सूचनाको हकसम्बन्धी प्रदेशस्तरीय कार्यशाला 2018-02-17

By editor, 18 February, 2018

सूचनाको हकसम्बन्धी प्रदेशस्तरीय तीन दिने कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । फ्रिडम फोरमको आयोजनामा सरकारी कार्यालयका सूचना अधिकारीलाई सूचना प्रवाहमा सहजता ल्याउन उक्त कार्यशाला आयोजना गरिएको फोरमका अध्यक्ष हरिविनोद अधिकारीले जानकारी दिनुभयो । राम्रोसँग सूचना प्रवाह गर्न सकेमा नागरिकले सूचनाको हक उपभोग गर्न पाउने भएकाले सूचना अधिकारीका समस्या पहिचान र उपायहरूको बारेमा छलफल गरिने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झाले लोकतन्त्रको सुदृढीकरण सूचनाको हकबाट हुने भएकाले त्यसका लागि सरकारी कार्यालयका सूचना अधिकारीको भूमिका गहन हुने जनाउनुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले नागरिकलाई बलियो बनाउने माध्यम नै सूचनाको हक भएको बताउनुभयो । कार्यशालामा प्रदेश नंं ६ का दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम (पश्चिम) जिल्लाका स्थानीय निकाय तथा प्रत्यक्षरुपमा जनसरोकार राख्ने सरकारी कार्यालयका सूचना अधिकारीहरूको सहभागिता रहेको छ । 

सुर्खेत, ५ फागुन