सूचनाको हकको अभियन्ता राजु श्रेष्ठले सर्वोच्च अदालतमा निवेदन दर्ता गरी प्रधान न्यायाधीश तथा सम्पूर्ण न्यायाधीशहरुको सम्पत्ति विवरण सम्बन्धी सूचना माग गरेका छन् ।
श्रेष्ठले आर्थिक वर्ष २०७५÷०७६ देखि आ.व २०७६÷०७७ सम्मको सम्पत्ति विवरण माग गरेका हुन् ।
दुई आर्थिक वर्षको सम्पत्ति विवरणसहितको प्रमाणित प्रतिलिपी पाउँ भन्दै श्रेष्ठले गत भदौ १० गते निवेदन लेखेका हुन् ।
प्रधान न्यायाधीश र सबै न्यायाधीशहरुको सम्पत्ति विवरण नागरिकहरुले थाहा पाउनुपर्ने भन्दै श्रेष्ठले न्याय क्षेत्र सुधारको लागि सूचना माग्ने काम गरेको बताए ।
सर्वोच्च अदालतले प्रधान न्यायाधिश र न्यायाधिशको सम्पत्ति विवरणबारे न्याय परिषद्संग माग गर्न अनुरोध गर्दै पत्र संख्या २०७७÷७८ को चलानी नं १९९ मार्फत भदौ १० श्रेष्ठलाई अदालतले निवेदन पठाएको थियो । पछि श्रेष्ठले न्यायपरिषद्संग सूचना माग गर्दै निवेदन दिएका छन् ।