सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.–६ मा रहेको जुगल प्राथमिक विद्यालयमा ३० जनाभन्दा बढी दलित छात्रछात्राको लागि आएको छात्रवृत्ति रकम वितरण नभई अनियमितता भएको अभिभावकहरूले गुनासो गर्दै आएका थिए ।
विगत तीन वर्षदेखि छात्रवृत्ति रकम नपाएका बालबालिकाहरूलाई के थाहा ? रकम निकासा भएर पनि विद्यालयले रकम नबाँडेको भनेर । जब स्रोतव्यक्तिले नै ती विद्यार्थीको भरपाईसहित जिल्ला शिक्षा कार्यालयमा रकम वितरण भएको विवरण विद्यालयले पेश गरिसकेको भनेर अभिभावकलाई जानकारी गराए, तब खुल्यो विद्यालयभित्र छात्रवृत्ति रकममा अनियमितताको रहस्य ।
स्थानीय अभिभावक उदय ज्योतीले विद्यालयमा आएको छात्रवृत्ति रकम दुरुपयोग भएको आशंकामा मिति २०७३ मंसिर १२ गते जुगल आधारभूत विद्यालयमा छात्रवृत्ति वितरणसम्बन्धी विगत तीन शैक्षिक सत्रको सक्कल बिल भर्पाइको प्रमाणित प्रतिलिपि उपलव्ध गराई पाउँ भनी सूचना मागको निवेदन दर्ता गराउनुभयो ।
उक्त सूचना मागको उद्देश्य निवेदनमा आफ्नो अध्ययन प्रयोजन भनी उल्लेख गरिएको भएता पनि छात्रवृत्ति रकममा भएको अनियमितताको वास्तविकता उजागर गर्नु र सरकारबाट दलित समुदायको लागि विनियोजन भएको छात्रवृत्ति रकममा अनियमितता र भ्रष्टाचार हुनबाट रोक्नु रहेको थियो । उनले प्रयोजन खोलेर त्यस विद्यालयमा रहेका र रहनुपर्ने सूचना तथा विवरणहरू आवश्यक परेको उल्लेख गर्दै सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (३) अनुसार सूचना माग गरी विद्यालयका प्रधानाध्यापकसमक्ष निवेदन पेश गरेका थिए । निवेदनमा शैक्षिक सत्र आ.व. २०७१–०७२, आ.व.०७२÷०७३ र आ.ब. २०७३–०७४ मा कति छात्रछात्रा अध्ययनरत थिए ? जिल्ला शिक्षा कार्यालय, सिन्धुपाल्चोकबाट आएको छात्रवृत्तिको रकम कुन आधारमा छानेर कस–कसलाई वितरण गरियो ? सो तीन वर्ष अवधिमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको नाम, ठेगाना, छात्रवृत्ति वितरण गरेको र विद्यार्थीले बुझिलिएको रकमको भर्पाइको प्रमाणित प्रतिलिपि र आर्थिक वर्ष २०७१÷०७२ देखि तीन आर्थिक वर्षसम्मको शैक्षिक, आर्थिक विवरण समेतको प्रमाणित प्रतिलिपिको सूचना माग गरिएको थियो ।
सूचना माग भएको १५ दिन बितिसक्दा पनि सूचना प्राप्त नभएपछि सूचना मागकर्ता ज्योतीले कार्यालय प्रमुखलाई उजुरी गर्नुभएको थियो । तर पनि विश्वासनीय र चित्तबुझ्दो सूचना पाउन सकिरेहका थिएनन् । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम गएको मौकामा उहाँले जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारीसमक्ष सूचनाको हकको निवेदन पेश गर्नुभयो । जिल्ला शिक्षा कार्यालयले जिल्लाभर कुन कुन विद्यालयमा कति कति रकम निकासा हुने गर्दछ भन्ने विस्तृत विवरण छापिएको शैक्षिक सन्देश बुलेटिन नै उपलब्ध गराएपछि आफ्नो विद्यालयमा कति छात्रवृत्ति रकम निकासा भएको रहेछ भन्ने उनले थाहा पाए । त्यसपछि गाउँ फर्केर विद्यालयमा गई सोहीअनुसारको सूचना उपलब्ध गराउन आग्रह गरेपछि प्रधानाध्यापक रामशरण गिरी सत्य कुरा बताउन बाध्य हुनुभयो ।
त्यसपछि उहाँले कार्यालय प्रमुखसमक्ष उजुरी पेश गरेको सात दिन बित्न नपाउँदै मिति २०७३ पुस १ गते विद्यालयमा सूचना मागकर्ता उदय ज्योती, विद्यालय व्यवस्थापन समितिका अभिभावकहरू समेतलाई बोलाएर विगत तीन वर्षदेखि नपाएको छात्रवृत्ति वितरण गरिएको थियो । शुरुदेखि नै शिक्षा कार्यालयबाटै निकासा नभएको बताएका विद्यालयका प्रधानाध्यापक गिरी पनि रकम निकासा भएको यथार्थ अभिभावकहरू माझ बताउन तयार भए र प्रधानाध्यापकले रकम झिकेर अर्कै शीर्षकमा खर्च भइसकेको तर जसरी भए पनि सो रकम व्यवस्था गरेर विद्यालय व्यवस्थापन समितिले निर्णय गरी छात्रवृत्ति रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि विद्यालयले तत्कालै विद्यार्थीहरूले तीन वर्षसम्म नपाएर अनियमितता भएको सम्पूर्ण छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीहरूलाई वितरण गरेको थियो ।
यसरी विद्यालयले सूचना मागकर्ता अभिभावक ज्योतीलाई लिखित रुपमा सूचना समेत उपलब्ध गराएको थियो । यसअघि विद्यार्थीहरूको भरपाई मिलाएर जिल्ला शिक्षा कार्यालयमा छात्रवृत्ति रकमको फछ्र्यौट गरेको रहस्य समेत यसबाट खुल्न आएको थियो ।