अजय अनुरागी
साउन १६, २०७६
जनकपुरधाम – २ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरकारी गाडीको चरम दुरुपयोग हुने गरेको पाइएको छ ।
मन्त्री विजयकुमार यादवले डेढ करोड मूल्यको गाडी चढ्छन् भने ‘सौखिन’ सचिवले दिनैपिच्छे फेर्ने गरी ३ वटा महंगो गाडी प्रयोग गरिरहेका छन् । मन्त्रीका सल्लाहकारदेखि उपसचिव तहका कर्मचारीलाई समेत ४ पांग्रे गाडी दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले मन्त्रालयबाट खरिद गरिएको १ करोड ४५ लाख ९७ हजार रुपैयाँको महंगो गाडी चढ्ने गरेका छन् । २०७५ असोज २६ गते मन्त्रालयले खरिद गरेको ज१झ ४४० नम्बरको सफारी स्टोर्म गाडी मन्त्री यादवले चढ्दै आएका छन् ।
राज्यमन्त्री उषाकुमारी यादव पनि मन्त्रीभन्दा कम छैनन् । उनले पनि मन्त्रीले चढ्ने मोडेल र मूल्य बराबरकै गाडी चढ्ने गरेका छन् । ज१झ ४३९ नम्बरको सफारी स्टोर्म राज्यमन्त्री यादवले चढ्ने गरेका छन् । उनले चढ्ने गाडी १ करोड ५५ लाख ९७ हजार रुपैयाँमा मन्त्रालयले २०७५ असोज २६ गते किनेको थियो ।
सचिव चढ्छन् ३ गाडी
मन्त्रालयमा सवारीसाधनमाथि मोजमस्ती कसैले गरिरहेका छन् भने ती हुन् मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ । सचिव श्रेष्ठले मन्त्रालयका ३ वटा ४ पांग्रे गाडी आफूसँग राखेका छन् । पालैपालो फेरेर ३ वटा गाडी चढ्ने गरेका छन् ।
मन्त्रालयको जिन्सी फाँटमा २०७६ असार ३० गते खरिद गरिएको ५५ लाख ६५ हजारको स्कार्पियो गाडी मात्र सचिव श्रेष्ठको नाममा दाखिला गरिएको छ । प्र–२–०२–००१–झ ३४ नम्बरको स्कार्पियो गाडी सचिवलाई दिइएको छ तर उनी त्यसबाहेक अन्य २ वटा गाडी पनि चढ्दै आएका छन् । ज१झ ४४१ नम्बरको टोयटा कार पनि सचिव श्रेष्ठले नै प्रयोग गर्छन् । २०७५ कात्तिक १९ गते मन्त्रालयले ६४ लाख ९० हजार रुपैयाँमा टोयटा गाडी किनेको हो । गाडीलाई उनले त्रिपालले आवासमा छोपेर राखेका छन् । उनले अर्को क्रेटा गाडी पनि चढ्ने गरेका छन् ।
मन्त्रालयका एक जना कर्मचारीले नाम नलेख्ने शर्तमा भने, ‘सचिवज्यू फरक–फरक दिन फरक–फरक गाडी चढ्नुहुन्छ ।’ साउन १३ गते उनको निवासमा स्कार्पियो गाडी र फर्चुनर गाडी छोपेर पार्क गरेर राखिएको थियो भने अर्को गाडी लिएर उनी कार्यालय गएका थिए ।
सचिव श्रेष्ठले आफूले ३ वटा गाडी चढ्नुभन्दा पनि निवासमा ग्यारेज गरेर सुरक्षित राख्न पार्क मात्र गरेको प्रतिक्रिया दिए । ‘३ वटा गाडी मैले आफ्नो मातहतमा राखेपनि मन्त्रालयमा आवश्यक जनशक्ति पूर्ति नभएकाले अन्यलाई दिइएको छैन,’ सचिव श्रेष्ठले भने, ‘त्यसै पार्क मात्र गरेर राख्दा गाडी बिग्रने हुनाले स्टार्ट गर्नका लागि मात्रै केही–केही दिनको अन्तरालमा ड्राइभरले गाडी चलाएर यताउता लैजाने गर्छन् ।’
चालकले गाडी तयारी अवस्थामा राख्नका लागि चलाउँदा कहिलेकाहीँ आफूले चढ्ने गरेपनि मोजमस्ती गर्ने बदनीयत नरहेको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले घुमाउरो तरिकाले आफू ३ वटै गाडी चढ्ने गरेको स्वीकारे ।
‘म आउनुभन्दा अघि नै मन्त्रालयले ज१झ ४४१ नम्बरको गाडी किनिएको थियो । अरुलाई चढ्न दिनुभन्दा पनि मन्त्रालयमा आउने भीआईपी आगन्तुकको लागि गाडी आफ्नो मातहतमा सुरक्षित राखेको छु,’ सचिव श्रेष्ठले भने, ‘बाहिरबाट वा संघ सरकारका भीआईपी व्यक्ति आउँदा उहाँहरूलाई ल्याउन तथा प्रयोग गर्नका लागि गाडी राखेको हो ।’ जिन्सी फाँटको अभिलेखमा दर्ता भएअनुसार टोयटा कार २०७५ कात्तिक १९ गते ६४ लाख ९० हजार रुपैयाँमा मन्त्रालयले खरिद गरेको थियो ।
मन्त्रीका सल्लाहकारलाई पनि ४ पांग्रे गाडी
मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवका आर्थिक सल्लाहकार राजकुमार सिंहलाई ४ पांग्रे गाडी सुविधा दिइएको छ । जिन्सी फाँटका प्रमुख पारसमणि साहका अनुसार सल्लाहकार सिंहले बा२झ २४०२ नम्बरको टाटा सफारी चढिरहेका छन् । २०७५ फागुन २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हस्तान्तरण भई आएको गाडी सल्लाहकार सिंहले प्रयोग गरिरहेका छन् ।
गाडी सुविधाबारे सल्लाहकार सिंहसँग बुझ्दा उनले आफूले कुनै पनि गाडी सुविधा नपाएको जिकिर गरे तर मन्त्रालयको अभिलेखमा गाडी बुझेको उल्लेख भएको बताएपनि उनले गाडी लिएको स्वीकारे । ‘मैले पुरानो गाडी पाएको छु, त्यो पनि आफैंले चलाउने गरेको छु,’ सल्लाहकार सिंहले भने, ‘मन्त्रालयमा रहेको थोत्रो, पुरानो गाडी मैले पाएको छु ।’
मन्त्रालयका सचिव श्रेष्ठले सल्लाहकारलाई दिइएको सुविधाबारे भने, ‘म आउनुभन्दा अघिदेखि नै उहाँले गाडी सुविधा पाइरहनुभएको थियो । बरु म आफैं गाडी चलाउँछु भनेपछि मन्त्रीज्यूको निर्देशन अनुसार उहाँका सल्लाहकारलाई गाडी दिइएको हो ।’
२०७६ जेठ १० गते प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाट सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । सहायक मन्त्री स्तरको सेवासुविधा पाउने गरी नियुक्त गरिएको दाबी गरेपनि काम, कर्तव्य र अधिकारबारे स्पष्ट नभएको सिंहले बताए । मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक पाउने भनिएपनि हालसम्म भुक्तानी भने नपाएको उनले बताए ।
सिरहाका सिंह समाजवादी पार्टी नेपालका नेता हुन् । मन्त्री यादव पनि सिरहा जिल्लाकै हुन् । ४६ वर्षीय सिंह समाजवादी पार्टी नेपालको सिरहा जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय लेखा परीक्षण समितिका सदस्य समेत भइसकेका छन् ।
‘पार्टीमा लामो समयदेखि लागेकाले पार्टी अध्यक्ष उपेन्द्र यादवले आर्थिक मन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्,’ सल्लाहकार सिंहले भने, ‘यसअघि १४ महिना मन्त्रीको स्वयंसेवी सल्लाहकारको रुपमा निःशुल्क काम गरेको प्रतिफल स्वरूप पाइएको हो ।’
उनले कर्नाटकको विनायक विश्वविद्यालय अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताए । ‘योजना छनोटदेखि बजेट निर्माण लगायत विभिन्न आर्थिक विषयमा मन्त्रीज्यूलाई सल्लाह दिने काम गर्दै आएको छु,’ सिंहले भने ।
राज्यमन्त्रीका निजी सचिवालयलाई पनि गाडी
राज्यमन्त्री उषाकुमारी यादवको निजी सचिवालयलाई पनि मन्त्रालयले ४ पांग्रे गाडी उपलब्ध गराएको छ । बा२झ ९०३ नम्बरको टाटा सफारी राज्यमन्त्रीको निजी सचिवालयलाई दिइएको छ । उपसचिव तहका निजी सचिवलाई पहिलेदेखि नै गाडी दिने गरिएको सचिव श्रेष्ठको प्रतिक्रिया छ ।
उपसचिवलाई पनि गाडी
बजेट, योजना र वित्त व्यवस्थापन महाशाखाका उपसचिव अर्जुनकुमार न्यौपानेलाई पनि ४ पांग्रे गाडी सुविधा प्रदान गरिएको छ । २०७६ असार २६ गते ५९ लाख ४६ हजार रुपैयाँमा किनिएको प्र–२–०२–००१ झ२९ नम्बरको क्रेटा गाडी उपसचिव न्यौपानेले चढिरहेका छन् । सोही दिन किनिएको सोही मोडेलको सोही मूल्यको प्र–२–०२–००१झ ३० नम्बरको अर्को क्रेटा गाडी पनि प्रशासन र लेखा समूहको उपसचिवलाई दिइएको छ ।
संघीय सरकारले सहसचिवभन्दा मुनिका कर्मचारीलाई ४ पांग्रे गाडी दिने व्यवस्था छैन तर प्रदेशमा उपसचिवलाई पनि ४ पांग्रे दिने गरिएको छ । संघमा सहसचिव स्तरका कर्मचारी महाशाखा प्रमुख, महानिर्देशक हुने तर प्रदेशमा उपसचिव स्तरका कर्मचारी नै महाशाखा प्रमुख हुने भएकाले ४ पांग्रे गाडी दिइएको सचिव श्रेष्ठले जिकिर गरे । यद्यपि कुन तहका कर्मचारीले प्रदेशमा ४ पांग्रे गाडी चढ्न पाउने भन्नेबारे कार्यविधि नबनेकाले पनि समस्या भएको उनले बताए ।
संघ सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट हस्तान्तरण भई आएको टाटा पिकअप पुलमा राखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हस्तान्तरण भएको बा१झ ७६१८ नम्बरको गाडी बिग्रेको अवस्थामा रहेको जिन्सी फाँट प्रमुख साहले बताए ।
मन्त्रीका स्वकीय सचिवदेखि कर्मचारीलाई मोटरसाइकल
२०७५ असार १८ गते मन्त्रालयले १४ लाख ५७ हजार ३ सय ९४ रुपैयाँमा खरिद गरेका ६ वटा मोटरसाइकल कर्मचारीले प्रयोग गरिरहेका छन् । १५० सीसीको पल्सर मन्त्री यादवका स्वकीय सचिव सुरेन्द्र यादव, शाखा अधिकृत रामकृष्ण गुप्ता, राजेशकुमार दत्त, नरेश साह, ज्ञानेन्द्रबहादुर राई र लेखा अधिकृत विजयकुमार चौधरीले चढिरहेका छन् । कार्यालय सहयोगी सुरज मेस्तर र करण मेस्तरलाई साइकल दिइएको छ ।
स्रोत : लोकान्तर अनलाइन