सूचना मागपछि खुलेको तथ्य : कोरोनाकालको सिंहदरबार– एउटा मास्कको ४५० रुपैयाँ, एक लिटर स्यानिटाइजरको ३ हजार !

By editor, 25 November, 2020
सुशील पन्त कोरोना महामारी नियन्त्रण प्रयासमा देशभर आर्थिक अनियमितताका समाचार आइरहेको समयमा केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारले पनि कर्मचारी र सेवाग्राहीका लागि बजार मूल्यभन्दा महंगा सामान खरिद गरेको पाइएको छ । कोरोना सावधानीका लागि भन्दै प्रत्येक मन्त्रालय र सरकारी निकायले मास्क, स्यानिटाइजर, भाइजर र स्यानिटाइजर स्टान्डजस्ता सामान खरिदमा लाखौं रुपैया खर्च गरेको पाइएको छ । लोकान्तर डट्कमले गरेको खोजमा एउटै पर्खालभित्र रहेको सिंहदरवारभित्रकै मन्त्रालयले खरिद गरेका मास्क र स्यानिटाइजरको मूल्यमा ठूलो अन्तर देखिएको छ । मन्त्रालयले खरिद गरेका सामानको मूल्य र परिमाणमा अन्तर देखिएको छ । एउटा मास्कको ४५० रुपैयाँ शिक्षा मन्त्रालयले के एन ९५ फिल्टर मास्कप्रति पिस ४ सय ५० रुपैयाँमा खरिद गरेको छ । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा ४ सय ५० रुपैयाँको दरले ९५ पिस मास्क खरिद गरेको देखिन्छ । मन्त्रालयले ३ पत्र भएको सर्जिकल मास्क १५ रुपैयाँ र सामान्य मास्क १० रुपैयाँ प्रतिपिस खरिद गरेको छ । मन्त्रालयले नोज पिन भएको मास्क ७ सय रुपैयाँ प्रतिपिस खरिद गरेको देखिन्छ । पटक–पटकका खरिदमा उही मास्क र स्यानिटाइजरको मूल्य फरक पाइएको छ । अर्थ मन्त्रालयले २०७६ चैत्र महिनादेखि २०७७ असोजसम्ममा २० हजार १ सय ५० थान सर्जिकल र १ हजार ४ सय ५० थान एन ९५ मास्क खरिद गरेको छ । मन्त्रालयले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा १४ सय ५० थान मास्कको ४ लाख ४८ हजार ८ सय २७ रुपैयाँ तिरेको देखिन्छ । विभिन्न फर्महरूबाट खरिद गरिएको एन ९५ मास्कको औसत मूल्य ३ सय ९ रुपैयाँ ५३ पैसा पर्छ । स्रोतका अनुसार अर्थले शुरूमा खरिद गरेका मास्कको मूल्य ४ सय रुपैयाँभन्दा बढी छ । मन्त्रालयले खरिद गरेको एकमुष्ट रकम मात्र उल्लेख छ । अर्थ मन्त्रालयले २० हजार १ सय ५० थान सर्जिकल मास्कका लागि २ लाख १५ हजार ६ सय ८७ रुपैयाँ तिरेको छ । यसको औसत मूल्य १० रुपैयाँ ७० पैसा परेको देखिन्छ । ५० मिटरको दूरीमा रहेका शिक्षा र अर्थ मन्त्रालयले खरिद गरेको मास्कको मूल्यमा १ सय ४१ रुपैयाँ अन्तर परेको छ । एक लिटर स्यानिटाइजरको मूल्य ३१ सय मन्त्रालयहरूले कोरोना संक्रमणबाट जोगिन ठूलो परिमाणमा स्यानिटाइजर खरिद गरेको पाइएको छ । सिंहदरबारका अधिकांश मन्त्रालयले स्ट्यान्डसहित कार्यालयको गेटमा स्यानिटाइजर राखेका छन् । अर्थ मन्त्रालयले चैत्रदेखि असोजसम्म ५ सय ४७ लिटर स्यानिटाइजर खरिद गरेको देखिन्छ । मन्त्रालयले औषधि व्यवस्था विभागबाट ४ सय ३२ र विभिन्न फर्मबाट १ सय १५ लिटर स्यानिटाइजर खरिद गरेको लोकान्तरलाई प्राप्त विवरणमा उल्लेख छ । निजी फार्मबाट खरिद गरिएको १ सय १५ लिटर स्यानिटाइजरको मूल्य ३ लाख ५७ हजार ६७ रुपैयाँ छ, जसको औसत मूल्य ३ हजार १ सय ४ रुपैयाँ ९३ पैसा परेको देखिन्छ । जबकि औषधि व्यवस्था विभागबाट खरिद गरिएको स्यानिटाइजरको मूल्य प्रतिलिटर औसत ६ सय ५२ रुपैयाँ परेको देखिन्छ । शिक्षा मन्त्रालयले भने ५ सय एमएलसम्ममा स्यानिटाइजरका बोत्तल किनेको छ । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा डेटोलको २ सय एमएलको बट्टालाई प्रतिदर्जन ३ हजार रुपैयाँको दरले खरिद गरेको उल्लेख छ । यस्तै ल्यारी हर्बलको ३ सय एमएलको बट्टालाई प्रतिदर्जनको ३५ सय रुपैयाँमा खरिद गरेको देखिन्छ । हस्पिएड स्यानिटाइजर ५ सय एमएललाई ६ सय रुपैयाँ तथा नेपाल औषधि लिमिटेडको १०० एमएलको बट्टा १ सय ५० रुपैयाँमा खरिद गरेको देखिन्छ । शिक्षा मन्त्रालयले श्रावणदेखि कात्तिकसम्म नेपाल औषधि लिमिटेडबाट प्रति ग्यालेन ३ हजार रुपैयाँका दरले ५ लिटर परिमाणका १० ग्यालेन स्यानिटाइजर किनेको छ । परराष्ट्रमा झण्डै ५ लाखको मास्क/स्यानिटाइजर परराष्ट्र मन्त्रालयले २०७६ चैत्रदेखि २०७७ असोजसम्ममा ४ लाख ९८ हजार ७ सय ८७ रुपैयाँ ८८ पैसा बराबरको स्यानिटाइजर, मास्क, स्यानिटाइजर स्ट्याण्ड खरिद गरेको छ । ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ जेठ २८ को निर्णयबमोजिम कोभिड– १९ बाट कर्मचारी र सेवाग्राही समेतको सुरक्षाका लागि २०७६ चैतदेखि २०७७ असोजसम्ममा रु ४ लाख ९८ हजार ७८७ रुपैयाँ ८८ पैसा मूल्यको स्यानिटाइजर, मास्क, स्यानिटाइजर स्ट्याण्ड लगायतका सामग्री खरिद गरिएको,’ मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । परराष्ट्रले कुन ब्राण्डको मास्कको कति रुपैयाँमा खरिद गरेको भन्ने विवरण दिन अस्वीकार गरेको छ । बजारमा भन्दा सिंहदरबारमा चौगुणा महंगो कोरोना महामारी शुरू भएसँगै नेपाली बजारमा युरोप, अमेरिकादेखि चाइनासम्ममा मास्क र स्यानिटाइजर किन्न पाइन्छ । सामान्य खालको के एन ९५ मास्क बजारमा ६५ रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा पाइन्छ । तर सिंहदरबारमा भने साढे ४ सय रुपैयाँसम्ममा खरिद गरेको देखिन्छ । किन महंगोमा सामान खरिद गरेको भन्ने कुराको जवाफ दिन कोही तयार छैनन् । ‘खरिद किन महंगो पर्‍यो भनेर त हामीलाई पनि थाहा हुँदैन, यो खरिद गर्ने निकाय र स्टोरलाई नै सोध्नुस्,’ एक मन्त्रालयका सूचना अधिकारीले लोकान्तरसँग भने । कोरोना महामारीको समयमा मास्क, स्यानिटाइजर लगायतका सामानमा कमिसनको खेल भएको मन्त्रालयका कर्मचारीहरू गुनासो गर्छन् । ‘शुरू–शुरूमा कार्यालयमा मास्क बाँडिएको थियो, अहिले हामीले व्यक्तिगत रूपमा किनेर लगाएका छौं,’ मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘खरिद गरिएका मास्क कहाँ जान्छन्, हामीलाई थाहा हुँदैन ।’ स्रोत : लोकान्तर अनलाइन