सफलताको कथा : सूचना मागपछि फेला प¥यो फाइल

By editor, 4 July, 2019

 

विनाशकारी भूकम्पका बेला कार्यालय ध्वस्त भई नष्ट भएको भनि अदालतलाई औपचारिक जानकारी गराइएको एउटा नागरिकको जग्गासम्बन्धी कागजात र प्रमाणहरू रहेको फाइल सूचना मागपछि सजिलै फेला परेको छ ।

एउटा मुद्दाका सन्दर्भमा जिल्ला अदालत सिन्धुपाल्चोक चौताराले तीन पटक आदेश गरी माग गरेको सक्कल फाइल जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकले २०७२ सालको भूकम्पले कार्यालयको भवनसहित ती फाइलहरू नष्ट भएको भन्दै अदालतलाई पत्राचार गरेको थियो । तारानाथ दाहालले मिति २०७५ साल भदौ १२ मा जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोमा भूकम्पका कारण कार्यालय भवन र कार्यालयमा रहेका फाइलहरू के कति नष्ट भएको थियो सोको सम्पूर्ण विवरण माग गरेपछि भने कार्यालयले अदालतलाई ढाँट्दै आएको तथ्य खुल्न बाध्य भयो ।

दाहालले जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोक तथा जिल्ला पुनः निर्माण प्रधिकरणको कार्यलय सिन्धुपाल्चोकसँग माग गरेपछि यस अगाडि तीन पटक जिल्ला अदालतलाई ढाँट्दै आएको मालपोत कार्यालयले सक्कल फाइल भेटिएको भनी सो फाइल अदालतमा पठायो ।

२०४१ सालमा तत्कालीन सिन्धुपाल्चोक जिल्ला शिखपुर गाविस वडा नंं ३ स्थित आफूले भोगचलन गर्दै आएको खेत आफ्नै नाममा नापी भएको तर, लालपूर्जा भने हालसम्म नपाएकाले अहिले उक्त जग्गाको लागपूर्जाको माग गर्दै साविक शिखपुर–४ बस्ने इन्द्रमणि दाहालले जिल्ला अदालतमा मालपोत कार्यालय र नापी कार्यालय चौताराविरुद्ध मुद्दा दर्ता गर्नुभएको छ । 

सो मुद्दा दर्ता गर्नु अगाडि नै मालपोत कार्यालयबाट आफ्ना कागजातको प्रमाणित प्रतिलिपि लिनुभएको पनि थियो । दाहालले सोही कागजात प्रमाणका आधारमा मुद्दा हाल्नुभएकोमा सुनुवाइका क्रममा आदालतले सो प्रमाणहरू रहेको सक्कल फाइल मालपोत कार्यालयलाई पेश गर्न पत्राचार गरेको थियो । तर, ती मालपोतले अदालतलाई ढाँटछल गर्दै ती कागजात रहेको सक्कल फाइल नपठाएकाले पीडितले न्याय पाउन नसकी आफ्नो सम्पत्तिबाट वञ्चित हुनुपरिरहेको छ । तर, अहिले सूचनाको हकले मालपोत कार्यालयले ढाँटको पुष्टि भएको छ । र मासियो भनेको सक्कल फाइल अब अदालतको न्यायिक कारबाहीका लागि प्रमाणका रुपमा उपलब्ध भएको छ । 
–––