एक वर्षमा ७ दर्जन सिएविरुद्ध उजुरी

By editor, 30 January, 2019

 बुधवार, माघ १६, २०७५

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले एक वर्षमा करिव सात दर्जन चार्टर्ड एकाउन्टेन्ट (सिए) तथा दर्तावाल लेखाव्यवसायीविरुद्ध उजुरी परेको जनाएको छ । लेखापरीक्षण व्यवसायलाई व्यवस्थित र विश्वासयोग्य बनाउनका लागि संस्था सक्रिय भएको र अधिकांश उजुरीको छानबिन गरी कारवाही अघि बढाइएको अध्यक्ष जगनाथ उपाध्यायले बताए । 
आइक्यानको २२ औं वार्षिकोत्सव र लेखा व्यवसाय तथा अबको बाटोसम्बन्धी एकदिवसीय सम्मेलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष निरौलाले लेखाव्यवसायको विकास, संरक्षण र सवद्र्धन गर्न संस्थाको भूमिका प्रभावकारी बनाइएको बताए । लेखा व्यवसायको प्रवद्र्धन, जनशक्ति उत्पादन, लेखाव्यवसायीको अनुमति प्रमाणपत्र दिने र लेखाव्यवसायीलाई अनुशासनको कारवाही गर्ने अर्धन्यायिक निकायका रूपमा रहेको संस्थाले नेपाली लेखाव्यवसाय शिक्षा र लेखा परीक्षणलाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न कार्यक्रम लागू गरिएको समेत उनले जानकारी दिए । 

संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा आगामी बिहीबार गर्ने सम्मेलनमा लेखाव्यवसायका विविध विषयमा छलफल हुने जनाएको छ । यसअन्र्तगत डाटा सुरक्षा (ब्लकचेन) र वित्तीय बजारको बारेमा छलफल हुनेछ । यसैगरी लेखामा कसरी गुणस्तरीयता प्रदान गर्न सकिन्छ र कुन आधारमा गुणस्तरको आश्वस्तता दिलाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने तथा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । यस्तै संस्थागत सुशासनका लागि व्यवसायिक लेखापालकको भूमिकाका साथै संस्थागत सुशासन रिपोर्टिङ सम्बन्धमा जानकारी गराउने अध्यक्ष उपाध्यायले जानकारी दिए । 
एकदिवसीय कार्यक्रमको अन्तिम सत्रमा नेपालमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रमा लागू गरिएका नेपाल वित्तीय प्रतिवेदनका सम्बन्धमा अनुभव आदान प्रदान गरिने कार्यक्रम राखिएको छ । जसमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिका साथै बिमा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । सम्मेलनबाट लेखापरीक्षण व्यवसायमा देखिएको समस्या र समधानका उपायका बारेमा छलफल हुनुका साथै आमजनताले चार्टर्ड एकाउन्टेन्टले गरेको कामलाई विश्वासमय दिलाउन सहयोग पुग्ने बताइएको छ । 
हाल आइक्यानमा १ हजार ३ सय ३७ चार्टर्ड एकाउन्टेन्ट्स सदस्य र ७ हजार २ सय ५९ दर्तावाला लेखापरीक्षक सदस्य छन् भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा गरी करिव १४ हजार विद्यार्थी अध्ययनरत छन् । संस्थाले स्वदेशमै न्यून शुल्कमा लेखाव्यवसायका लागि आवश्यक पर्ने उच्च जनशक्ति उत्पादन गरिरहेको छ र लेखाव्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन लेखापरीक्षणमान तथा नेपाल वित्तीय प्रतिवेदनमानको सफल कार्यान्वयनमा समेत भूमिका खेल्दै आएको छ । यसैगरी लेखाव्यवसायीले प्रदान गर्दै आइरहेको सेवामा गुणस्तर कायम गर्न ‘क्वालिटी एसुरेन्स रिभ्यु’ को माध्यमबाट गुणस्तर परीक्षण कार्यको समेत थालनी गरिसकेको जनाएको छ ।

 

स्रोत : कारोबार दैनिक