त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरूमा आन्तरिक लेखापरीक्षणको नाममा धेरै अनियमितता हुँदै आएको गुनासो बढेपछि यथार्थ विवरण र व्यवहार थाहा पाउन एक अभियन्ताहरूले सूचना माग गर्नुभयो ।
त्रिविअन्तर्गतका ६० वटै आङ्गिक क्याम्पसहरूमा आन्तरिक लेखा परीक्षणको प्रतिवेदन र आन्तरिक लेखा परीक्षण गर्न जाने टोलीको क्याम्पसले भुक्तानी दिएको खर्च विवरणसम्बन्धी सूचना माग गरिएको थियो ।
भ्याट छली, आयाल निगमको निःशुल्क कुपन वितरण लगायत दर्जनौ भ्रष्टाचारका घटना बाहिर ल्याउन सफल अभियन्ता तारानाथ दाहाललगायतले सूचनाको हकको प्रयोग गरी ती आंगिक क्याम्पसहरूमा सूचना माग गर्नुभएको हो ।
सूचना माग गरेपनि शुरुमा अधिकांश क्याम्पसहरूले सूचना दिएनन् । राष्ट्रिय सूचना अयोगमार्फत आदेश भएपछि सूचना उपलब्ध हुन थाले । सूचना अध्ययन गर्दा धेरै क्याम्पसहरूबाट प्राप्त भएको गुनासो सही सावित भयो । ती क्याम्पसहरूमा अध्याधिक बेरुजु रहेको, विभिन्न शीर्षकमा अनियमितता भएको, एकै मितिमा एकै व्यक्तिले दुईवटा क्याप्पसको आन्तरिक लेखापरीक्षण गरेको, काज लिएर जाँदा पनि क्याम्पसहरूलाई दोहोरो आर्थिक भार पारेको तथ्यहरू देखियो ।
लामो समयदेखि आन्तरिक लेखापरीक्षणको नाममा खटिने कर्मचारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएपछि उक्त सूचना विभिन्न सञ्चारमाध्यमार्फत प्रकाशन÷प्रशारित भएपछि विश्वविद्यालय प्रशासनले छानविन शुरु ग¥यो । छानविनमा धेरै अनियमितता भएको पुष्टि भयो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय आन्तरिक लेखा परीक्षण महाशाखाबाट आ.व. २०७२–७३ को आन्तरिक लेखा परीक्षणको कार्यादेश लिएर आर्थिक उप नियन्त्रकहरूको नेतृत्वमा टोली एक महिने भ्रमणमा निस्कनुभयो । उहाँहरूलाई २०७३ पुस २६ गतेदेखि माघ २६ गतेभित्र पूर्व क्षेत्रका आङ्किक क्याम्पसहरूको आन्तरिक लेखा परीक्षणको जिम्मा दिइएको थियो । केन्द्रीय कार्यालयबाट दैनिक भ्रमण भत्ता र यातायात खर्चसमेत पाउने गरी काज भ्रमणमा निस्किएको आन्तरिक लेखा परीक्षण टोलीले महेन्द्ररत्न क्याम्पस इलामको लेखा परीक्षण गरेबापत रु ६५ हजार ६४० खर्च गराएर फर्कियो ।
चारजनाको टोलीले लेखा परीक्षण अवधिमा खाएको, बसेको खर्च र केही यातायात खर्च अनि अन्य विविध खर्चहरू समेत क्याम्पसलाई व्यहोर्न लगाएर उनीहरू लेखा परीक्षणको कार्य सम्पन्न गरी फर्किए । आर्थिक अनुशासन कायम राख्न, आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी वनाउन गएको टोलीले नै नियमविपरीतको खर्च भुक्तानीलाई वैद्यता दिएपछि वर्षभरि हुने कारोबारमा कति आर्थिक अनियमितता हुन सक्ला सहजै अनुमान लगाउन सकिन्छ ।
क्याम्पसको लेखा शाखाहरू पनि हरेक वर्ष आउने यस्ता टोलीहरूलाई खुशी पार्ने, हिसाब मिलान गर्न लगाउने भित्रि उद्देश्यले प्रेरित भएको हुन सक्छ वा टोलीले अनावश्यक दुःख दिने नियतले बेरुजुहरू लेखिदिने होकी भन्ने त्रासका कारण उनीहरूको सेवामा तल्लिन रहने पुरानो चलन त्रिविमा पनि रहेको देखिएको छ । आन्तरिक लेखापरीक्षण टोलीको खर्च व्यहोर्ने यो परम्पराले यसलाई पुष्टि पनि गर्दछ ।
सोही टोलीले तेह्रथुम बहुमुखी क्याम्पसमा पुगेर अतिथि सत्कारस्वरुप रु दुई हजार ५०० को खानाबास खर्च क्याम्पसलाई छोडेर हिँडेको थियो । उता भोजपुर बहुमुखी क्याम्पस पुगेको आर्थिक उप नियन्त्रक गौतम शाक्य नेतृत्वको तीनजनाको टोलीले खाना, बास र यातायात खर्चवापत अतिथि सत्कार शीर्षकमा रु ५६ हजार ७०७ खर्च गराएर तीन दिनमा फर्किएको देखिएको छ । भोजपुरमा टोलीका आर्थिक उपनियन्त्रक विनोद केसीबाहेक तीनजना गत माघ ७ गतेदेखि ९ गतेसम्म लेखा परीक्षण कार्यमा बसेका थिए ।
त्यही अवधिमा केन्द्रिय प्रविधि क्याम्पस, धरानबाट प्राप्त सूचनामा ‘रजिष्ट्रारको कार्यालयबाट खटी आउने आन्तरिक लेखा परीक्षक टोलीको भ्रमण खर्चलगायत अन्य खर्च सोही कार्यालयबाट उहाँहरूलाई उपलब्ध गराइने हुँदा यस क्याम्पसको कुनै खर्च नभएको उल्लेख छ ।
केन्द्रीय प्रविधि क्याम्पसले दिएको सूचनालाई सत्य मान्ने हो भने महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम, तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम र भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा आन्तरिक लेखा परीक्षणको क्रममा भएको खर्च अनियमित देखिन्छ र सम्बन्धित व्यक्तिहरूबाट असुलउपर हुनुपर्ने देखिन्छ ।
उता जनप्रशासन क्याम्पस, बल्खुमा भएको लेखा परीक्षणमा १६ हजार १९९ खर्च क्याम्पसले ब्यहोर्नुपरेको जनाइएको छ । यता महेन्द्ररत्न क्याम्पस, ताहाचलमा लेखा परीक्षण गर्दा खाना बास खर्च रु सात हजार ५८५ क्याम्पसले खर्च ब्यहोर्नुपरेको छ । त्यस्तै धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ्गमा २०७३ भदौ ८ गतेसम्म लेखा परीक्षण गर्दा रु १२ हजार खर्च क्याम्पसले बहोर्नुपरेको छ । उता पृथ्वीनारायण क्याम्पस, पोखराले क्याम्पसकै गेष्ट हाउसमा टोलीलाई खानेबस्ने व्यवस्था गरिदियो तर टोलीले खाना र बास निःशुल्क पाए पनि चियाना खाजा खर्चबापत रु २२ हजार ८६४ बराबरको बील क्याम्पसलाई तिराएको पाइएको छ । उता त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा पुगेको टोलीले अतिथि सत्कार शीर्षकमा रु ३९ हजार १८० बराबर खाना बास खर्च र रु सात हजार ५०० यातायात खर्चसमेत क्याम्पसलाई तीर्न लगाएर फर्किएका छन् । टोलीले केन्द्रीय कार्यालयबाट त्यस क्षेत्रको आन्तरिक लेखा परीक्षण गर्न साउन २६ गतेदेखि भदौ २३ गतेसम्म एक महिनाको काज भ्रमण लिएर गएको थियो । यही टोलीले भैरहवा क्याम्पस, सिद्धार्थनगर, रुपन्देहीमा होटलको बीलभरपाईसहित रु १२ हजार ९०० खर्च क्याम्पसमा छोडेर फर्केको थियो । नियमानुसार दैनिक भ्रमण भत्ता लिने कुनै पनि कर्मचारीले होटलबास खर्च आफैं ब्यहोर्नुपर्दछ ।
उता पर्सा जिल्लामा रहेका ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज र वीरजञ्ज नर्सिङ्ग क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न गएको टोलीले साउन २६ गतेदेखि भदौ २३, २०७३ काज भ्रमण लिएर पुगेको थियो । एउटै टोलीले एउटै मितिमा दुईवटै क्याम्पसमा लेखा परीक्षण गरेको देखिन्छ । दुवै क्याम्पसहरूमा टोलीको खर्च रु १२ हजार र रु १० हजार ५०० गरी कुल रु २२ हजार ५०० भएको देखिन्छ ।
महाराजगञ्ज चिकित्सा क्याम्पसमा लेखा परीक्षण गर्दा भएको उनीहरूको खर्च खुलाइएको छैन । तर लेखा परीक्षण प्रतिवेदनमा रु २८ लाख ३२ हजार ३९३ अनियमित भएको उल्लेख गरिएको छ । आलेपको क्रममा भएको खर्च आलेप प्रतिवेदनमा नै उल्लेख गरेको छ भन्ने क्याम्पसले सूचना दिएपनि प्रतिवेदनमा सो खर्च खुलाइएको पाइएन । यस्तै वन विज्ञान अध्ययन संस्थान, हेटौंडामा खटिएको सोही टोलीले भदौ ६ गतेदेखि १० गते, २०७३ सम्म लेखा परीक्षण गर्दा रु दुई हजार ५५० खर्च भएको क्याम्पसले सूचना उपलब्ध गराएको छ ।
बाँके जिल्लास्थित नेपालगञ्ज नर्सिङ्ग क्याम्पस पुगेको टोलीले रु ३० हजार खर्च क्याम्पसको नाममा छोडेर फर्केको पाइएको छ । त्यस्तै सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसको लेखा परीक्षणमा सोही माघ २१ गतेदेखि २८ गतेसम्म बसेको टोलीले रु सात हजार ६७५ बराबरको खानाबास खर्च गरी क्याम्पसले कार्यालय विविध शीर्षकमा खर्च गरेको सूचना प्राप्त भएको छ ।
यसरी देशभर ६० वटा आङ्गिक क्याम्पसहरूमध्ये एक चौथाई अर्थात १५ वटा क्याम्पसहरूको आन्तरिक लेखा परीक्षण गर्दा केन्द्रीय कार्यालयबाट भ्रमण आदेश लिएर क्याम्पसहरूमा जाने टोलीहरूले रु तीन लाख नौ हजार १८० बराबरको आर्थिक व्ययभार क्याम्पसहरूलाई सुम्पिएर फर्केको विवरणको सूचना प्राप्तभएको समाचार बाहिर आयो ।
अन्य क्याम्पसहरूले वास्तविक खर्च विवरणको सूचना अझै लुकाएका छन् । केन्द्रीय कार्यालयबाट दैनिक भ्रमण भत्ता र यातायात खर्च भुक्तानी लिने गरी गएको टोलीले सम्बन्धित क्याम्पसहरूमा गई दोहोरो खर्च गराउनु आर्थिक अनियमितताको ज्वलन्त उदाहरण हुन् ।
त्रिवि ऐन २०४९ र त्रिवि आर्थिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार यसरी आन्तरिक लेखा परीक्षणको लागि काजमा खटिने टोलीले केन्द्रबाटै दैनिक भ्रमण भत्ता र यातायात खर्चसम्बन्धी सेवा सुविधा लिएर जाने हुँदा सम्बन्धित क्याम्पसहरूमा भार पर्ने गरी आर्थिक व्यय गर्न नहुने व्यवस्था छ ।
आर्थिक वर्ष २०७२–७३ आन्तरिक लेखा परीक्षणमा भएको अनियमितता सार्वजनिक भएपछि त्रिविले अर्को वर्षदेखि यसलाई कडाइ गरेको छ । यसरी एक जना व्यक्तिले सूचना माग गरेर अयिमितताको तथ्य बाहिर ल्याएपछि त्रिविको आन्तरिक लेखा परीक्षणमा सुधार भएको छ । साथै सबै क्याम्पसहरूले सूचना अधिकारीको व्यवस्था समेत गरेका छन् । सूचना अधिकारीलाई सम्बोधन गरी सूचना मागको निवेदन दर्ता गर्न ‘सूचना अधिकारी’ भन्ने व्यक्ति कोही छैन भन्ने जवाफ दिने क्याम्पसहरूले सूचना अधिकारी नियुक्त गरी सम्पर्क नम्बर, कोठा नंंकोजानकारी पनि दिनु सकारात्मक हो ।
–––––––––––