इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

By editor, 10 June, 2019

aaa

 नारायण अर्याल

जेठ २७, २०७६

काठमाडौं – भ्रष्टाचार नगर्ने र भ्रष्ट कर्मचारीप्रति निर्मम बन्ने छवी बनेको छ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको तर मितव्ययी र पारदर्शी भनेर चिनिने मन्त्री यादवले मन्त्रालय र संस्थानका गाडीमा भने रजाइ गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ३ वटा गाडी लिएका छन् मन्त्री यादवले । मन्त्रालयले लोकान्तर डटकमलाई उपलव्ध गराएको विवरणमा बा२झ १०७३ नम्बरको सोनाटा कार, बा२झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा२ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको विवरणले देखाउँछ ।

यसबाहेक मन्त्री यादवका सल्लाहकारको नाममा पनि एउटा गाडी छुट्ट्याइएको छ । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।

३ वटा गाडीले नपुगेर मन्त्री यादवले नेपाल आयल निगमको बा१ञ २१३७ नम्बरको टाटा स्ट्रोम जीप प्रयोग गरिरहेका छन् । निगमले लोकान्तरलाई उपलव्ध गराएको विवरणमा जीप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयलाई उपलव्ध गराइएको उल्लेख छ ।

मन्त्रीको सचिवालयमा गएको गाडी २०७३ असोजमा ५५ लाख २८ हजारमा किनिएको हो । मन्त्रीको सचिवालयले प्रयोग गर्ने जीपको इन्धन पनि निगमले उपलव्ध गराउँछ ।

इन्धनमा कर्मचारीको हालीमुहाली !

निगमका कर्मचारीले अन्य सरकारी निकायका कर्मचारीभन्दा धेरै इन्धन सुविधा लिएका छन् । एउटै मोडलका गाडी र एउटै तहका कर्मचारीले लिने इन्धनको परिमाण फरक–फरक छ ।

बा१ञ २१९३ नम्बरको फोर्ड गाडी चढ्ने आपूर्ति तथा वितरण विभागका निर्देशकले मासिक २ सय ४६ लिटर इन्धन लिने गरेका छन् । बा१ञ २१९० नम्बरको सोही मोडलको गाडी चढ्ने अर्का निर्देशकले मासिक १ सय २० लिटर इन्धन पाउछन् । 

निगमले बाड्ने इन्धनको काटोमा एकरुपता छैन । नायक कार्यकारी निर्देशकले मासिक १ सय ४० लिटर इन्धन लिइरहेका छन् । एलपीजी तथा एभिएसन निर्देशकले मासिक १ सय ८४ लिटर इन्धन लिइरहेका छन् ।

मोटरसाइकल प्रयोगकर्ता कर्मचारीलाई दिइने मासिक इन्धनमा पनि एकरुपता छैन । बा१म १९६९ नम्बरको मोटरसाइकल प्रयोग गर्ने कार्यालय सहयोगीले मासिक २० लिटर इन्धन लिने गरेको निगमले लोकान्तरलाई उपलव्ध गराएको विवरणमा उल्लेख छ । बा१म २१६२ नम्बरको स्कुटर चढ्ने उपप्रबन्धकले मासिन १० लिटर मात्र इन्धन पाएको देखिन्छ ।

२ पाङ्ग्रे चढ्ने अधिकाशंले मासिक १५ लिटर इन्धन पाउने गरेका छन् । अर्थ मन्त्रालयले मोटरसाइकल प्रयोग गर्ने कर्मचारीलाई मासिक १० लिटर इन्धन उपलव्ध गराउने निर्देशिका जारी गरेको थियो । उपनिर्देशक (नवौं तह) का कर्मचारीलाई कार्यालय आउन र जानको लागि पीकअपको व्यवस्था गरिएको छ ।

कर्मचारी नेतालाई हाइलक्स गाडी !

निमगमा रहेका २६ वटा गाडीमध्ये ४ वटा लिलाममा राखिएको छ । चालू अवस्थामा रहेका २२ वटा गाडीमध्ये ७ वटा पुलमा छन् । ती गाडी कार्यालयको दैनिक काममा प्रयोग हुने निगमले दिएको विवरणमा उल्लेख छ । १९ वटा मोटरसाइकलमध्ये एउटा काम नलाग्ने अवस्थामा छ ।

नेपाल आयल निगम कर्मचारी संघबाट निगमको आमन्त्रित सञ्चालक समिति सदस्यले हाइलक्स गाडी चढ्छन् । बा१ञ १०६९ नम्बरको गाडीलाई गुडे अनुसारको इन्धन दिइने गरेको छ । निगमका कार्यकारी निर्देशकपछि गाडी गुडे अनुसार इन्धन पाउने उनी मात्र हुन् ।

निगमका कार्यकारी निर्देशक सवा करोडको टोयटा र्‍याभ ४ गाडी चढ्छन् । बा१ञ २१४४ नम्बरको गाडी १ करोड २४ लाखमा किनिएको हो । उनले पनि गाडी गुडे अनुसार इन्धन पाइने गरेका छन् ।

 

स्रोत :  लोकान्तर अनलाइन