सूचना रोकतोक विधेयक

By editor, 17 June, 2019

 

सम्पादकीय

असार २, २०७६

सरकारले आफ्ना आलोचकलाई सजिलै जेल पुर्‍याउन सक्ने गरी ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्न लाग्नु खतराको सूचक हो । विधेयकका प्रावधानबारे विशेषगरी सामाजिक सञ्जालमा आलोचना भयो, सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराए । संसदीय उपसमितिले आपत्तिजनक प्रावधानहरू सुधार्न आवश्यक ठानेन ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रावधान होस् कि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक, वेबहोस्टिङ कम्पनीलाई व्यवसाय गर्न कठिन तुल्याउने, जस्ताका तस्तै छन् ।
विधेयक पारित भए इन्टरनेट प्रयोगकर्ताको गल्तीमा सेवा प्रदायक पनि जेल पुग्न सक्छन् । गालीगलौजकै भरमा सामाजिक सञ्जाल प्रयोगकर्ता थुनिन सक्छन् । मुलुकी अपराध संहिताले गाली र बेइज्जतीलाई परिभाषित गर्दै सजायको व्यवस्था गर्दा यो विधेयक भने मौन छ ।
प्रचलित कानुनले समेटेको विषयलाई झन् कडा प्रावधानसहित यो विधेयकमा राख्दा अभिव्यक्ति स्वतन्त्रताको यात्रा खुम्चिने निश्चित छ । गत वर्षदेखि लागू मुलुकी अपराध संहितामा कसैलाई गाली र बेइज्जती गरे दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना व्यवस्था छ । त्यससँग नमिल्ने गरी सूचना तथा सञ्चार प्रविधि विधेयकमा अरूलाई होच्याएमा वा जिस्क्याएमा ५ वर्षसम्म कैद र १० लाखको प्रावधान छ ।
सूचना प्रविधि विधेयक भनिए पनि यसमा सूचना र प्रविधि क्षेत्रलाई नियमन र व्यवस्थित गर्ने प्रावधान छैनन् । यो इन्टरनेट र सामाजिक सञ्जालमा सम्प्रेषण हुने सामग्रीमा बढी केन्द्रित छ । सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआए सरकारले जुनसुकै बेला बन्द गर्न सक्ने प्रावधान छ । उनीहरूको हिसाबमा नेपालबाट धेरै आम्दानी नहुने भएकाले दर्ता हुन नआउन पनि सक्छन् । यस्तो प्रावधान राखिँदा चर्को आलोचना खेपेका बखत सरकारका लागि सामाजिक सञ्जाल बन्द गर्ने विकल्प खुला रहन्छ ।
विधेयकले सरकारलाई इन्टरनेट, सामाजिक सञ्जाल र यसमा सम्प्रेषण हुने सामग्री नियन्त्रण गर्न व्यापक अधिकार दिएको छ । सरकारले गल्ती गरे सच्याउन सक्ने अदालतको भूमिका कटौती गरिएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित आफूलाई अनुपयुक्त लागेका सामग्री हटाउन सूचना प्रविधि विभागले सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा छ । प्रश्न उठ्छ, सरकारी विभागलाई अनुपयुक्त लागेको सबै सामग्री हटाउनुपर्ने भए सरकारका आलोचना गरिएका सामग्री के बाँकी रहलान् ?
विभागमा सरकारी अधिकारी कोप्रति उत्तरदायी होलान्– संविधान र विधिको शासनप्रति कि शासकहरूप्रति ? त्यस्तै, सरकारले छानेका सदस्यहरू सूचना तथा प्रविधि अदालतले पनि कस्तो ‘न्याय’ प्रदान गर्ला ? लोकतन्त्रले संकट झेल्दा यी सवाल अझ अहम् बन्छन् ।
इन्टरनेटमार्फत सम्प्रेषित सामग्री नियन्त्रण गर्न अर्को औजार प्रयोग गर्न खोजिएको छ । त्यस्ता सामग्री कानुनविपरीत भए मध्यस्थता गर्ने कम्पनीलाई पनि जिम्मेवार बनाउने व्यवस्था छ । कुनै कम्पनीमा वेबसाइट होस्ट गरेर वा कुनै सेवा प्रदायकको इन्टरनेट सेवा प्रयोग गरेर कसैले इन्टरनेट प्रयोगमार्फत कानुनविपरीत काम गरे ती सेवा प्रदायक पनि जिम्मेवार ठहरिने प्रावधान छ । सुरुमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउने व्यवस्था मात्र प्रस्तावित थियो । उपसमितिले दिएको राय भने सेवा प्रदायकलाई जेलमा पुर्‍याउनेसम्म छ ।
एउटा इन्टरनेट सेवा प्रदायकका हजारौं उपभोक्ता हुन्छन् । यो प्रावधानले सेवा प्रदायकलाई आफ्ना उपभोक्ताको इन्टरनेट गतिविधि निगरानी गर्न बाध्य पार्छ, आफूलाई पनि कानुन लाग्ने भएपछि ।

आफ्ना उपभोक्ताले गैरकानुनी काम गरेको शंका लागेकै भरमा उनीहरूले त्यसलाई बन्द गर्न सक्नेछन् वा त्यसविरुद्ध उजुरी दिनेछन् । कुनै निजी कम्पनीले आफ्ना उपभोक्ताको निगरानी गर्नु संविधानले दिएको गोपनीयताको हकविरुद्ध हुनेछ । आलोचनात्मक चेत राख्ने नागरिक, पत्रकार, पेसाकर्मी, कलाकार, राजनीतिज्ञ सबैले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनेछ ।

स्रोत :  कान्तिपुर दैनिक