आन्तरिक लेखापरीक्षकले दोहोरो सुविधा लिएको पाइएपछि त्रिविसँग थप सूचना माग

By editor, 14 December, 2017

त्रिवि रजिस्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्प्समा आन्तरिक लेखापरीक्ष गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ ।

 

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहाललगायतले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकहरूले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना माग गरिएको हो ।

 

सूचना मागमा उहाँहरुले आंगिक क्याम्पसहरुमा आर्थिक वर्ष २०७१÷०७२ र ०७२÷०७३ को आन्तरिक लेखापरीक्षणका क्रममा भएको खर्चको विवरण माग गरिएको छ ।

 

सूचनामा त्रिवी केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा आंगिक क्याम्पसहरुको आन्तरिक लेखा परीक्षण गर्न त्यस कार्यालयबाट क–कस्को नेतृत्वमा कतिवटा टोली खटिएका थिए र उक्त टोलीहरुका लागि सो कार्य सम्पादन गरेवापत के के शीर्षकमा कति कति खर्च भएको छ भन्ने विवरण माग गर्नुभएको छ ।

 

त्यसैगरी त्यस विश्वविद्यालयअन्तर्गतका ६० वटा आंगिक क्याम्पसको सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र पद  तथा आन्तरिक लेखा परीक्षण गर्न खटिएको टोलीले लिएको दोहोरो सुविधाका विषयमा कस्तो प्रकारको कारबाही हुने व्यवस्था छ सोबारे जानकारी माग गर्नुभएको छ ।

 

केही समयअघि उहाँहरुले नै त्रिभुनव विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसहरूमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएपछि उक्त सूचना माग गरिएको बताउनुभएको छ । सूचना मागको बोधार्थकपी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई समेत दिइएको छ ।