सफलताको कथा : समयमै जानकारी पाउँदा २३ लाख दुरुपयोग हुनबाट बच्यो 

By editor, 14 May, 2019

 

जाजरकोट जिल्ला उत्तरपूर्वी क्षेत्रमा पर्ने नलगाड नगरपालिका वडा नं. ११ मा रहेको साविकको रग्दा ९ चौखामा दुई हजार ५०० मिटर सडक निर्माणको योजना सञ्चालन भएको थियो ।

जिल्ला समन्वय समितिबाट सर्मी डोल्पा जोड्ने रिङरोड निर्माणका लागि आर्थिक वर्ष २०७४÷२०७५ मा चौखा बजारबाट रजिकसम्म सडक निर्माणका लागि उपभोक्ता समितिबाट सञ्चानका लागि काम शुरु गरिएको थियो ।

उपभोक्ता समितिसँग मिति २०७३ फाल्गुनमा सम्झौतामा दुई हजार पाँच सय मिटर बाटो खन्नुपर्ने सम्झैता भएको थियो भने जसको लागत स्टमेट २३ लाख रुपैयाँ रहेको थियो । 

आर्थिक वर्ष सकिन लाग्दा जिल्ला सदरमुकामदेखि पैदल दुई दिन हिडेर जाने स्थानमा सडक निर्माण कार्य सञ्चालन भएकोमा जिल्ला समन्वय समितिले पनि त्यति अनुगमन गर्न नपाउने हुँदा आर्थिक वर्षको अन्तिममा जिल्ला समन्वय समितिले खटाएको प्राविधिक बलबहादुर विश्वकर्माले सम्बन्धित फिल्डको वास्तविक कामको रिपोर्ट नल्याई उपभोक्ता समितिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीय केही व्यक्तिको मिलेमतोमामा नक्कली काजजात बनाएर दुई हजार ५०० मिटर बाटो खनेको प्राविधिक रिपोर्ट बनाइ पेश गरेपछि स्थानीय विकास अधिकारीले २३ लाखको चेक काटी २०७५ असार २३ गते शुक्रबार चेक उपभोक्ता समतिलाई दिएको थियो । 

स्थानीय सूचनाको हकका अभियन्ता गणेश बानियाँले यो कुराको सूचना पाएकाले काम नभइ रकम भुक्तानी दिएको पुष्टि भयो अनि स्थानीय विकास अधिकारीलाई फोन गरेर काम नभएको कुरा भनेपछि तुरुन्त उक्त चेक रद्द भएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाणसहित उजुरी पनि गरियो ।

त्यसपछि जिल्लाका सबै मिडियाकर्मीलाई जानकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दा विभिन्न कुरा सार्वजनिक भयो र कार्य सम्पन्न भएको प्राविधिक रिपोर्ट वनाउने प्राविधिक बलबहादुर विश्वकर्माको जागिर समेत खोसियो । 

उपभोक्ता समितिलाई २३ लाख भुक्तानीका लागि सिफारिस दिने नलगाड नगरपालिका वडा नं ११ जाजरकोटका वडाअध्यक्ष सहित चारजना वडा सदस्यले कामै नभएको कामको काम भएको हो भनी रकम भुक्तानीका लागि सिफारिस गरेको देखिएपछि उनीहरूलाई जिल्ला समन्वय समितिबाटस्पस्टीकरण सोधिएको थियो । 

उक्त कुरा विभिन्न सञ्चार माध्यमहरूबाट पनि सार्वजनिक भयो । त्यसपछि छानविन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि समेतले अनियमित कार्यमा संलग्न भएको पाइएको थियो । अख्तियारले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभएपनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टीकरण सोधेपछि छानवीन शुरु भयो ।

निर्वाचित वडा अध्यक्ष जितबहादुर मल्ल र सदस्यहरू भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकुमारी नेपाली र विर्खबहादुर बानियाँले वडा कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई तीन हजार पाँच सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गरेका थिए । 

एकजना सूचानाको हकका अभियन्ताको प्रयासबाट विकासको नाममा आएको राज्यकोषको रकम जोगिएको छ भने अनियमितता गर्नेले पनि कारबाही भोग्नुपरेको छ । 
–––