सुशील पन्त
जेठ २३, २०७६
काठमाडौं – राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएका २० वर्ष पुराना गाडी चढ्ने गरेको पाइएको छ । सार्क शिखर सम्मेलनका लागि खरिद गरिएका मर्सिडिज बुलेट प्रूफ गाडी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले प्रयोग गरिरहेका छन् ।
२०५५ साल माघ ८ गते किनिएका गाडी अहिले पनि चालु अवस्थामा छन् । बा १ झ ५४५७ नम्बरको मर्सिडिज बुलेट प्रूफ राष्ट्रपतिको कार्यालयमा चालू अवस्थामा रहेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सार्क शिखर सम्मेलनका लागि किनिएको बा १ झ ५४५६ नम्बरको मर्सिडिज बुलेट प्रूफ प्रधानमन्त्री कार्यालयमा चालू अवस्थामा छ । कतार सरकारले २०७३ साल असार १३ गते उपहार दिएको बा२झ १९३६ नम्बरको मर्सिडिज बेञ्च कार पनि प्रधानमन्त्री कार्यालयमा छ ।
बिग्रेको गाडी प्रदेशलाई उपहार !
परराष्ट्रले आफ्नो स्वामित्वमा रहेको बिग्रेको गाडी प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको छ । २०५५ साल माघ १० गते किनिएको बा १ झ ५४५९ नम्बरको बेञ्च कार प्रदेशमा हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
सोही मितिमा खरिद गरिएको बा १ झ ५४६९ नम्बरको निसान कार प्रदेश १ मा हस्तान्तरण भइसकेको छ । सो कार मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
२०५६ सालमा किनिएको र हाल प्रयोगमा नरहेको बा १ झ ५६४८ नम्बरको हुन्डाइ कार शिक्षा विज्ञान प्रविधि मन्त्रालयमार्फत् महाकवि देवकोटा माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।
मन्त्रालयमा रहेका ५८ वटा कार र जीपमध्ये १५ वटा गाडी चालू अवस्थामा छैनन् । २०५५ सालमा किनिएका गाडी चालू अवस्थामा रहेपनि २०७१ सालमा किनिएको बा२झ ८८२ नम्बरको बोलेरो जीप बिग्रिएकाले मर्मत गर्नुपर्ने अवस्थामा छ । २०६५ सालमा किनिएको हुण्डाई इनात्रा पनि मर्मत र्गुपर्ने अवस्थामा पुगेको छ ।
मन्त्री चढ्ने गाडी कतार सरकारको उपहार
मन्त्रालयमा रहेका ९ वटा गाडी कतार सरकारले उपलव्ध गराएको विवरणमा उल्लेख छ । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार कतार सरकारले दिएका बा२झ १९३३ नम्बरको मर्सिडिज बेञ्ज जीप र बा२झ १९३४ नम्बरको मर्सिडिज बेञ्च कार मन्त्री प्रदीप ज्ञवालीले चढ्ने गरेका छन् ।
मन्त्रीको स्वकीय सचिवालयका लागि कोरियन सरकारबाट सहयोग स्वरूप प्राप्त भएको बा१झ ८२३३ नम्बरको हुण्डाई सान्ताफे गाडी प्रयोग भइरहेको छ । यस्तै बा २ झ ८८४ नम्बरको फोर्ड सेडान कार मन्त्रीको निजी सचिवालयले प्रयोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको लिखित विवरणमा उल्लेख छ ।
कतार सरकारले उपलब्ध गराएका एक–एकवटा मर्सिडिज बेञ्च गृह मन्त्रालय र रक्षा मन्त्रालयले प्रयोग गरेका छन् । कतार सरकारले उपलब्ध गराएका ४ वटा मर्सिडिज बेञ्च नेपाल आउने विदेशी पाहुनाका लागि प्रयोग हुने गरेका छन् ।
कोरिया सरकारबाट सहयोग स्वरूप प्राप्त भएको बा १ झ ८२३४ नम्बरको हुन्डाइ सान्ताफे सहसचिव भरतराज पौड्यालले प्रयोग गर्दै आएका छन् ।
चीनले दिएको अधिकांश गाडी बेकामे !
मित्र राष्ट्र चीन सरकारले २०५५, २०६१ र २०७५ सालमा गरी ८ वटा गाडी उपलब्ध गराएको थियो । चीनले दिएका ८ मध्ये दुईवटा गाडी मात्र चालु अवस्थामा छ भने अन्य ६ वटा गाडी चालू अवस्थामा छैनन् ।
२०७५ चैत ३ गते बा१ग ३५४३ नम्बरको हाइगर मन्त्रालयको प्रयोगमा रहेको छ । बा१झ ६९१९ नम्बरको किया भ्यान स्टाफ बाहनको रूपमा प्रयोग भइरहेको छ । २०६१ सालमा चीन सरकारले दिएको किया भ्यान मर्मत गर्न धेरै खर्च लाग्ने भन्दै गृह मन्त्रालयको ग्यारेजमा थन्क्याइएको छ ।
चीनले २०५५ सालमा दिएको बा१झ ५४८१ र बा १ झ ५४८३ नम्बरको मित्सुविसी चालू अवस्थामा नरहेको मन्त्रालयले जनाएको छ । बा१झ ५४६९ नम्बरको निसान कार मर्मत गर्नुपर्ने अवस्थामा प्रदेश १ मा हस्तान्तरण प्रक्रियामा छ ।
बा१झ ३०४१ नम्बरको हुण्डाई प्रिमा र बा१झ ४५३४ नम्बरको इलाटा कार चालू हालतमा नरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
स्रोत : लोकान्तर अनलाइन
