शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

By editor, 26 August, 2019

नारायण अर्याल

भदौ ९, २०७६

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सवारी साधन मर्मतमा निकै ठूलो बेथिति रहेको पाइएको छ । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनका स्वकीय सचिवले प्रयोग गर्ने सवारी साधन मर्मतमा ठूलो परिमाणमा खर्च भएको देखिन्छ । यहाँसम्म कि एउटै गाडी एकै दिनमा दुई पटकसम्म मर्मत गरिएको छ ।

मन्त्री पोखरेलले प्रयोग गर्ने बा२झ ४०३२ नम्बरको मित्सुबिसी गाडी सर्भिसिङ एन्ड डेकोरेसनबापत मन्त्रालयले गत असोज १ गते २ लाख ४८ हजार ९ सय ९५ रुपैयाँ भुक्तानी गरेको छ । 

सोही दिन सोही गाडीमा क्लज, कभर, एसी, क्लज प्लेट, ब्रेक सु, फ्यूल फिल्टर परिवर्तनका नाममा १ लाख ५१ हजार ६ सय ४६ रुपैयाँ भुक्तानी गरिएको छ ।

मन्त्रीले प्रयोग गर्ने सोही सवारी साधन पुनः ०७५ माघ ४ गते विविध मर्मत शीर्षकमा ५२ हजार ५ सय ७८ रुपैयाँको एउटा बिल र विविध मर्मत शीर्षकमा १४ हजार ४ सय ६४ रुपैयाँको अर्को बिल भुक्तानी गरिएको छ ।

१० महिनाको अवधिमा ७ पटक मर्मत गरिएको उक्त गाडीका लागि ८ लाख ११ हजार ७ सय ६ रुपैया खर्च भएको छ ।

 

मन्त्री पोखरेलका स्वकीय सचिव पुष्पराज ढकालले प्रयोग गर्ने बा२झ २४९४ नं. को महिन्द्रा स्कोर्पियोका लागि २०७५ साल चैत १५ गते विविध मर्मत शीर्षकमा ३३ हजार ७ सय ३० रुपैयाँको एउटा बिल र सोही दिन विविध मर्मत शीर्षकमा ३३ हजार ७ सय ५८ रुपैयाँको अर्को बिल स्विकृत गरिएको छ ।

१० महिनाको अवधिमा ८ पटक मर्मत भएको उक्त गाडीका लागि ३ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको छ ।

 

मन्त्रीको स्वकीय सचिवालयमा मात्र ३ वटा गाडी सञ्चालनमा छन् । सचिवालयको प्रयोजनमा रहेका गाडीले १० महिनाको अवधिमा २ हजार ३० लिटर इन्धन खर्च गरेको देखिन्छ ।

मन्त्रालयले पुलमा सञ्चालन हुने भनिएको बा१झ ८३०९ नं. को टक्सन गाडी गत ५ गते विविध मर्मत शीर्षकमा एउटा बिल ५९ हजार २ सय ९१ रुपैयाँ र ३१ हजार १ सय ३१ रुपैयाँको अर्को बिल स्विकृत गरेको छ ।

मन्त्री पोखरेलले चढ्ने एउटै गाडीका लागि १० महिनाको अवधिमा ८ लाखभन्दा बढी खर्च भएको विषयमा मन्त्रालयकी आन्तरिक प्रशासन तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख शान्तादेवी पन्तले अनविज्ञता प्रकट गरिन् । 

उक्त गाडी जाप्निज सहयोग नियोग (जाइका)बाट हस्तान्तरण भई आएको र आफू आउँदा उक्त खर्च भइसकेको उनले बताइन् ।

मन्त्री पोखरेलले प्रयोग गर्ने बा १ झ ८८८९ नं. को गाडी भने मर्मतमा खासै खर्च भएको छैन ।

गृह मन्त्रालयले केही महिनाअगाडि मात्र हस्तान्तरण गरेकोे, कन्डिसन राम्रो भएकाले मर्मत गर्नुनपरेको मन्त्रालय आन्तरिक प्रशाशनका शाखा अधिकृत हिरालाल तण्डुकारले बताए ।

मन्त्री पोखरेलले नै सबैभन्दा बढी इन्धन खर्च खरेको देखिन्छ । गत आवको साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा मात्र मन्त्री पोखरेलले २ हजार ३४० लिटर डिजेल र ७ सय २० लिटर पेट्रोल खर्च गरेका छन् । 

अर्थ मन्त्रालको कार्यसञ्चालन निर्देशिका अनुसार मन्त्रीले प्रतिमहिना २ सय ७ लिटर इन्धन प्रयोग गर्न पाउने व्यवस्था छ, तर शिक्षामन्त्री पोखरेलले प्रतिमहिना सरदर ३ हजार ६० लिटर इन्धन प्रयोग गरेका छन् ।

१० महिनाको अवधिमा मन्त्री पोखरेलले मापदण्डभन्दा ९ सय ९० लिटर इन्धन बढी इन्धन प्रयोेग गरेका छन् । तर, आन्तरिक प्रशासन शाखा प्रमुख पन्त भने मन्त्री पोखरेल राजधानी बाहिर गइराख्नुपरेकाले बढी इन्धन खर्च भएको हुनसक्ने बताउँछिन् ।

बा २ झ २४९५ नं. को महिन्द्रा स्कार्पियो एक सहसचिवले प्रयोग गर्छन् । १० महिनामा उक्त गाडी ४ पटक मर्मत भयो, जसको खर्च २ लाख २१ हजार १६ रुपैयाँ छ ।

मन्त्रालयका अर्का सहसचिले बा२झ २४९७ नं. को गाडीको प्रयोग गरिरहेका छन् । उक्त गाडी १० महिनामा ५ पटक मर्मत गर्दा १ लाख ६ हजार ९ सय ५ रुपैयाँ खर्च भएको छ ।

प्राप्त सूचना अनुसार पुलमा सञ्चालन हुँदै आएको बा१झ ८१५५ नं. को गाडी १० महिनामा ६ पटक मर्मत गर्दा २ लाख ५ हजार ८ सय २३ रुपैयाँ खर्च भएको देखिन्छ ।

१० महिनामा ३६ गाडी मर्मत, ५४ लाख खर्च !

शिक्षा मन्त्रालयमा रहेका सवारी साधनमध्ये १० महिनामा ३६ वटा सवारी साधन मर्मत गरिएको छ । यस अवधिमा मर्मतका लागि कुल ५४ लाख ६४ हजार ३ सय ३३ रुपैयाँ खर्च भएको छ देखिन्छ ।

उक्त अवधिमा मन्त्रालयबाट १८ हजार ३५ लिटर डिजेल र १५ हजार २ सय ५५ लिटर पेट्रोल खर्च भएको छ ।

मन्त्रालयमा हाल ५९ वटा मोटरसाइकल सञ्चालनमा रहेका छन् । मन्त्रालयले मोटरसाइकलहरूलाई भने वार्षिक रूपमा मर्मत शुल्क एकमुष्ठ ५ हजारका दरले उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

 

स्रोत :  लोकान्तर अनलाइन aaaaaaaaaaaaaaaaaa