बिष्णु चौलागाइ
धरान उपमहानगरपालिका र सांसद क्षेत्र विकास कोषको आर्थिक सहयोगमा सूचनाको हकको लागि राष्ट्रिय संजाल सुनसरी शाखाले जनप्रतिनिधि र युवाहरूलाई सूचनाको हकको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको बैठक हलमा अन्तरक्रिया गरिएको थियो ।
कार्यपालिका सदस्य र वडा सदस्यको उपस्थिति रहेको थियो भने सामाजिक युवा सस्थाको समेत उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण सूचनाका हकका राष्ट्रिय संजालका केन्द्रिय सदस्य तथा प्रदेश १ का सदस्य सचीव राजु श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति तथा अग्रज सूचना अधिकारकर्मी तारानाथ दाहाल र राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले समेत भर्चुअल छलफल मार्फत सूचनाको हक र जनप्रतिनिधिको भूमिकाको बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिले समेत कार्यक्रम राम्रो भएको र यो कानुनी कुरा र नागरिक अधिकारको बारेमा समेत ब्याख्या हुने भएकोले यस्तो कार्यक्रम अझ स्थानीय निकायले बजेट बनाएर आफैले संचालन गर्नुपर्ने एक कार्यपालिका सदस्यले बताए ।
अर्का कार्यपालिका सदस्यले भने अब बोर्ड बैठकमासमेत यस्ता कानुनी प्रावधान र नागरिक सशक्तिकरणको बिषयमा कुरा राख्ने र आफ्नो तर्फबाट गर्न सकिने सबै काम गर्ने बताए । कार्यक्रममा सूचनाको हकको व्यवहारिक प्रयोग, यसको आवश्यक्ता, महत्वका साथै जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका र नागरिक सर्बोच्चताको बिषय र नागरिक सहभागीका बारेमा छलफल गरिएको थियोे ।
उक्त कार्यक्रमको संयोजन सूचनाका हकको लागि राष्ट्रिय संजालका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक बिष्णु चौलागाईंले गरेका थिए । केही साता अघि कृषि बजार ब्यवस्थापन समितिको सभाहलमा विद्यार्थी तथा अन्य युवाहरूलाई सूचनाको हकको व्यवहारिक प्रयोग, यसको आवश्यकता र महत्त्वका साथै जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका र नागरिक सर्बोच्चताको बिषयका बारेमा प्रशिक्षण तालिम गरिएको थियोे । जसमा वडा न १३ र संसद बिकास कोषको सहयोगमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का माननीय सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रमले सहभागीलाई जागरुक र जिम्मेवार समेत बनाउने संबैधानिक अधिकारको उच्चतम प्रयोग हुने भएकाले समेत सहभागीलाई शसक्तिकरण गर्ने बताउनुभएको थियोे ।
कार्यक्रममा सूचनाको हकको कानुनी व्यवस्था,विकासक्रम, थाहा अभियान , भ्रष्टाचार नियन्त्रणमा सूचनाको हकको आवश्यकता, महत्त्व, उदेश्य , शासन व्यवस्थामा सूचनाको हकको प्रयोगबाट नागरिक अनुगमन बजेट अनुगमन, हकको ब्यवहारिक प्रयोग, यसको आवश्यकता र महत्वको बारेमा छलफल गरिएको थियोे ।
कार्यक्रममा २५ जना युवाहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत दिईएको थियो ।