सूचना मागमार्फत कामै नगरी भुक्तानी लिने ठेकेदारको विवरण र भुक्तानी विवरणको खुलासा भएपछि पश्चिमाञ्चल सडक डिभिजन कार्यालय सचते बनेको छ ।
सडकको पुलपुलेसा मर्मतका नाममा आउने बजेट, कर्मचारी र ठेकेदारको मिलेमतोमा दुरुपयोग हुने गरेको सूचना बाहिर आएपछि सडक डिभिजन कार्यालय अहिले काम पूरा नगरी भुक्तानी नगर्न सचेत भएको हो । यतिमात्र होइन, सडक साइडमा कोरिने सेतो पहेलो धार्का लेखन तथा पेन्टिङका लागि विनियोजित बजेट पनि कामै नगरी दुरुपयोग भएको तथ्य सूचनाबाट खुल्यो ।
पश्चिमाञ्चल सडक डिभिजन अन्तर्गत नम्बर ५ शिवपुरमा महेन्द्रराजमार्गको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सूचना अध्ययन गर्दा आर्थिक वर्ष ०६९÷७० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट उपशीर्षक नम्बर ३३७१५८४ अनुसार पुलपुलेसा संरक्षण तथा मर्मत सम्भार अन्र्तगत कोन्द्रेखोला पुलको लागि नौ लाख ६० हजार खर्च गरिएको देखियो । तर फिल्डमा गएर हेर्दा उक्त रकम कोन्द्रेखोला पुलमा खर्च नगरिएको स्पष्ट भयो । सोही आबको बजेट उपशिर्षक नम्बर ३३७१६५४ अनुसार कालोपत्रे आदिका लागि १७ लाख, रोड साइन पेन्टिङ्ग तथा अक्षर लेखन कार्यका लागि दुई लाख ९९ हजारसहित ५० लाख ९९ हजार बजेट पनि कामै नगरी भुक्तानी गरिएको सूचनाका आधारमा समाचार सार्वजनिक भएपछि सडक प्रशानले सुधारको कदम थालेको हो ।
यी तथ्य सार्वजनिक भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारहरूको कामप्रति कडाइ गर्नुका साथै कामै नगरी भुक्तानी नदिने गरेको छ । ती सूचनाहरू सार्वजनिक भए लगत्तै मोड सुधारको अलवा सुपादेउरालीदेखि नरपानीसम्मको सडकको कालोपत्रे पनि स्तरीय बनेको स्थानीय बताउँछन् । यी सूचना अभियन्ता मुक्तिनाथ भूषालले सम्बन्धित निकायहरूबाट सूचनाको हकको ऐन प्रयोग गरी संकलन गर्नु भइ विश्लेषण गरी स्थानीय मिडियामार्फत बहसमा ल्याउनुभएको थियो ।
–––––