सूचनको मागेकै कारण विरगंजका भ्रष्टाचार विरोधी अभियानकर्ता विराज यादवमाथि निर्घात कुटपिट गरिएको छ ।
यादवले आफ्नो टोलको बाटोको विषयमा विरगंज उपमहानगरपालिका वडा नं. ३ मा सूचनाको हक प्रयोग गरी लागत अनुमान फारमको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।
यादवले जेठ २७ गते सोमवार वडा कार्यालय पुगेर सूचनाको निवेदन दिँदा वडा कार्यालयले आफुले माग गरेको सूचनाको निवेदन दर्ता गर्न नमानेपछि उनले हुलाकबाट निवेदन दर्ता गराउने भन्दै घर फर्किए थिए ।
जेठ २८ गते मंगलवार बिहान १०ः३० बजेको समयमा सोही वडाका वडाध्यक्ष बैजुलाल स्वर्णकार सहितको नेतृत्वमा आएको जबाहर मिया ठकुराय, जियाबुल हक, शहिममिया ठकुराय सहितका व्यतिmहरुले यादवको घर नजिकै गएर निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट यादव घाईते भएका छन् ।
यादवको मोबाईल समेत फुटेको छ । सोही घटनालाई लिएर मिलापत्र गराई दिने बहानामा मानसिक यातना समेत दिने तथा धम्की दिने गरेको यादव बताउँछन् ।
उक्त घटनालाई लिएर उजुरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले शुरुमा उजुरी दर्ता समेत गर्न मानेको थिएन । पीडितको दवावपछि प्रहरीले पछि उजुरी दर्ता गरेको थियो ।
प्रहरीले सोही घटनामा संलग्न भएको भन्दै समिम अली अन्सारीलाई पक्राउ गरेको छ भने अन्यको खोजी भईरहेको जानकारी दिएको छ ।