सूचनाको हक साताव्यापी अभियान सुरु

By editor, 23 September, 2019

 

  • २०७६ असोज ५ गते २१:२८

काठमाडौं । सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा साताव्यापी नागरिक अभियान आजबाट सुरु भएको छ । यस अवसरमा नागरिक संघसंस्था तथा सूचनाको हकका अभियन्ताले सामुहिक रुपमा देशव्यापी अभियान तथा कार्यक्रम सञ्चालन गरि यो दिवस मनाउदै छन् । यसै क्रममा सूचनाको हकको लागि लामो समयदेखि अभियान चलाउँदै आएको नागरिक संस्था फ्रिडम फोरमको संयोजनमा सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसंग आज सूचना माग गरि यो अभियान शुरु गरिएको छ । 

प्रदेश सरकार अन्तर्गत पर्ने विभिन्न सार्वजनिक निकायको जानकारी तथा सो कार्यालयमा सूचना अधिकारी तोके÷नतोकेको विवरणसहित छ वटा बुदाँमा केन्द्रित रहि सूचना माग गरिएको हो । फ्रिडम फोरममार्फत सूचनाको हकका अभियन्ता सञ्जीव घिमिरे र आदित्य दाहालले संयुक्त रुपमा माग गरेको सूचनामा प्रदेश सरकार अन्तर्गतका सार्वनजनिक निकायहरुबाट सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्दै स्वतः सार्वजनिक गर्नुपर्ने सूचनाहरु प्रवाह गरे÷नगरेको जानकारी समेत माग गरिएको छ ।

त्यस्तै सूचनाको हकको संरक्षण, प्रचलन र प्रर्वद्धनका लागि प्रदेश सरकारहरुले कुनै निकाय वा संरचना बनाएको छ वा छैन, सूचनाको हक सम्बन्धी प्रदेश कानुन तर्जुमा भएको छ वा छैन, प्रदेश सरकारमा रहेका स्थानीय निकायहरुमा सूचनाको हक कार्यान्वयनको लागि प्रदेशले कुनै समन्वय वा निर्देशन गरेको छ वा छैन उल्लेख गर्दै अभियानकर्मीद्धयले सो बारेको प्रमाणित सूचना माग गरेका हुन् ।

हरेक वर्षको २८ सेप्टेम्बरको दिनलाई लक्षित गरि नेपालमा फ्रिडम फोरम लगायताका संघसंस्थाले विगत एक दशकदेखि सूचनाको हकको अन्तराष्ट्रिय दिवस मनाउँदै आइरहेका छन् । यस दिवस तथा अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिबृद्धि गर्ने, शासकिय मामिलामा नागरिकका सरोकार बारे प्रश्न गर्ने तथा सबै सार्वजनिक निकायलाई सूचनाको हक सम्बन्धि दायित्व पुरा गर्नका लागि दवाब सिर्जना गर्नु हो ।