समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

By editor, 17 July, 2019

असार ३१, २०७६

काठमाडौं–विद्युत् प्राधिकरणका ४ वटा गाडी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, उनको सचिवालय र ऊर्जा सचिवले प्रयोग गर्ने गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि त्यसमध्ये ३ वटा गाडी फिर्ता भएको पाइएको छ ।

विद्युत् प्राधिकरणले गत चैतमा लोकान्तरलाई उपलब्ध गराएको सूचनामा बा१३च ५७९३ र बा१ञ २४५२ नम्बरको प्राडो तथा बा२०च ४१५ र बा२०च ४१४ नम्बरका इलेक्ट्रिक कारमध्ये एउटा गाडी मन्त्री वर्षमान पुन अनन्त, २ वटा उनको सचिवालय र अर्को एउटा ऊर्जा सचिव दिनेश घिमिरेले चढ्दै आएको उल्लेख थियो ।aaaa

यसमध्ये ऊर्जा मन्त्रीले चढ्दै आएको एउटा इलेक्ट्रिक कारलाई छाडेर प्राधिकरणका सबै गाडी फिर्ता भइसकेको मन्त्रालयका आन्तरिक प्रशासन शाखा प्रमुख नरबहादुर बूढाले लोकान्तरलाई जानकारी दिए ।

यता विद्युत् प्राधिकरणका सह–निर्देशक मोतिलाल महताराले मन्त्रालयमा गएकामध्ये २ वटा गाडी फिर्ता भएको पुष्टि गरे । बा२०च ४१४ नम्बरको इलेक्ट्रिक कार र बा१ञ २४५२ नम्बरको प्राडो फिर्ता भइसकेको उनले बताए ।

५७९३ नम्बरको गाडी भने हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरिरहेको पाइएको छ । मुख्यमन्त्री शाही पूर्व ऊर्जामन्त्री समेत हुन् । 

मन्त्रालयका आन्तरिक प्रशासन शाखा प्रमुख बूढाले मन्त्रीसँग अहिले विद्युत् प्राधिकरणको इलेक्ट्रिक कार र कारगेडका लागि गृहमन्त्रालयले उपलब्ध गराएको गाडी मात्र रहेको बताए ।

'मन्त्रीज्यूले विद्युत् प्राधिकरणको इलेक्ट्रिक कार चढ्ने गर्नुभएको छ,' बूढाले भने, 'राजधानीबाहिर जानुपर्दा सम्बन्धित योजनाहरूको गाडी मागेर प्रयोग गर्नुहुन्छ ।'

मन्त्रीका निजी सचिव कमानसिं थापा मगरले बा२झ १३७७ र स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बा२झ ९५ नम्बरको गाडी चढ्ने गरेको उनको भनाइ छ ।

स्रोत : लोकान्तर अनलाइन