कीर्तिपुर, ०२ चैत्र । त्रिभुवन विश्वविद्यालय सेवा आयोग लामो समयदेखि बिवादमा परेर नियमित रुपमा विज्ञापन नगर्दा त्रिविभित्र बेथिति बढ्दै गएको पाइएको छ । नेपाल सरकारले स्वीकृत गरेको १६ हजार ६२ दरबन्दी मध्ये सातहजार बढी दरबन्दी रिक्त हुँदा समेत समय नियमित विज्ञापन नगरेर त्रिवि पदाधिकारीहरुले नै त्रिविलाई धरासायी पार्ने प्रयास गरिरहेको देखिन्छ ।
हालै सूचनाको हकको प्रयोग गरेर बाराका मुकेश कुशवाहले सूचना आयोगको आदेशपछि त्रिविमा कार्यरत शिक्षक कर्मचारीहरुको विवरण प्राप्त गरेका हुन् । सोही सूचनालाई विश्लेषण गर्दा त्रिविका ३ हजार २ सय २० शिक्षक दरबन्दी र कर्मचारीको ४ हजार १ सय १५ दरबन्दी स्थायी पदपूर्ति नभई रिक्त अवस्थामा रहेको रहस्योद्घाटन भएको हो । शिक्षक कर्मचारीको लागि नेपाल सरकारबाट स्वीकृतीप्राप्त १६ हजार ६२ जनाको दरबन्दी रहेकोमा शिक्षकको दरबन्दी संख्या ७ हजार ९ सय ३८ जना र कर्मचारीको दरबन्दी संख्या ८ हजार १ सय २४ जना रहेको छ ।
पढाउने शिक्षकको दरबन्दी नै तीनहजार बढी रिक्त
शैक्षिक संस्था भएर पनि अध्यापन गर्ने शिक्षकहरुको रिक्त दरबन्दी लुकाएर राखिएको पाइएको छ । त्रिविबाट प्राप्त सूचनामा शिक्षकतर्फ प्राध्यापक ९ सय २९ जना, सह-प्राध्यापक २ हजार २ सय २ जना, उपप्राध्यापक ४ हजार १ सय २४ जना, सहायक प्राध्यापक ४ सय २८ जना र अन्य २ सय ५५ जनाको दरबन्दी देखाइएको छ । जसमा कार्यरत शिक्षकहरुको संख्या प्राध्यापक ४ सय १४ जना, सह प्राध्यापक १ हजार ९० जना, उपप्राध्यापक २ हजार ८ सय ३६ जना, सहायक प्राध्यापक १ सय १३ जना, उपप्रशिक्षक ६५ जना, सहायक प्रशिक्षक ५४ जना र करार सेवामा शिक्षण सहायक ५ सय २२ जना गरी कुल ५ हजार ९४ जनामात्र रहेको उल्लेख छ ।आफु अनुकुलआफ्ना मान्छे अस्थायी रुपमा भर्ती गर्न नपाउने भएपछि विगतदेखि नै पदाधिकारीहरुले वास्तविक दरबन्दी अध्यावधिक नगर्ने र समयमा सेवा आयोग मार्फत विज्ञापन नगराउने विकृति भित्राएको देखिन्छ ।
दरबन्दी अनुसार कार्यरत शिक्षकहरु बाहेक प्राध्यापक ५१५ जना, सह प्राध्यापक १ हजार १ सय १२ जना, उपप्राध्यापक १ हजार २ सय ८८ जना र सहायक प्राध्यापक पदमा ३ सय १५ जना गरी कुल ३ हजार २ सय २० जनाको दरबन्दी रिक्त रहेको देखिएको छ । अन्य शीर्षकमा २५५ दरबन्दी रहेको बताइएपनि दरबन्दीभन्दा बढी संख्यामा उपप्रशिक्षक ६५, सहायक प्रशिक्षक ५४ र शिक्षण सहायक पदमा ५ सय २२ जना गरी कुल ६ सय ४१ जना कार्यरत रहेको सूचनामा उल्लेख छ ।

कर्मचारी जताततै अभाव, दरबन्दी रिक्त
त्रिविका जुनसुकै निकायमा जाँदा कर्मचारीको अभाव देखाएर सेवा दिन महिनौं लगाइन्छ । तर भित्रभित्र आफ्ना मान्छे अस्थायी रुपमा भर्ती गर्न रिक्त दरबन्दी नै लुकाएर राख्ने गरेको पाइएको छ । त्रिविमा ८ हजार १ सय २४ जना कर्मचारीको स्वीकृत दरबन्दी रहेको छ जसमा विशिष्ट श्रेणीको १५ जना, अधिकृत प्रथम स्तरको ७५ जना, अधिकृत द्धित्तिय स्तरको २ सय ७६ जना, अधिकृत तृतीय स्तरको १ हजार ५८ जना, सहायक प्रथम स्तरमा २ हजार १ सय २९ जना, सहायक द्धित्तिय स्तरमा १ हजार ६ सय १ जना र श्रेणीविहिन कर्मचारीको दरबन्दी २ हजार ९ सय ७० जनाको रहेको पाइएको छ । यसमध्ये कार्यरत कर्मचारीको संख्या प्रशासक वा सो सरह (प्रशासनीक र प्राविधिक) ४ जना, सह प्रशासक वा सो सरह ४६ जनामात्र रहेको छ । त्यस्तै उपप्रशासक वा सो सरह १ सय ८२ जना, शाखा अधिकृत वा सो सरह ५ सय ८० जना, स्टाफ नर्स वा सो सरह प्राविधिक कर्मचारी ३ सय १३ जना, मुख्य कार्यालय सहायक वा सो सरह ८ सय ७२ जना, कार्यालय सहायक वा सो सरह ८ सय ५ जना र श्रेणीविहिन कर्मचारी १ हजार ५ सय २० जना रहेको बताइएको छ भने ठेक्का करारमा कार्यरत श्रेणीविहिन कर्मचारी ५ सय १ जना र क्याम्पस कार्यालयहरुमा आन्तरिक करार सेवामा काम गर्ने अधिकृतस्तर र सहायक स्तरका ६ सय ८४ जना गरी कुल ५ हजार ५ सय ७ जना रहेको पनि सूचनामा जनाइएको छ । दरबन्दी अनुसार ४ हजार १ सय १५ कर्मचारी रिक्त रहेको देखिन्छ भने करार र ठेक्का करार सेवामा कार्यरत संख्या समेत जोडेर कुल कर्मचारीहरुको संख्या ५ हजार ५ सय ७ जना देखाइएको छ ।

त्रिविमा कार्यरत शिक्षक कर्मचारीहरुको अभिलेख राख्ने प्रमुख दायित्व रहेको त्रिवि रजिष्ट्रारको कार्यालय अन्तरगतको कर्मचारी प्रशासन महाशाखाले त्रिविमा स्वीकृत वास्तविक दरबन्दीमा कार्यरत शिक्षक कर्मचारीको वास्तविक संख्या अध्यावधिक नरहेको भन्दै सूचना लुकाउँदै आएको थियो । सूचनाको हकका अभियन्ता कुशवाहले गत मंसीर महिनामा सूचनाको हकको निवेदन मार्फत त्रिविमा कार्यरत शिक्षक, कर्मचारीहरुको गत २०७७ आषाढ मसान्त सम्मको विवरण माग गरेकाथिए । त्रिविले समयमा सूचना नदिएको भन्दै उनले राष्ट्रिय सूचना आयोगमा माघ महिनामा पुनरावेदन गरेका थिए । गत माघ १९ गते सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्ग र सूचना आयुक्त रत्नप्रसाद मैनालीको संयुक्त इजलासबाट सूचना उपलब्ध गराउनू भन्ने आदेश दिन नपर्नाको कुनै कारण भए सातदिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश जारी गरेपछि त्रिविले इमेलमार्फत सूचना उपलब्ध गराएको उनले बताए । सूचनाको हकले त्रिविमा पर्याप्त शिक्षक कर्मचारीको अभावमा शैक्षिक गुणस्तर खस्केको, सेवाप्रवाहको गुणस्तर कमजोर रहेको र विकृति, विसंगति र बेथितिको चाङ्ग बढ्दै गएको छर्लङ्ग भएको छ ।
स्रोत : गोठालो खबर