सुशील पन्त
असार ६, २०७६
काठमाडौं –सरकारी संस्थानमध्ये निरन्तर घाटामा गएको नेपाल वायु सेवा निगमका उच्च तहका अधिकारीहरूले असीमित मात्रामा इन्धन सुविधा लिने गरेको पाइएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेल लगायत १३ जनाले असीमित इन्धन सुविधा लिने गरेको खुलेको हो ।
निगमले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा अध्यक्ष मदन खरेल, डेपुटी एमडी गणेशबहादुर चन्द, विज्ञ राजुबहादुर केसी र निर्देशक प्रभास कर्माचार्यले असीमित इन्धन सुविधा पाउने गरेका छन् । अध्यक्ष खरेलले बा१ञ २४४८ नम्बरको एसयूभी जीप चढ्ने गरेका छन् ।
भर्खरै अवकाश पाएका कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले पनि असीमित इन्धन सुविधा लिने गरेका थिए । असमिति सुविधा पाउनेमा वित्त विभागका निर्देशक युवराज अधिकारी, मानव संशाधन विभागका निर्देशक अशोक सिग्देल र निमित्त निर्देशक जीवनकुमार भट्टराई पनि छन् ।
अमृतमान श्रेष्ठ, आरपी श्रेष्ठ, कर्पोरेट निर्देशक कृष्णगोपाल जोशी, करणबहादुर थापा, बिक्रम केसी, डोलेश्वर कोइराला, आरके शेरचन र जनकराज कालाखेतीले पनि असमिति इन्धन सुविधा लिइरहेका छन् ।
निर्देशक टंकनिधि दाहाल, रवीन्द्र श्रेष्ठ र उमेश पौडेलले पनि इन्धनवापत असीमित सुविधा पाएका छन् ।
निगमका ट्रन्पोटेसन इञ्चार्ज सुरेन्द्र चित्रकारले गाडीको हर्सपावर अनुसार इन्धन सुविधा उपलब्ध गराउने गरेको बताए ।
आफ्नै गाडी हुने कसैलाई ६० लिटर कसैलाई ३० लिटर इन्धन
आफ्नै सवारी साधन हुने निर्देशक तहका कर्मचारीलाई मासिक ६० लिटर इन्धन सुविधा उपलब्ध गराउने गरेको देखिन्छ । गाडी हुने कर्मचारीले ६० र मोटर साइकल हुने कर्मचारीले ३० लिटर इन्धन सुविधा लिएका छन् ।
क्यप्टेन विजय लामा, गोपालसिंह विष्ट, प्रशान्त जंगबहादुर राणा तथा एसके डेभाजु लगायतका क्याप्टेनले आफ्नै गाडी प्रयोग गर्ने गरेका छन् ।
मोटर साइकल सुविधा लिएका कर्मचारीमध्येपनि कसैले १५ र कसैले १० लिटर इन्धन प्राप्त गर्ने गरेको निगमले उपलब् ध गराएको विवरणमा देखिन्छ ।
एउटै नम्बरका दुई गाडी !
निगमले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा एउटै नम्बरका २ गाडी देखिएको छ । अध्यक्ष खरेलले चढ्ने बा १ ञ २४४८ नम्बरको एसयुभी जीप र कारको नम्बर एउटै छ । (हेर्नुहोस सूचीको क्रम संख्या १ र ४५) दुईवटै गाडीको एउटै मूल्य छ ।
निगमको स्वामित्वमा ५७ वटा कार, जीप र भ्यान रहेको देखिन्छ भने १८ वटा मोटरसाइकल छन् । निगमका ९ वटा गाडीमा रातो प्लेट जडान गरिएको छ ।
