दैलेख पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर सिंहले सूचना माग्न गएका पत्रकारलाई धम्काएका छन् ।
दुई महिना अघि करार कर्मचारीको विवरण, प्रदेश सरकारबाट दैलेखमा सञ्चालन भएका विकासे योजनाको विवरण मागका लागि सूचनाको हक अनुसार निवेदन दर्ता गराए पश्चात विवरण उपलब्ध गराईदिन भन्दै सूचना माग्न गएका पत्रकार उदयराज अधिकारीलाई सिंहले धम्क्याएका हुन् ।
पत्रकार अधिकारी लगायतका पत्रकारहरुले सूचना उपलब्ध गराईदिन भन्दै दुई महिना अघि निवेदन दिएका थिए, सूचना अधिकारीले केही समय भित्र सूचना उपलब्ध गराउने वचन दिएका थिए, जेठको १५ सकिदा समेत जिल्ला सदरमुकाम दैलेख बजार भित्र गरिने कामको ठेक्का भएको र काम सुरु नभएको जनगुनासो बढेपछि एक साता अघि स्थानीय पत्रिकामा समाचार प्रकाशन समेत भएको थियो ।
करिव एक साता अघि पत्रकार अधिकारीले दैलेख सदरमुकाम भित्र पूर्वाधार विकास कार्यालय मार्फत भएका ठेक्का प्रकृति र अन्य कामको बिवरण माग गरेका थिए । कार्यालय प्रमुख सिंहले एक साता अघि सूचना अघिकारी बाहिर रहेको, आफुलाई योजनाको बारेमा जानकारी नभएको र आउने बित्तिकै सूचना उपलब्ध गराउने बताएका थिए ।
बिहिवार सूचना अधिकारी एवं लेखा अधिकृत मानबहादुर सुनारले विवरण लिन आग्रह गरेपछि पत्रकार उदय अधिकारी सूचना लिन कार्यालय पुगेका थिए, कार्यालय प्रमुख ठेकेदारसँग मस्त कुराकानीमा थिए, अधिकारीले उनीसँग सूचना लिन आएको बताउने बित्तिकै सिंहले तपाई निहुँ खोज्न आउँनु भएको हो, सूचना लिने भए पुनः निवेदन ल्याएर आउँनुस् भन्दै अपमान पूर्ण व्यावहार गरेको पत्रकार अधिकारीले बताए ।
संविधानमा प्रत्येक नागरिकले सूचनाको हक प्रयोग गर्न पाउँने अधिकार उल्लेख गरिएको भए पनि सरकारले सञ्चालन गर्ने विकासे काम लगायतका सूचना माग्न जाँदा कार्यालय प्रमुखले धम्क्याउनु जनताले पाउने सूचनाको हक कुण्ठित भएको अधिकारीको प्रतिक्रिया छ ।
अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा समेत कार्यालय प्रमुखको व्यवहार प्रति आपत्ती जनाएका छन् । पत्रकार अधिकारीले सार्वजनिक स्थानमा सूचना माग्न जाँदा पत्रकारलाई कार्यालय प्रमुखले धम्काएपछि अन्य नागरिकहरुसँग कस्तो व्यवहार गरेका होलान समिक्षा गर्नुपर्ने बिषय हो ।
असारमा सक्नुपर्ने सदरमुकाम भित्रका २५ योजना अलपत्र पूर्वाधार कार्यालय मातहत रहि प्रदेश सरकार मार्फत असारमा सम्पन्न गर्नुपर्ने २५ योजनाको काम सुरु हुन सकेको छैन्, योजनालाई एकीकृत गरेर तीन महिना अघि ७ वटा ठेक्का खुलाईएको थियो । ठेक्का सम्झौता भइसकेको छ तर निर्माण कम्पनीहरुले काम सुरु गरेका छैनन्, जनताले विकासका कामहरु छिटो सञ्चालन गर्न माग गरेका छन् ।
यस्ता बिषयहरुमा पत्रकारले कामको प्रगति के भएको छ, भनेर सोध्न पाउने, जनताले खवरदारी गर्न पाउने अधिकार समेत कार्यालय प्रमुखले कुण्ठित गर्न खोजेको प्रति धमाका दैनिक पत्रिकाले समेत आपत्ती प्रकट गरेको छ । सम्पादक बिष्णु शर्माले भने “विकासे कामहरु समयमै सक्नुपर्ने दायित्व कार्यालयको पनि हो ।
कार्यालय प्रमुख मुख दर्शक भएर बस्न मिल्दैन्, जनताको सूचनाको अधिकार कुण्ठित गर्न मिल्दैन् ।” सदरमुकाम दैलेख बजार भित्रको सडक स्तरोन्नती गर्नका लागि ९२ लाखमा ठेक्का स्वीकृति भईसकेको छ, यसको जिम्मेवारी जय दुर्गा एस.एस.ले लिएको छ । तर काम सुरुवात भएको छैन्, त्यस्तै गहतारी ढाकाने सडकमा पनि ३४ लाख रकमको ठेक्का भईसकेको छ, खुर्सानीवारी कुर्सुकोट भिउटावर सडक, काँडाचौर बसपार्क देखि ढुङ्गेखानी सडक, गणेशचौक देखि पंचदेवल, पिउसे कालिमाटी भैसीखोर सडकका लागि ३६ लाखको ठेक्का भएको छ ।
यसको जिम्मेवारी जय दुर्गेसले लिएको छ । कुइकाना धुलपुर, कोटीला शिरिस्थान सडक, सरस्वती मन्दिर देखि निर्वाचन हुँदै तर्ताङ्ग सडक, बासकोट सालखर्क सडक, खुकुरी मोड हुँदै कुण्ठाखोला सडकका लागि ४१ लाखको ठेक्का भइसकेको छ । यसको जिम्मेवारी जय दुर्गेसले लिएको छ ।
त्यस्तै प्याकेज ६ अन्तर्गत नारायण मन्दिर, कारागार हुँदै प्रशासन गेट हुँदै तर्ताङ्ग रानीधारा, नयाँगाउँ देखि डोप्का डाँडाखोरिया सडक, प्रशासन गेट देखि तर्ताङ्ग सडकका लागि १९ लाखको ठेक्का भइसकेको छ । कामको जिम्मेवारी ए.वि. महावु कन्टक्सनले लिएको छ । त्यस्तै ठेक्का नं. ५ अन्तर्गत एकान्तकुना शिरिस्थान सडक, देबकोटा चौक हुँदै एकान्तकुना ढुङ्गेखानी सडकका लागि २९ लाखको ठेक्का भइसकेको छ । यसको जिम्मेवारी ए.वि. निर्माण सेवाले लगेको छ ।
कामहरु प्रभावकारी हुनुपर्दछ भनेर स्थानीय सञ्चारकर्मी र आम नागरिकहरुले कुरा उठाउँदा कार्यालय प्रमुखले गैर जिम्मेवारी अभिव्यत्ति दिदै हिडेको र धम्क्याउने काम गरेको नागरिकहरुको गुनासो छ ।
स्रोत : धमका दैनिक अनलाइन