विराटनगर, १६ चैत । मुख्यमन्त्री शेरधन राईले सकेसम्म आगामी भदौ महिनाभित्रै सूचनाको हकसम्बन्धी प्रादेशिक कानुन ल्याइने प्रतिबद्धता जनाएका छन् । शनिबार नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस तथा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राईले उक्त प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई संघीय संरचनामा लैजान र चाँडो सूचनाको अधिकारसम्बन्धी कानुन ल्याउन प्रदेश सरकारसमक्ष दवाब सिर्जना गरेका थिए ।
मुख्यमन्त्री राईले पनि सूचनाको अधिकार सम्बन्धी कानुन सकेसम्म छिटो तर भदौभित्रै ल्याइने बताए । उनले प्रादेशिक सूचनाको अधिकारसम्बन्धी कानुन तर्जुमामा सहयोग गर्न आयोगका प्रमुख आयुक्त बाँस्कोटालाई आग्रह समेत गरे ।
‘मैले प्रमुख आयुक्त बाँस्कोटाका अगाडि कमिटमेन्ट गरें, कानुन भदौसम्म होइन कि सकेसम्म त्योभन्दा छिटो बनाउन चाहन्छौं ।’ उनले भने– ‘कानुन बनाउने कुरामा पनि सहयोगको अपेक्षा गर्दछु ।’
अहिले बन्नुपर्ने कानुन एकातिर र बनाउनुपर्ने अर्कोतिर जस्तो भइरहेको स्वीकार गरे । कर्मचारी हुन् वा विशेषज्ञ, आफूलाई लागेको क्षेत्रका कानुनमात्रै बनाउने अवस्था भएको बताए ।
मुलुकमै सही नेतृत्वको खडेरी लागेको भन्दै मुख्यमन्त्री राईले आफू लोभ, स्वार्थ र सिण्डिकेटबाट मुक्त भएर काम गर्न सक्ने अवस्थामा रहेको जिकिर गरे । मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा नाम र राजधानीको विषयले अब प्रवेश पाउने कुरा बताए ।
सोही कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भने भदौभित्रै सूचनाको हकसम्बन्धी कानुन बनाउने आश्वासन दिएका छन् । उनले प्रदेश राम्रा कानुन बनाउने कुरामा लागिपरेको जानकारी दिए । लोकतन्त्र बलियो हु“दै गएकोले पत्रकारिता क्षेत्र पनि बलियो बन्ने उनले बताए ।
उद्घोष दैनिक अनलाइनबाट