सूचना माग्ने सर्वसाधरणमाथि वडा अध्यक्षबाटै कुटपिट

By editor, 14 October, 2019

सूचना माग्ने सर्वसाधरणमाथि वडा अध्यक्षबाटै कुटपिट

    धनुषा, २७ असोज । सूचना माग्न गएका एक सर्वसाधारणलाई जनकपुरधाम उपमहानगरपालिका वडाध्यक्षले मेयरकै अगाडि कुटपिट गरेका छन् । 

    प्राप्त जानकारी अनुसार गत असोज १३ गते विकास निर्माण सम्बन्धी सूचना माग्न गएका उपमहानगरपालिका– १८ का रामबाबु मण्डललाई मेयर लालकिशोर साहकै अगाडि सोही वडाका मेयर रामाशंकर पासवानले कुटपिट गरेका हुन् । 

    सञ्चारकर्मीसंग पीडा पोख्दै मण्डलले भने– ‘वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेपछि आफू र स्थानीय तपेश्वर ठाकुरले संयुक्त रुपमा सूचना मागेका थियौं । सम्पूर्ण प्रक्रिया मिलाएर  निवेदन दर्ता गराएपनि ती कर्मचारीले सूचना मागको निवेदन मेयर साहलाई नै दिन दिनुपर्नेभन्दै हप्कीदप्की गरेका थिए ।’  

    कर्मचारीले भने अनुसार सूचना माग्न मेयर साह समक्ष जाँदा उनले निवेदन पढेर सुनाउन भने निवेदन पढिरहेकै क्रममा कार्यकक्षमा बसेका सम्बन्धित वडाध्यक्ष पासवानले आफूहरुमाथि कुटपिट गर्न थालेको पीडित मण्डलले बताउनुभयो ।

    मेयर साहको आदेश बमोजिम निवेदन पढ्दै गर्दा वडाध्यक्ष पासवानले आफुमाथि दुव्र्यवहार गरेको पीडितले गुनासो पोखे । उल्टै पीडितमाथि प्रतिप्रश्न गर्दै कहाँ भ्रष्टाचार भएको छ ? भन्न थाले । त्यसपछि आएर आफुमाथि हातपात गरेको पीडित मण्डलको दाबी छ । 

    सूचना माग्न पुगेका अर्का पीडित तपेश्वर ठाकुरका अनुसार – कार्यकक्षमा अन्य ४÷५ जना उपस्थित थिए । ठाकुर भन्छन् – हामीसँग भएको दुव्र्यवहार सहित कुटपिटको घटना बारे मेयर साहको कार्यकक्षमा रहेको सिसिटिभी फुटेज हेर्दा पनि प्रष्ट हुन्छ । 

    घटना पश्चात पीडित मण्डलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष पासवानलाई कारबाहीको माग गर्दै उजुरी समेत दिएका छन् । तर अहिलेसम्म प्रहरीले कुनैपनि कारबाही प्रक्रिया अगाडि नबढाएकोमा पीडितले दुखेसो पोखेका छन् । तर वडाध्यक्ष पासवानले आफुले हातपात नगरेको दावी गरेका छन् ।

    नेपालको संविधानले सार्वजनिक एवं सरकारी निकायको सार्वजनिक महत्वको सूचना पाउन हरेक नेपाली नागरिकको मौलिक अधिकारको रुपमा ग्यारेण्टी गरेपनि भ्रष्टाचार लुकाउन यस्ता घटनाले प्रसय पाउने गरेका छन् ।