‘रिमोट’ एरियामा सूचनाको हक सम्बन्धि जनचेतना अभियान

By editor, 10 April, 2018

सूचनाको हकका अभियन्ता ध्रुब कुमार झाले महोत्तरी जिल्लाको अति दुर्गम गाउँपालिका  एवं नगरपालिकाको विभिन्न स्थानमा सूचनाको हक सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन । 
स्थानीय अभियन्ता एवं राजपाका नेता सरबेश झाको सहयोगमा अभियन्ता झाले जिल्लाको सीमावर्ती भारतसंग जोडिएका मनरा सिस्वा नगरपालिकाको विभिन्न वडा एवं गाविसहरुमा जनचेतना अभियान संचालन गरेका हुन । अभियान अन्र्तगत फ्रिडम फोरमद्दारा प्रकाशित सूचनाको हक सम्बन्धि विभिन्न पुस्तक एवं मैथिली भाषामा सूचनाको हक बारेको जानकारी मुलक पर्चा (पम्पलेट) वितरण गरेका  हुन । ्
अभियन्ता झाले करिब २० हजार पम्पलेट सर्वसाधारणलाई वितरण गरेका छन भने विभिन्न नगरपालिका एवं गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीसंग सूचनाको हकबारे छलफल गर्नूका साथै जनचेतनामुलक पुस्तकहरु वितरण गरेका छन । अक्टुबर १० तारिक देखि  लगातार १० दिन सम्म जिल्लाको रिमोट एरियाको रुपमा परिचित बथनाहा ,हलखोरी ,चकवा ,कटैया ,साँढा ,मनरा ,मनरा कट्टि,गैंढाभेटपुर ,गोनरपुरा ,मडै,जाउख ,मरुवाही ,सकरी ,मधवा प्रकौली ,सनुखरा लगायतको दर्जनौ गाउँ एवं टोल टोलमा पर्चा वितरण गरिएको अभियन्ता झाले जानकारी दिएका छन । 
यो अभियानले विकासमा अत्यन्त पछाडी परेको भारतीय सीमावर्ती क्षेत्रका नागरिकहरुले सूचनाको हकबारे पहिलो पटक जानकारी पाउँदा अत्यन्त हर्षित भएको र जनप्रतिनिधीहरु पनि उत्साहि देखिएको अभियन्ता झाले बताए । विकासमा अत्यन्त पछि परेको उक्त क्षेत्रमा यस प्रकारको अभियानलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको उनको ठम्याई छ ।  
उनले दिएको जानकारी अनुसार नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल लगायतका पत्रकारहरुसंग सूचनाको हक सम्बन्धि अन्तरक्रिया गर्दै विभिन्न पर्चा  एवँ पुस्तकहरु समेत वितरण गरिएको छ ।