सूचना मागेपछि थाहा भयो : सेनालाई सामान किन्दा विदेश घुम्छन् रक्षा मन्त्रालयका असम्बन्धित कर्मचारी

By editor, 1 October, 2019

नारायण अर्याल

असोज २, २०७६

काठमाडौं – रक्षा मन्त्रालयका कर्मचारीहरू नेपाली सेनालाई सामान आपूर्ति गर्ने कम्पनीको खर्चमा विदेश घुम्ने गरेको पाइएको छ । यसरी घुम्नेमध्ये अधिकांश उक्त खरिदसँग सम्बन्ध नराख्ने अप्राविधिक कर्मचारीहरू हुने गर्छन् ।

नेपाली सेनाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा विभिन्न १२ वटा देशबाट सामग्री आपूर्ति गरेको थियो, जसमा रक्षा मन्त्रालयका सचिवदेखि अधिकृतसम्मका कर्मचारीले सामान बिक्रेता कम्पनीको खर्चमा विदेश घुमेका छन् ।

प्रत्यक्ष रूपमा सहभागी हुनुपर्ने सेनाका २ प्रतिनिधि जाँदा मन्त्रालयका एक कर्मचारी पनि विदेश जाने प्रचलन नै बसाइएको छ । सेनाका दुई प्रतिनिधि सहभागी भइरहेको अवस्थामा मन्त्रालयका प्रतिनिधि समेत सहभागी हुनुको औचित्य पुष्टि नहुने मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

प्राविधिक सामग्री खरिदमा अर्कै शाखाका कर्मचारी !

नेपाली सेनाका लागि चाहिने प्राविधिक सामग्री अनुगमन, मूल्यांकन तथा चेकजाँचसम्बन्धी काम सम्बन्धित विषयमा अनुभवी वा प्राविधिक क्षमता भएको व्याक्तिले मात्रै गर्न सक्छ । तर रक्षा मन्त्रालयले प्रशासन, लेखा र कानूनी सेवासँग सम्बन्धित कर्मचारीलाई समेत अनुगमन र पूर्व तयारीको नाममा विदेश पठाउने गरेको छ ।

पछिल्लो २ आर्थिक वर्षमा नेपाली सेनाले विदेशबाट ३६ पटक सामग्री खरिद गर्दा मन्त्रालयका २९ कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

०७४ साल कात्तिकमा नेपाली सेनाले जापानबाट सामग्री खरिद प्रक्रिया अगाडि बढाएको थियो, जसको ‘प्रि–शिपमेन्ट इन्स्पेक्सन’ (ढुवानीपूर्वको निरीक्षण) कार्यमा मन्त्रालयका सचिव श्रीधर सापकोटा सहभागी भए ।

जनवरी २०१९ मा नेपाली सेनाले बेलायत र इटालीबाट सामग्री आपूर्ति गर्ने प्रक्रियाअन्र्तग ‘प्रि–शिपमेन्ट इन्स्पेक्सन’ र ‘प्रि–डेलिभरी भिजिट’ मा मन्त्रालयका सहसचिव बाबुराम गौतम १४ दिन युरोप घुमे ।

यसका अलावा रक्षा मन्त्रालयका १६ जना उपसचिव, १२ जना शाखा अधिकृत, २ जना लेखा अधिकृत, १ जना कानून अधिकृत र १ जना कम्प्युटर अधिकृतले यस्तै प्रयोजनका लागि विदेश भ्रमण गरेको मन्त्रालयले उपलब्ध गराएको सूचनामा देखिन्छ ।

यस किसिमको भ्रमणमा असम्बन्धित कर्मचारी विदेश भ्रमणमा जाने गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम पाण्डे नै स्वीकार्छन् ।

चालू आर्थिक वर्षबाट भने सम्बन्धित विषयका प्राविधिक कर्मचारीलाई मात्र यस्तो प्रयोजनमा विदेश पठाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

सेनाको खरिदमा रक्षा मन्त्रालयका एक कर्मचारी सहभागी हुने प्रचलन पहिलेदेखि नै रहेको बताएपनि उनले त्यसको औचित्य भने पुष्टि गर्न सकेनन् ।

सेनाका पाइलटले तालिम लिँदा मन्त्रालयका अधिकृतको विदेश भ्रमण

नेपाली सेनाका अधिकृतहरूले ०७४ सालमा पोल्याण्डमा पाइलट तालिम लिएका थिए । सेना अधिकृतहरूले लिएको उक्त तालिम अनुगमनका लागि मन्त्रालयका तर्फबाट शाखा अधिकृत सुनिल शर्मा पौडेलले अनुगमन गरेको मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

पोल्याण्डमा भएको उक्त पाइलट तालिमको अनुगमनका लागि मन्त्रालयका ती अधिकृतले ४ दिन युरोप घुम्दा नेपाली सेनाको ३ हजार ६ सय ५१ डलर खर्च भएको देखिन्छ ।

सुरक्षासम्बन्धी अधिकांश भ्रमण अमेरिकामा

रक्षा मन्त्रालयका कर्मचारी सहभागी हुने अधिकांश अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम अमेरिकामा हुने गरेको तथ्यांक फेला परेको छ ।

आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा रक्षा मन्त्रालयका तर्फबाट सहभागिता भएको १६ वटा अन्तर्राष्ट्रिय सुरक्षासँग सम्बन्धित सेमिनारमध्ये ११ वटा कार्यक्रम अमेरिकामा भएको देखिन्छ ।

अमेरिकाले ट्रान्जिसनल सेक्यिुरीटी कोअपरेसन वर्कसप, नेसा एक्जुकेटिभ सेमिनार, कम्प्रिहेन्सिभ क्राइसिस म्यानेजमेन्ट कोर्स, एक्जुकेटिभ कोर्स र एडभान्स सेक्युरिटी कोअपरेसन कोर्ष लगायतका कार्यक्रममा नेपाली प्रतिनिधिहरूलाई सहभागी गराइएको छ ।

अमेरिकाकै आयोजना र खर्चमा सन् २०१८ र २०१९ मा भएको ६ दिने ट्रान्जिसनल सेक्यिुरिटी को–अपरेसन वर्कसपमा मन्त्रालयका तत्कालीन सचिव विष्णुप्रसाद लम्साल र वर्तमान सचिव रेश्मिराज पाण्डेले सहभागिता जनाए ।

अमेरिकाले आयोजना गरेको सन् २०१८ को एक्जुकेटिभ कोर्समा मन्त्रालयका सहसचिव बाबुराम पाण्डे र सन् २०१९ को कोर्समा उपसचिव दुर्गा गुरुङले सहभागिता जनाए । अमेरिका भ्रमणमा सचिवदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरू जाने गरेको देखिन्छ ।

यी हुन् सैनिक सामग्री खरीद प्रक्रियामा विदेश भ्रमण गर्ने रक्षा मन्त्रालयका कर्मचारी :

 

 

aaaaaaaaaaaaaaaaaaaaaaaaa

स्रोत : लोकान्तर अनलाइन