सूचना मागको निवेदनमा तोक लगाउनुपर्ने कार्य नगर्नु : आयोग 

By editor, 4 October, 2021

 


काठमाडौं, १८ असोज : राष्ट्रिय सूचना आयोगले सूचना मागकर्ताको निवेदनमा तोक लगाउनुपर्ने झन्झटिलो प्रक्रिया हटाउन र त्यस्तो कार्य नगर्न सम्बन्धित कार्यालयलाई लेखि पठाउने निर्णय गरेको छ । 

निर्वाचन आयोग नेपाल लगायत विभिन्न सार्वजनिक निकायले सूचना माग गर्ने नागरिकलाई सोही कार्यालयको कर्मचारीले तोक लगाएपछि मात्रै निवेदन दर्ता गर्ने प्रक्रिया हटाउन आयोगको असोज ७ गते बसेको बैठक नं. २६५ (३) २५ ले निर्णय गरेको हो । 

बुदा नं. २ मा उल्लेखित उक्त निर्णयलाई आयोगले हिजो आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गरेको हो । 

आयोगले सर्वसाधारण नागरिकले कुनै पनि विषयमा निवेदन वा आवेदन लिएर÷ जाँदा तोक लगाउन कै लागि लामो समय लाग्ने विषय अहिलेको आधुनिक तथा लोकतान्त्रिक शासन पद्दतिमा सुहाउँदो नभएको उक्त निर्णयमा उल्लेख गरेको छ । 

नागरिकले सूचना माग गर्न जादाँ तोक लगाउनुपर्ने जस्ता हैरानी खेप्नु परेको भन्दै नागरिक संस्था फ्रिडम फोरमले उक्त कार्य अलोकतान्त्रिक र सूचनाको हकको कार्यान्वयनको पक्षलाई बाधा पुराउने कार्य गरेको भन्दै यस्ता गतिवधि तत्काल सच्याउन आयोगसमक्ष ध्यानाकर्षण गराएको थियो ।   सोही अनुसार अयोगले उक्त निर्णय गरेको हो ।