सही सूचना सम्प्रेषणले सकारात्मक परिवर्तन ल्याउँछ : आयुक्त ओली

By editor, 30 April, 2023

जीवन श्रेष्ठ

सिन्धुपाल्चोक । राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सञ्चारकर्मीले दिएको सही सूचनाले मुलुकमा सकारात्मक परिवर्तन आउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाद्वारा आयोजित सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त ओलीले सही सूचनालाई राज्यले सही ढङ्गबाट सम्बोधन गर्ने र मुलुक परिवर्तनको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

गलत सूचनाले समाजमा विग्रह र विध्वंस हुने भएकाले सही सूचना सम्प्रेषणका लागि सञ्चारकर्मीहरूलाई प्रतिबद्ध भएर लाग्न उहाँले अनुरोध गर्नुभयो ।

जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहका सूचना अधिकारी एवम् सञ्चारकर्मीहरूको उपस्थित रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सूचनाको हकलाई कार्यान्वयन गर्दा गोपनीयताको पक्षलाई भुल्न नहुने बताउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय सूचना आयोगको समन्वयमा भएको कार्यक्रममा सूचना अधिकारी एवम् सञ्चारकर्मी गरी ६० जनाको उपस्थिति रहेको थियो ।

 

स्रोत: रेडियो नेपाल अनलाइन (१४ बैशाख, २०८०)