राममणि दाहाल
हेटौंडा, भदौ ४ गते । स्थानीय तहले नेतृत्व पाएको एक वर्ष भइसक्दा पनि अझै मकवानपुरका अधिकाशं स्थानीय तहमा प्रवक्ता तोकिएको छैनन् । स्थानीय सरकारका रुपमा रहेको स्थानीय तहको निर्वाचन भएर पदाधिकारी पाएको एक वर्षको अवधिमा मकवानपुरका तीनवटा मात्र स्थानीय तहले प्रवक्ता तोकेका छन् ।
हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकामा पनि प्रवक्ता तोकिएका छैनन् । १० स्थानीय तह रहेको मकवानपुरको मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकाले मात्र कार्यालयको प्रवक्ता तोकेका छन् ।
बाग्मती गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत टङ्क नेगीले प्रवक्ता नतोकेका कारण सूचना अधिकारी मार्फत सूचना दिने गरेको बताउनुभयो । तर मकवानपुरका कतिपय गाउँपालिकाका सूचना अधिकारीहरुसंग गाउँपालिकाको निर्णय लगायतका सूचनाको अभाव रहने, जनसम्पर्कमा आउन नचाहने, फोन नउठाउने र सूचना अधिकारीको जिम्मेवारीलाई अनावश्यक भारका रुपमा लिने गरको पाइएको छ ।
स्थानीय तहले गरेका निर्णयलगायत स्थानीय तहको आधिकारिक धारणा सार्वजानिक गर्न प्रवक्ता तोक्नुपर्ने भए पनि प्रवक्ताको अभावमा स्थानीय तहको सार्वजनिक महत्वको विषयहरु गुपचुप रहने गरेका छन । नगरप्रमुख र गाउँपालिका अध्यक्षको चासोको अभावमा कतिपय स्थानीय तहमा प्रवक्ताको जिम्मेवारी तोक्न ढिलाइ भएको बताइएको छ । एउटै दलको बुहमत भएको स्थानमा समेत आन्तरिक विवादका कारण पनि प्रवक्ता नतोकिएको देखिएको छ ।
हेटौँडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपानेले स्थानीय तहको निर्वाचन भएर नेतृत्वमा आएको एक वर्ष भइसक्दा पनि अझै प्रवक्ता नतोकिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह पनि सरकार हो, उसले गरेका निर्णयहरु र आधिकारिक भनाइ प्रवक्तामार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ ।
हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका, इन्द्रसरोवर, भीमफेदी बकैया र बाग्मती गाउँपालिकाले उपाध्यक्षलाई कैलाश र मकवानपुरगढी गाउँपालिकाले वडा अध्यक्षलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । मनही गाउँपालिकामा उपाध्यक्ष मनिला विष्ट, कैलाशमा वडा नम्बर १० का वडा अध्यक्ष मनिकलाल मोक्तान र मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ ।
स्रोत : गोरखापत्र दैनिक