सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

By editor, 12 April, 2019

चैत २९, २०७५

काठमाडौं –मन्त्रालयहरूले सवारी प्रयोगकर्तालाई मासिक उपलब्ध गराउने इन्धनमा चरम बेथिति रहेको पाइएको छ । लोकान्तरले मन्त्रालयहरूसँग सवारी साधन र प्रयोगकर्ताको सूची, उनीहरूले मासिक पाउने इन्धन लगायतका सुविधाबारे विवरण मागेको थियो ।

यसक्रममा केही मन्त्रालयले सूचना नै लुकाए भने उपलब्ध गराएकाहरूमा पनि एकरूपता नरहेको पाइयो । यतिसम्म कि एक मन्त्रालयमा त उपसचिवले पनि मन्त्रीसरह इन्धन लिने गरेका रहेछन् ।aa

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका केही उपसचिवले मन्त्रीसरह इन्धन सुविधा पाउने गरेको थाहा पाएपछि हामीले सूचना अधिकारी सुनिता नेपालसँग जिज्ञासा राखेका थियौं । घर टाढा रहेका उपसचिवहरूले बढी इन्धन पाउने गरेको उनले बताइन् । ‘एकजना त कलंकीभन्दा अलि परसम्म पुग्नुपर्छ,’ घर टाढा रहेको पुष्ट्याइँ स्वरूप उनले भनेकी थिइन् । 

जसले सूचना लुकाए

हामीले सूचना मागेका मध्ये अर्थ, शिक्षा, उद्योग र वन मन्त्रालयले सूचना नै उपलब्ध गराएनन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सवारीको संख्या मात्र दिएर झारा टार्ने काम गर्‍यो भने गृह र रक्षा मन्त्रालयले अपुरो सूचना उपलब्ध गराएका छन् । सञ्चार, स्वास्थ्य, ऊर्जा र खानेपानी मन्त्रालयले मन्त्रीहरूले पाउँदै आएको इन्धनको विवरण उपलब्ध गराएका छैनन् ।

कुनै मन्त्रीलाई २२०, कुनैलाई १०० लिटर इन्धन !

शहरी विकास मन्त्री मोहमद इश्तियाक राई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले मासिक २०७ लिटर इन्धन लिने गरेका छन् ।

श्रम मन्त्री गोकर्ण विष्टले मासिक २००, संघीय मामिला मन्त्री लालबाबु पण्डितले १५०, कानून मन्त्री भानुभक्त ढकालले १३० र महिला मन्त्री थममाया थापाले प्रयोग गर्ने सवारीलाई मासिक १२० लिटर इन्धन उपलब्ध हुन्छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उनको सचिवालय दुवैकालागि प्रयोग हुने गाडीलाई मासिक १००/१०० लिटर इन्धन मन्त्रालयले उपलब्ध गराउने गरेको छ । यस्तै शहरी विकास मन्त्रीको स्वकीय सचिवालयका दुई गाडीलाई ८०/८०, महिला मन्त्रालयको सचिवालयले १२० र कानून मन्त्रीको सचिवालयले ७२ लिटर इन्धन मासिक पाउने गरेको देखिन्छ ।

सचिवलाई अधिकांशमा १००, पर्यटन र महिलामा १२० !

सचिवहरूले प्रयोग गर्ने सवारी साधनको हकमा आंशिक मेल रहेको पाइएको छ । महिला मन्त्रालयमा हाल सचिव पद रिक्त छ । तर सचिव हुँदा १२० लिटर इन्धन मासिक उपलब्ध गराउने गरेको देखिन्छ । यस्तै पर्यटन मन्त्रालयमा सचिवले मासिक १२० लिटरसम्म इन्धन पाउने गरेको देखिन्छ । विवरण उपलब्ध गराएका अन्य मन्त्रालयमा सचिवहरूले मासिक १०० लिटर इन्धन पाउने गरेका छन् ।

सह–सचिवलाई कतै ७०, कतै १२० लिटर !

महिला मन्त्रालयले सह–सचिवलाई नै मासिक १२० लिटर इन्धन उपलब्ध गराउने गरेको छ । पर्यटन मन्त्रालयमा सहसचिवले मासिक ९० लिटरसम्म इन्धन पाउँछन् भने भूमि व्यवस्था र शहरी विकास मन्त्रालयले सहसचिवलाई ८० लिटरका दरले इन्धन मासिक उपलब्ध गराउने गरेको देखिन्छ । सूचना उपलब्ध गराएका मध्ये बाँकी मन्त्रालयमा कतै ७० त कतै ७२ लिटर इन्धन सह–सचिवहरूले मासिक पाउने गरेका छन् ।

उपसचिवसहित अन्यलाई कतै ४०, कतै १२० लिटर !

सबै मन्त्रालयमा उपसचिवले सवारी सुविधा पाएका त छैनन्, तर जुनमा सुविधा पाएका छन् तिनमा इन्धनमा एकरूपता पाइँदैन । महिला मन्त्रालयका उपसचिवले १२० लिटरसम्म इन्धन पाउने गरेको देखिन्छ भने थोरैमा कानून मन्त्रालयका उपसचिवले मासिक ४० लिटर इन्धन पाउँछन् ।

कतिपय मन्त्रालयमा भने उपसचिवहरूले साझेदारीमा चारपांग्रे सवारी प्रयोग गर्ने गरेकाले इन्धनमा केही तलमाथि हुने गरेको पाइयो । पूलमा रहेका सवारी साधनहरूको हकमा पनि प्रयोग अनुसार घटबढ हुने गरेको देखिन्छ ।

 

स्रोत : लोकान्तर अनलाइन