नीति नबनी जनप्रतिनिधिले लिए सुविधा

By editor, 23 July, 2019

 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्थानीय तहको मुहारै फेरिने जनताले अपेक्षा गरेका थिए । तर तिनै जनप्रतिनिधिले स्रोत साधनको फजुल खर्च गरेको तथ्य खुलासा भएको छ ।

गाउँ÷शहरको विकास गर्छु भनेर आएका जनप्रतिनिधिले सरकारले नीति नै नबनाइ तबल भत्ता बुझेको मात्र होइन, उहाँहरू आफ्नो कार्यकक्ष सजाउन मात्र लाखौँ रकम खर्च गरेको देखिएपछि अभियन्ता मुक्तनाथ भूषालले सन्धिखर्क नगरपालिकामा सूचना माग गर्नुभयो । 

सूचनाको हकलाई प्रयोग, कार्यान्वयन र जनचेतना फैलाउँदै गर्दा गत वैशाख २७ गते सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले एक सार्वजनिक कार्यक्रममा उभिएर एनजिओ स्थापना गरी सूचनाको हकको नाममा जिल्लाको सर्वाङ्गीण विकासमा अवरोध खडा गरेको आरोप समेत लगाउनुभयो । तर अभियन्ता भूषालले तथ्य प्रमाणका कागजको प्रतिलिपि लिएरै छाड्नुभयो ।

सूचना हेर्दा नगरप्रमुख तथा उपप्रमुखहरूले आफ्नो कार्यकक्ष सजावटका लागि करिब रु २० लाख लाख खर्च गर्नुको अलवा नितिनियम नबन्दै नरपालिकाका नगरप्रमुख र १२ नम्बरका वडा अध्यक्ष बाहेकका जनप्रतिनिधिहरूले मासिक पारिश्रमिक समेत बुझेको सूचनामा देखियो ।

यी सूचनाहरूलाई सार्वजनिक गरेपछि सर्वसाधरणहरूले समेत जानकारी पाइ विरोध गर्न थाले । तर तलब लिनु भन्ने नीति बनेपछि उक्त रकम पेश्कीको रुपमा लिएको बनाइ पछि फर्छेयौट गरिएको छ । एकजना सचेत नागरिकको प्रयासबाट नगरपालिकामा संस्थागतरुपमा भएको भ्रष्टारको यसरी पर्दाफास भयो । 
–––