सूचना मागपछि खुलेको तथ्य : मेयर ,वडाअध्यक्षको श्रीमानदेखी आफन्तलाई खोप, झुटो विवरण टिपाएर धेरैलाई खोप

By editor, 27 June, 2021

चितवन , १३ असार।
सरकारले ६२ देखी ६४ बर्ष उमेर समूहका नागरिकलाई लगाउन पठाएको खोप राप्ती नगरपालिकामा चरम दुरुपयोग भएको छ । लक्षित उमेर समूह र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , जनप्रतिनिधि , पत्रकारलाई लगाउने भनिएको खोप आफन्त र नेता कार्यकर्तालाई लगाएको पाइएको छ ।

राप्तीमा झुटो विवरण टिपाएर खोपको लगाइएको छ । कर्मचारी नै नभएकाले कर्मचारी , सरसफाईकर्मी भन्दै खोप लगाएका छन् । १७ बर्षिय किशोरलाई समेत सरसफाईकर्मी भन्दै खोप लगाइएको छ । त्यस्तै विभिन्न दलका नेता कार्यकर्ताहरुलाई समाजसेवी , सल्लाहकार , सहकारी , उद्योग संघ , उद्योग वाणिज्य संघको नाममा खोप लगाइएको छ ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बरालका श्रीमान हरि पौडेलले सहकारीको नाममा खोप लगाएका छन् । त्यस्तै वडा अध्यक्ष मेनका पाठकको श्रीमानलाई दुग्ध उत्पादक सहकारी संस्थाको भन्दै खोप लगाइएको छ । उद्योग वाणिज्य संघका पर्शुराम पाठकले आफूले त खोप लगाए लगाए आफ्नो अधिकाम्स आफन्तलाई समेत खोप लगाएका छन् । उनको छोरालाई व्यवसायी , श्रीमतीलाई लक्षित बर्ग नखुलाई अन्य भनेर खोप लगाएका छन् । यता नगरपालिकाकी मेयर प्रभा बरालले ६२ देखि ६४ बर्षका नागरिकलाई ल्याइएको खोप बचेपछि स्वास्थ्यकर्मी , नगरपालिकाका सल्लाहकारहरुलाई खोप लगाइएको प्रतिक्रिया दिएकी छन् । उनले नगरपालिकाले मापदण्ड बनाएर खोप दिएको बताइन् ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगा भुजेलले केन्द्रिय र प्रदेशको निर्देशन बाहेक नगरपालिकामा छुट्टै थप निर्णय नभएको बताए । लिखित निर्णय नभएको तर स्वास्थ्यकर्मी , राजनीतिककर्मी , सहकारीकर्मीलाई प्राथमिक दिएको बताए ।

 

स्रोत : समावेशी खबर