सांसद/पदाधिकारीका निजी सचिवालयका जनशक्तिको तलब मासिक १ करोड १७ लाख
पुस १८, २०७५
काठमाडौँ — रूपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेस्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो ।
दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनले स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही नियुक्ति गरेका थिएनन् । सोमबार मात्र उनले कर्मचारी नियुक्ति गरेको जानकारी संसद् सचिवालयलाई दिएका छन् । तर मंगलबार अपराह्न उनको सचिवालयमा पुग्दा नियुक्ति गरिएका व्यक्ति एकजना पनि थिएनन् । ‘सुरुमा बुझाउनुपर्छ भन्ने थाहा भएन । अहिले त कर्मचारी नियुक्त गरेको विवरण बुझाइसकें । मैले बुझाएको नाम माग्न जानुस् न,’ उनले भने ।
सांसद कृष्णभक्त पोखरेल पनि शाहसँगै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति निर्वाचित भएका हुन् । चितवन–२ बाट निर्वाचित उनको समितिमा पनि स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही छैनन् ।
सचिवालयको रेकर्डअनुसार उनले एकजना पनि कर्मचारी नियुक्ति गरेका छैनन् । उनी भन्छन्, ‘सचिवालयमा मैले कर्मचारी नियुक्ति गरिसकेको छु । रेकर्डमा नभएको मात्रै हो ।’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले स्वकीय सचिवमा मकवानपुरकै हरिशरण तिमल्सिनालाई नियुक्त गरेका छन् । सचिवालयको रेकर्डअनुसार उनले कम्प्युटरअपरेटर र कार्यालय सहयोगी नियुक्त गरेका छैनन् । ‘मैले नियुक्ति गरिसकेको छु । सचिवालयमा अपडेट दिन बाँकी छ,’ उनले भने, ‘दुई/तीन दिनभित्र जानकारी गराइहाल्छु ।’ उनले नियुक्ति गरेको जानकारी गराए पनि निजी सचिवालयमा कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नै छैनन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको अनुसूची २ अनुसार संसदीय समितिका सभापतिले उपसचिवसरहको सुविधा पाउने स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक, सवारी चालक २ र कार्यालय सहयोगी एकजना राख्न पाउँछन् । निजी सचिवालयका जनशक्तिको तलब मासिक १ लाख २ हजार संसद् सचिवालयले सभापतिको बैंक खातामा पठाइदिने गरेको छ ।
समितिका सभापतिहरूले निजी सचिवालयका कर्मचारी नै नियुक्ति नगरी तलब बुझ्दा पनि संसद् सचिवालय व्यवस्थापनले चासो दिएको छैन । सचिवालयले हरेक सांसदका स्वकीय सचिवलाई अधिकृतसरहको ३० हजार ५ सय तलब बैंकखातामा पठाइदिने गरेको छ । कानुनमा सम्बन्धित कर्मचारीकै खातामा पठाउनुपर्ने प्रावधान छ ।
पदाधिकारी र सांसदका निजी सचिवालयका कर्मचारीको तलबबापत मात्रै मासिक १ करोड १७ लाख खर्च हुन्छ । ‘बैंक खातामा नपठाउँदा निजी सचिवालयका कर्मचारी नै नियुक्त नगरी पदाधिकारी र सांसदहरूले कर्मचारीको तलब आफैं लिने गरेको देखिन्छ,’ सचिवालय स्रोतले भन्यो, ‘जबसम्म सम्बन्धित कर्मचारीको खातामा पठाउने व्यवस्था हुँदैन, तबसम्म यो विकृति जारी रहन्छ ।’
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकी टोल पर्साका सुनिलकुमार कर्णलाई स्वकीय सचिव नियुक्त गरेका छन् । उनले कम्प्युटर अपरेटर र स्वकीय सचिव नियुक्त गरेको जानकारी सचिवालयको रेकर्डमा छैन । उपभोक्ता समितिका सभापति विमल श्रीवास्तवले वीरगन्जका आनन्दकुमार साहलाई स्वकीय सचिव बनाएका छन् । उनले पनि कम्प्युटर अपरेटर र कार्यालय सहयोगी राखेका छैनन् । उनीहरूको पैसा भने आफैं लिन्छन् ।
‘मेरो जिल्ला र काठमाडौंमा गरी दुईजना स्वकीय सचिव छन् । संसद् सचिवालयले एकजनाको मात्रै कार्ड दिने रहेछ । व्यवस्थापन गरिरहेको छु । चाँडै विवरण सचिवालयमा बुझाउँछु,’ उनले भने ।
राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरुले एक सातासम्म स्वकीय सचिव नियुक्ति गरेको जानकारी संसद् सचिवालय गराएकी छैनन् । राष्ट्रिय सभाको विधायन समितिका सभापति परशुराम मेघी गुरुङले स्वकीय सचिव मात्रै नियुक्त गरेका छन् । कम्प्युटर अधिकृत र कार्यालय सहयोगी नियुक्तिको जानकारी सचिवालयमा छैन ।
कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले स्वकीय सचिवमा कीर्तिपुरकी रस्मिता विष्ट राखेकी छन् । एकजना कार्यालय सहयोगी नियुक्तिको विवरण संसद् सचिवालयमा दिएकी छैनन् ।उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि स्वकीय सचिव तेह्रथुमका केदारप्रसाद तिमल्सिनालाई मात्रै देखाएकी छन् । उनले स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजना पाउँछिन् । कार्यालय सहयोगी २ जना राखेकी उनले कम्प्युटर अपरेटर नियुक्त गरेकी छैनन् । ‘यस विषयमा मलाई होइन सचिवालयलाई नै सोध्नुस्,’ उनले भनिन् ।
२९ सांसदको पनि उस्तैसचिवालय स्रोतबाट दुई साताअघि प्राप्त विवरण केलाउँदा २९ सांसदले स्वकीय सचिव नियुक्त गरेका छैनन् । संंसद् सुरु भएको नौ महिना हुँदा पनि उनीहरूले स्वकीय सचिव नियुक्ति गरेको जानकारी सचिवालयलाई दिएका छैनन् । सचिवालयले स्वकीय सचिवको मासिक ३० हजार ५ सय रुपैयाँ तलब सांसदको खातामा पठाइरहेको छ । स्वकीय सचिव नै नराखी तलबभत्ता बुझ्ने २९ मध्ये २ जना राष्ट्रिय सभाका सांसद छन् । संसद् सचिवालय स्रोतका अनुसार दुई साताअघिसम्म स्वकीय सचिवको विवरण नबुझाउनेमा नेकपाका १५, कांग्रेसका ९, राजपा एक, संघीय समाजवादी फोरमका दुई छन् । जसमा प्रत्यक्ष निर्वाचित २० जना छन् ।
राष्ट्रिय सभाका ठगेन्द्रप्रसाद पुरी र मुक्ताकुमारी यादवले सचिवालयमा स्वकीय सचिव रहेको जानकारी गराएका छैनन् । सचिवालय स्रोतका अनुसार नेकपाकी ओनसरी घर्ती, कु. तुलसी थापा, कृष्णबहादुर राई, जनार्दन शर्मा, जयकुमार राई, ध्रुवकुमार शाही, बृजेशकुमार गुप्ता, माधवकुमार नेपाल, रामकुमारी चौधरी, शेरबहादुर तामाङ, सन्तकुमार थारूले दुई सातअघिसम्म स्वकीय सचिव नियुक्त गरेका थिएनन् । पछिल्लो तीन दिनमा पूर्वप्रधानमन्त्री नेपाल, पूर्वसभामुख घर्ती, कृष्णबहादुर राई, धु्रवकुमार शाहीले स्वकीय सचिव राखेको जानकारी सचिवालयलाई गराएका छन् । घर्ती र राईले मंगलबार सचिवालयमा स्वकीय सचिवको नाम बुझाएका छन् ।
‘मेरा दुईजना पीए छन् । यसको जानकारी सचिवालयलाई पनि थियो । नवीकरण गर्नुपर्ने रहेछ । स्वकीयको नाम चाहियो भनेर सोमबार बेलुका फोन आएको थियो,’ पूर्वसभामुख घर्तीले भनिन्, ‘पीएबिना त काम गर्नै सकिँदैन नि । मेरो त छँदै छ । आज (मंगलबार) नवीकरण गर्न पठाउन लागेको छु ।’
सांसद तामाङले आफ्नो स्वकीय सचिव भए पनि मन्त्री हँुदा संसद् सचिवालयको विवरणबाट काटिएको हुन सक्ने बताए । ‘म मन्त्री हुँदा नाम काटिएको होला । स्वकीय सचिव पहिलादेखि नै राखेको छु,’ उनले भने ।
कांग्रेसका नारायण खड्का, बालकृष्ण खाँण, मीनाक्षी झा, मोहम्मद आफताब आलम, विजयकुमार गच्छदार, सीताराम महतो, ज्ञानेन्द्रबहादुर कार्कीले दुई साताअघिसम्म संसद् सचिवालयमा स्वकीय सचिवको जानकारी दिएका थिएनन् । मंगलबारसम्म खाँण, झा, कार्कीले स्वकीय सचिवको विवरण सचिवालयमा दिएका छन् ।
गच्छदारका सहयोगी कन्हैया ठाकुर स्वकीय सचिव रहेको जानकारी तत्काल सचिवालयमा जानकारी गराइने बताए । ‘संसद्बाट पनि स्वकीय सचिवको विवरण मागेको थियो । चाँडै पठाउँछौं,’ उनले भने । महतोले भने आफू जिल्लाबाट फर्केपछि स्वकीयको नाम बुझाउने बताए । खाँणले स्वकीय सचिवमा जन्मजय तिमल्सिनाको नाम सचिवालयमा बुझाए पनि कम्प्युटर अधिकृत र कार्यालय सहयोगीको विवरण बुझाएका छैनन् । ‘यो विवरण पनि लेखा शाखामा बुझाएका छौं,’ तिमल्सिनाले भने, ‘एउटा शाखामा बुझाएको विवरण अर्को शाखामा पठाउँदो रहेनछ ।’
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले स्वकीय सचिवमा डडेलधुराका वीरेन्द्रबहादुर थापा र कम्प्युटर अपरेटरमा तेजबहादुर भण्डारीलाई देखाएका छन् । उनले पनि कार्यालय सहयोगीको विवरण सचिवालयमा बुझाएका छैनन् । सचिवालयले उनको बैंक खातामा दुई कार्यालय सहयोगीको तलब पठाउने गरेको छ । उनले निजी सचिवालयका कर्मचारीको तलबबापत मात्रै एक लाख २६ हजारबुझ्छन् ।
त्यस्तै राजपाका अनिल झाले पनि स्वकीय सचिव राखेको जानकारी सचिवालयमा गराएका छैनन् । उनले १० वर्षदेखि एउटै स्वकीय सचिव रहेको दाबी गरे । ‘यसको जानकारी गराएको चाहिँ छैन । त्रुटि भएको हुनसक्छ,’ उनले भने । संघीय समाजवादी फोरमका रामबाबुकुमार यादव र सूर्य नारायण यादवले पनि स्वकीय सचिव नराखी तलबभत्ता आफैं बुझिरहेका छन् ।
स्रोत: कान्तिपुर दैनिक