नारायण अर्याल
असार १६, २०७६
काठमाडौं – पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीसम्मका विशिष्ट व्यक्तिले गृह मन्त्रालयको गाडी चढिरहेको पाइएको छ । गृहका ७ वटा गाडी पूर्व विशिष्टहरूले प्रयोग गरिरहेका छन् ।
पूर्व पदाधिकारीका नाममा सांसद र शरणार्थी नेताले पनि गृहको गाडी चढ्दै आएका छन् ।
गृह मन्त्रालयले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा पूर्व पदाधिकारीको नाममा ७ वटा गाडी सञ्चालनमा रहेको देखिन्छ ।
केही पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीहरूले लिएका गाडी भने चर्को विरोधपछि फिर्ता गरिसकेका छन् । गृहमन्त्री बनेर आउने नयाँ गाडी किन्ने र आफैं लैजाने गलत प्रवृत्ति मौलाएको थियो । नागरिक स्तरमा विरोध भएपछि उनीहरूले गाडी फिर्ता गरेका थिए । अहिले गृह मन्त्रालयका ७ वटा गाडी पूर्व पदाधिकारीको नाममा प्रयोग भइरहेका छन् ।
नेपालमा आउने विदेशी पाहुना, प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री काठमाडौं आएको समयमा उनीहरूको प्रयोजनका लागि गृहले गाडी छुट्याएको छ ।
भुटानी शरणार्थीसम्मलाई गृहको गाडी
पूर्व राष्ट्रपति र ३ जना पूर्व प्रधानमन्त्रीले गृहका गाडी प्रयोग गरिरहेका छन् ।
गृहले पूर्व प्रधामनन्त्री झलनाथ खनाललाई बा२झ ८६ नम्बरको स्कोर्पिओ जीप उपलब्ध गराएको छ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बा२झ ११३ नम्बरको स्कोर्पिओ जीप लिएका छन् ।
बा१झ ८१२२ नम्बरको इसुजु जीप नेपालमा रहेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले चढ्दै आएका छन् । बा१झ ६४९८ नम्बरको इजुसु जीप पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले चढ्दै आएका छन् ।
शरणार्थी नेता रिजाल कुन अर्थमा पूर्व पदाधिकारी भन्ने कुरा भने गृहले खुलाएको छैन ।
२०७५ चैत महिनासम्म नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गृह मन्त्रालयको गाडी चढ्दै आएका थिए । बा२झ ८५ नम्बरको स्कोर्पिओ जीप अमरेशले चढ्दै आएको गृह मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले गृह मन्त्रालयका २ वटा गाडी प्रयोग गर्दै आइरहेका छन् । बा१झ १०६५ नम्बरको निशान र बा२झ ३७८५ नम्बरको टाटा पीकअप पूर्व राष्ट्रपतिको प्रयोजनमा छुट्याइएको छ ।
पूर्व प्रधानमन्त्री एवं हाल सदनमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद सचिवालयबाट गाडी र इन्धन सुविधा लिइरहेका छन् ।
सुरक्षा सल्लाहकारलाई २ सय ४० लिटर इन्धन !
गृह मन्त्रालयले उपलब्ध गराएको विवरणमा सुरक्षा सल्लाहकारले २ सय ४० लिटर डिजेल र ५० लिटर पेट्रोल सुविधा लिने गरेको देखिन्छ । सल्लाहकारले समेत १ सय ४० लिटर इन्धन सुविधा लिइरहेका छन् ।
गृह मन्त्रालयले सचिवको लागि १ सय ४० लिटर डिजेल र ५० लिटर पेट्रोलको कोटा छुट्याइएको छ । सहसचिवका लागि १ सय ५ लिटर पेट्रोल तथा उपसचिवका लागि ६० लिटर डिजेल उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालय र सरकारी कार्यालयका लागि जारी गरेको कार्य सञ्चालन निर्देशिका अनुसार भने सचिवले १ सय र सहसचिवले ७० लिटर इन्धन पाउनुपर्ने हो । शाखा अधिकृत र अन्य कर्मचारीको लागि मासिक ८ लिटर पेट्रोल उपलब्ध गराउने गरिएको छ ।
मन्त्रालयमा रहेका ७६ मध्ये ६५ गाडी मात्र चालू अवस्थामा छन् । मन्त्रालयमा रहेका ७४ मध्ये ७२ वटा मोटसाइकल चालू अवस्थामा छन् ।
स्रोत : लोकान्तर अनलाइन
