सूचना मागपछि खुलेको तथ्य : प्रदेश सभाका पदाधिकारीहरूको गाडी मर्मतमा अस्वाभाविक खर्च, लकडाउनमा पनि छाडेनन् इन्धन

By editor, 12 January, 2021

aaaaaaaaa

प्रकाश आचार्य

लुम्बिनी प्रदेश सभाका पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधन मर्मतमा अस्वाभाविक खर्च भएको छ ।

प्रदेश सभामा १२ जना पदाधिकारीहरू छन् । प्रदेश सभा स्थापना भएको वर्ष बजार मूल्यभन्दा बढीमा खरिद गरिएका नयाँ गाडीहरू मर्मतमा प्रदेश सभा सचिवालयले ३७ लाख रुपैयाँ खर्च गरेको छ । 

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार सभामुख, उपसभामुख र संसदीय समितिका सभापतिहरूले चढ्ने ‘लग्जरियस’ गाडी मर्मतमा मात्रै ३६ लाख ९७ हजार ४८३ रूपैयाँ खर्च भएको छ । 

गाडीहरू प्रयोगमा आएका एक/दुई वर्षमै धेरै रकम मर्मतमा खर्च हुँदा पारदर्शितामा प्रश्न उठेको हो । 

यो तथ्यांक आर्थिक वर्ष २०७४/०७५ देखि आव २०७६/०७७ सम्मको हो ।  प्रदेश सभा सचिवालयले समितिका सभापतिहरूलाई सेतो नम्बर प्लेटका गाडीका अलावा उनीहरूको सचिवालयका लागि दुईपांग्रे सवारी पनि उपलब्ध गराउँदै आएको पाइएको छ ।

यही अनुसार प्रत्येक वर्ष गाडी मर्मतमै असीमित खर्च बढ्दै जाँदा राज्यलाई ठूलो आर्थिक व्ययभार थुप्रिने निश्चित छ । 

सभामुख पूर्णबहादुर घर्तीको गाडी मर्मतमा धेरै खर्च 

गाडी मर्मतमा सबैभन्दा बढी खर्च सभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्ने गाडीहरूमा भएको छ । उनले प्रयोग गर्ने तीनवटा गाडीमध्ये दुईवटा गाडी मर्मतमा झण्डै १० लाख रुपैयाँ खर्च भएको छ । 

घर्तीले प्रयोग गर्ने बा १ झ ९७२९ नम्बरको फोर्ड एभरेस्ट जीप मर्मत गर्दा ८ लाख ७ हजार १९५ रूपैयाँ र बा २ झ २२८४ नम्बरको टाटा सुमो जीप मर्मत गर्दा १ लाख ७९ हजार ७८६ रूपैयाँ खर्च भएको छ । सभामुखलाई हालसालै १ करोड रुपैयाँ खर्च गरेर प्रदेश ३–०१०० झ ५२४४ नम्बरको स्कोडा सेडान कार खरिद गरिएको छ ।

त्यस्तै सभामुखको सचिवालयका लागि लु १ ब २३५२ नम्बरको मोटरसाइकल पनि उपलब्ध गराइएको छ । तीनवटा गाडीले पनि नपुगेर सभामुखलाई मोटरसाइकल दिइएको छ । 

त्यस्तै उपसभामुख कृष्णी थारूले प्रयोग गर्ने गाडी मर्मतमा ३ लाख १ हजार १७८ रूपैयाँ खर्च भएको छ ।

थारू चढ्ने लु १ झ ४४४ नम्बरको टाटा स्ट्रोम सफारी मर्मत गर्दा २ लाख ९९ हजार ८८९ रुपैयाँ र उनको सचिवालयले प्रयोग गर्ने लु १ ब २३६० नम्बरको स्कुटर मर्मत गर्दा १ हजार २८९ रुपैयाँ खर्च भएको छ । 

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको गाडी मर्मतमा पनि धेरै खर्च उठेको छ । ढकालको गाडी मर्मतमा ८ लाख १९ हजार ६०४ रुपैयाँ खर्च भएको छ ।

उनलाई प्रदेश सभा सचिवालयले स्कूटर पनि उपलब्ध गराएको छ । उनले प्रयोग गर्ने लु १ ब २३६० नम्बरको स्कुटर मर्मत गर्दा १२ हजार ९५६ रुपैयाँ खर्च भएको छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया चढ्ने लु १ झ ४४७ नम्बरको गाडी मर्मत गर्दा ३३ हजार ५३३ रुपैयाँ खर्च भएको छ । त्यस्तैगरी कांग्रेस सचेतक फखरुद्धिन खाँन चढ्ने लु १ झ ४४३ नम्बरको सफारी मर्मत गर्दा १ लाख १२ हजार ९३६ रुपैयाँ खर्च भएको छ । 

अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने चढ्ने लु १ झ ४४९ नम्बरको गाडी मर्मत गर्दा १ लाख २८ हजार ८८७ रुपैयाँ खर्च भएको छ ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रयोग गर्ने लु १ झ ४४० नम्बरको गाडी मर्मत गर्दा १ लाख १८ हजार ७५५ खर्च भएको छ ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे चढ्ने लु १ झ ४४५ नम्बरको गाडी मर्मतमा २ लाख ४ हजार ३१५, कृषि वन, तथा वातावरण समितिका सभापति विजयबहादुर यादव चढ्ने लु १ झ ४४२ नम्बरको गाडी मर्मतमा ४ लाख ५० हजार ७७ रुपैयाँ खर्च भएको छ । 

त्यसैगरी सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रयोग गर्ने लु १ झ ४४१ नम्बरको गाडी मर्मत गर्दा १ लाख ७७ हजार ६३१, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकार चढ्ने लु १ झ ४४६ नम्बरको गाडी मर्मत गर्दा २ लाख १९ हजार ११८ र विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ चढ्ने लु १ झ ४४८ नम्बरको गाडी मर्मत गर्दा १ लाख ३१ हजार ५५२ रुपैयाँ खर्च भएको छ । 

कति छिटो बिग्रिन्छन् गाडी ?

नयाँ गाडी तीन/चार वर्ष नबिग्रिने र सामान्य मर्मत गर्दा ठूलो अमाउन्ट नआउने मर्मतकर्ताहरू बताउँछन् । सरकारी सवारी साधन प्रयोग गर्नेले तेल पनि पाउने, मर्मत खर्च पनि पाउने हुँदा मर्मत आवश्यक नभए पनि मर्मत गरी बिल पेश गर्छन् कि भन्ने आशंका बढाउने विज्ञहरू बताउँछन् । 

कोरोना महामारीमा पनि छाडेनन् इन्धन खर्च

कोरोना महामारीमा गएको चैतदेखि भदौसम्म नेपालको सबै क्षेत्र ठप्पजस्तै रहे पनि प्रदेश सभाका पदाधिकारीहरूले पाउने इन्धन खर्च भने नछाडेको पाइएको छ ।

त्यो समयावधिमा उनीहरू घरबाहिर र सरकारी काममा नहिँडे पनि प्रदेश सभाले उपलब्ध गराउने इन्धन कुनै पनि महिना छाडेको देखिन्न ।

सचिवालयले सभामुखलाई मासिक २ सय लिटर इन्धन, उपसभामुख सहित सबै पदाधिकारीहरूलाई १५० लिटर इन्धन मासिक उपलब्ध गराउँछ । त्यसका अलावा

सभामुख, उपसभामुख र सत्तापक्षका प्रमुख सचेतकको सचिवालयले प्रयोग गर्ने मोटरसाइकल र स्कुटरका लागि पनि मासिक १०/१० लिटर पेट्रोल उपलब्ध गराउने गरेको छ ।

महामारीले लकडाउन हुँदा पनि सबैले पाउनेजति सबै इन्धन लिएको प्रदेश सभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरि बताउँछन् ।

‘सचिवालयले उपलब्ध गराउने सबै सुविधाहरू मान्यज्यूहरूले लिनुभएको छ,’ अग्रहरिले भने । 

औचित्यका आधारमा मर्मत हो कि होइन ?

बिल र भरपाई पेश गर्दैमा गाडी मर्मत भएको भन्दा पनि औचित्यका आधारमा हो कि होइन भन्ने हेर्न आवश्यक रहेको सुशासनविद् बताउँछन् । सुशासनविद् खेमराज रेग्मीले बजार मूल्य र चलन चल्तीको दरमा मर्मत भएको हो कि होइन र मर्मत गर्न आवश्यक थियो कि थिएन भन्ने हेर्न जान आवश्यक रहेको बताए ।

रेग्मीले लोकान्तरसँग भने, ‘सार्वजनिक खरिद ऐनमा स्पष्ट रूपमा उल्लेख छ । मर्मत गर्दा औचित्यका आधारमा भएको छ कि छैन । महालेखाले बिल र भरपाई मात्र हेरेर हुँदैन औचित्यका आधार हेर्नुपर्छ । होइन भने त्यो नीतिगत भ्रष्टचार हुन्छ ।’

नैतिकता नभएकाहरूलाई कानूनले पनि नियन्त्रण गर्न नसक्ने रेग्मीको भनाइ छ । नेताहरूले राजनीतिलाई कमाउने ठाउँका रूपमा समेत लिएको रेग्मीले बताए । 

 

स्रोत: लोकान्तर अनलाइन