनि वेभसाइटमा राख्ने गरेको थियो । सो आन्तरिक लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७३/७४ पछि हालसम्म कुनै अपडेट गरेको छैन ।

महानगरपालिकाले यो आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरेको २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बजेटमध्ये गत पुस मसान्तसम्ममा १५ दशमलब ५४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । पुस मसान्तमा प्रकाशित आम्दानी र खर्चको विवरण अनुसार हालसम्म ३ अर्ब ४७ करोड ७० लाख ७३ हजार रुपैँया खर्च भएको छ । तर, यो खर्चमध्ये पुजीँगत खर्च कति हो र साधरण खर्च कति हो भन्ने अद्यावधिक विवरण पनि महानगरसँग छैन ।

बजेट खर्च क्षमतामा संघीय सरकार जस्तै महानगर सरकारपनि निकै असक्षम रहदैँ आएको छ । मेयर शाह निर्वाचित भएर आउँदा पनि महानगरले खर्च गर्न नसकेर मौज्दात रहेको रकम ९ अर्ब भन्दा माथि थियो । तर, निर्वाचनपछि पनि पुजीँगत खर्चको अवस्थामा खासै सुधार आएको देखिदैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार (4/10/2023)