चैत २७, २०७५
काठमाडौं – बबरमहलस्थित वन तथा भू–संरक्षण विभागमा पुग्दा लाग्छ, विभाग नभएर कतै थोत्रा गाडी थन्क्याउने ग्यारेजमा त आइपुगिएन ?
नअल्मलिनुस्, विभाग नै हो, तर ग्यारेजभन्दा कम्ती भने छैन । साना ठूला गरी दर्जनौं गाडी कुहिएर बसेका छन् । झार पलाइरहेको जो कोहीले पनि सहजै देख्न सक्छन् ।
सरकारी सम्पत्तिमा यसरी खिया लागिराख्दा त्यसको संरक्षण वा लिलाममा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
यसरी सरकारी गाडीहरूको बिजोग देखेपछि हामीले सूचनाको हक प्रयोग गरी विभागसँग प्रयोगमा रहे/नरहेका सवारी साधनहरूको विवरण माग्यौं ।
विभागकै स्वामित्वमा रहेका गाडीहरूको विवरण प्राप्त भयो, जसमा विभाग परिसरमै रहेका विभिन्न मुद्दामा बरामद गाडीहरूको विवरण उल्लेख छैन ।
विभागमा रहेका ३३ वटा चारपांग्रे सवारीमध्ये २० र १ सय १ वटा दुईपांग्रे सवारीमध्ये ६० वटा बिग्रिएर थन्किएको पाइयो । जुन ६० प्रतिशतभन्दा बढी हो ।
विभागले उपलब्ध गराएको विवरणमा ३३ वटा गाडीमध्ये १३ वटा मात्र चालु अवस्थामा रहेको उल्लेख छ । यस्तै १ सय १ मोटरसाइकल तथा स्कूटरमध्ये ४१ वटा मात्र चालु अवस्थामा रहेको देखिन्छ ।
विभागको स्वामित्वमा रहेका बाहेक विभिन्न स्थानबाट बरामद भएका सवारी साधनहरू पनि विभागमा कुहिएर बसेका छन् ।
किन भएन लिलाम ?
विभागका सूचना अधिकारी जीवनाथ पौडेल विभिन्न कठिनाइका कारण सवारी साधनहरू लिलाम हुन नसकेको बताउँछन् ।
‘ठूला गाडीको कुरा गर्नुहुन्छ भने विभिन्न मुद्दामा बरामद भएका गाडी छन्, मुद्दाको अन्तिम फैसला नभएसम्म ती गाडी लिलाम गर्न सक्ने अवस्था रहँदैन,’ उपसचिव पौडेलले भने ।
विभागमा आएको केही महिना मात्र भएको भन्दै सूचना अधिकारी पौडेलले शुरूमा आफूले पनि यसबारे जिज्ञासा राखेको सुनाए । ‘शुरूमा मलाई पनि अचम्म लागेको थियो । मैले पनि जिज्ञासा राखेँ,’ पौडेलले भने, ‘विदेशी दातृ निकायले दिएका नीलो प्लेटका गाडी पनि लिलाम गर्न समस्या रहेछ ।’
पौडेलले आफू गोरखामा डीएफओ हुँदा लिलामीका क्रममा झेलेको अप्ठ्यारो पनि सुनाए । ‘३९ सालमा खरिद गरिएको एउटा मोटरसाइकल रहेछ, त्यसलाई लिलाम गर्न खोज्दा पहिले त्यसयताको नवीकरण शुल्क बुझाउनुपर्दो रहेछ,’ पौडेलले भने, ‘त्यसमा त एक लाखभन्दा बढी नवीकरण शुल्क नै बुझाउनुपर्ने देखियो ।’
विभागकै स्वामित्वमा रहेका र प्रयोग गर्न नमिल्ने गाडीहरू लिलामीको प्रक्रियामा रहेको उनले बताए ।
प्रयोगमा रहेका गाडी महानिर्देशकदेखि उपसचिवसम्मलाई
विभागमा जम्मा १३ वटा गाडी चालु अवस्थामा रहेको देखिन्छ । ती गाडीहरू महानिर्देशक रामप्रसाद लम्सालदेखि उपसचिवहरूसम्मले प्रयोग गर्ने गरेका छन् । लम्सालका अलावा उपमहानिर्देशकद्वय राजेन्द्र केसी र खुश्चेव श्रेष्ठ तथा उपसचिवहरू प्रेमप्रसाद खनाल, राजेन्द्र न्यौपाने, राकेश कर्ण, माधुरी कार्की, वसन्तराज पुरी, रविलाल शर्मा, प्रकाशसिंह थापा र प्रेमप्रसाद पौडेलले गाडीको सुविधा लिएका छन् ।
हेर्नुहोस्, चारपांग्रे सवारीको अवस्था
उपमहानिर्देशकदेखि हलुका सवारी चालकसम्मलाई दुईपांग्रे
उपमहानिर्देशक शिवप्रसाद वाग्लेदेखि उपसचिव, नासु, खरिदार तथा हलुका सवारी चालकसम्मले मोटरसाइकल चढ्ने गरेका छन् ।
स्रोत : लोकान्तर अनलाइन