काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन वर्षमा इन्धन खर्च एक करोड ६७ लाख र सवारी साधन मर्मत खर्च ८५ लाख ४५ हजारभन्दा बढी भएको पाइएको छ ।
विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख एवम् सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले उपलब्ध गराएको सूचनाअनुसार तीन आर्थिक वर्षमा इन्धन खर्च शीर्षकमा १ करोड ६७ लाख ६१ हजार ५ सय २३ रुपैया भएको उल्लेख गरिएको छ । यस्तै, सवारी साधनमा ८५ लाख ४५ हजार रुपैयाभन्दा बढी खर्च भएको विवरणमा उल्लेख छ । विश्वविद्यालय केन्द्रीय कार्यालयमा ३१ वटा सवारीसाधन रहेको पनि विवरणमा उल्लेख गरिएको छ ।
सूचनाको हकका अभियन्ता कैलाश माझीले त्रिविमा भएका सवारी साधनको विवरण, तीन आर्थिक वर्षको सवारी साधन मर्मत खर्च र सवारी साधनमा प्रयोग हुने इन्धन खर्चसम्बन्धी सूचना विवरणको प्रमाणित प्रतिलिपी पाउँ भनी गत मंसीरमा त्रिवि केन्द्रीय कार्यालयमा सूचना माग गरेका थिए ।
इन्धनमा १ करोड ६७ लाख
तीन आर्थिक वर्षमा इन्धन खर्च शीर्षकमा १ करोड ६७ लाख ६१ हजार ५ सय २३ रुपैया भएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६३ लाख २८ हजार ३ सय ४३ रुपैया इन्धन खर्च स्वीकृत भएको पाइएको छ । जसमा पेट्रोल २७ हजार ५ सय ९७ लिटर, डिजेल १७ हजार १ सय ७ लिटर, मोविल ३०३ टिन र गियर आयल ११४ टिन तथा ब्रेक आयल ६३ लिटर खर्च भएको देखाइएको छ ।
यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ५३ लाख ५२ हजार ६ सय ९२ रुपैया खर्च भएकोमा पेट्रोल २४ हजार २ सय ७६ लिटर, डिजेल १४ हजार ४ सय ५ लिटर, मोविल ३०८ टिन र गियर आयल ११० टिन तथा ब्रेक आयल ४५ लिटर खर्च भएको जनाइएको छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ५० लाख ८० हजार ४ सय ८८ रुपैया खर्च भएकोमा पेट्रोल २१ हजार ७ सय ८२ लिटर, डिजेल १५ हजार ३ सय ५६ लिटर, मोविल २५५ टिन र गियर आयल ७९ टिन तथा ब्रेक आयल ३५ लिटर खर्च भएको देखाइएको छ ।
सवारी साधन मर्मत खर्च ८५ लाख ४५ हजार
त्रिभुवन विश्वविद्यालय आर्थिक वर्ष २०७६/०७७ मा सवारी साधन मर्मतमा ३१ लाख ५६ हजार १ सय ५४ रुपैयाँ खर्च भएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ अवधिमा सवारी साधन मर्मत खर्च २९ लाख १६ हजार ७ सय ७ रुपैया भएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सवारी साधन मर्मत खर्च २४ लाख ७२ हजार ८ सय २७ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
केन्द्रीय कार्यालयमा ३१ वटा सवारी साधन
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ३१ व्टा सवारी साधन रहेको विवरणमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म त्रिवि केन्द्रीय कार्यालयमा मारुती स्टिम कार एउटा, मारुती कार ३ वटासहित अन्य १४ वटा कार, तीन वटा स्टाफ बस १० वटा जीप, र चारवटा मारुती भ्यान रहेको सूचना उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एउटा जीप मात्र खरिद गरिएको र बाँकी सवारी साधन तीन आर्थिक वर्षभन्दा अगाडि नै खरिद भएको पनि सूचना विवरणमा उल्लेख छ । यी मध्ये सबै संचालनमा रहे नरहेको भने विवरणमा केही उल्लेख गरिएको छैन ।
स्रोत : मकालु खबर