भरियो अस्पताल, क्वारेन्टाइनमै संक्रमित

By editor, 3 June, 2020

लिलाधर वली
दाङ, २० जेठ । सय बेड भनिएको कोरोना विशेष अस्पताल ५० जना विरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टाइनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई राखिएको छैन ।

संघीय सरकारले आइतवारमात्रै क्वारेन्टाइनलाई अपग्रेड गरी आइसोलेसन निर्माण गर्ने रणनीति बनाएसँगै अब संक्रमित बिरामीहरुलाई पनि क्वारेन्टाइन अपग्रेड गरी बनाइएको आइसोलेसन वा नयाँ संरचनामा आइसोलेसन अस्पताल निर्माण गरी राख्ने तयारी स्थानीय प्रशासन र स्थानीय सरकारले गरेका छन् ।

दाङमा कोरोना संक्रमित बिरामी बढ्न थालेपछि उपचार गर्न समस्या देखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा बिरामी बढेसँगै नयाँ संक्रमित बिरामीलाई उपचार गर्न समस्या भएको हो ।

एक सय बेडको क्षमता रहेको कोरोना विशेष अस्पतालले नयाँ संक्रमितलाई तत्काल नल्याउन जिल्ला प्रशासनय कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेपछि सोमवार दाङमा कोरोना संक्रमण देखिएका ९ जना व्यक्तिलाई उपचार गर्न समस्या भएको हो । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा क्षमताभन्दा बढी बिरामी रहेको भनेपछि विरामीहरुलाई उपचारमा समस्या भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा १ सय बेड भनिए पनि ती बेडहरु ५० जना बिरामीले भरिने अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा कोरोना परीक्षणकै क्रममा नेगेटिभ रिपोर्ट आएको अवस्थामा त्यस्ता बिरामीलाई अर्को बेडमा सार्नुपर्ने हुन्छ । अर्को रिपोर्टमा फेरि पोजेटिभ आए फेरि पहिलेकै बेडमा राख्नुपर्ने भएकाले ५० जना बिरामीले १ सय बेड भरिने पनि अस्पतालले जनाएको छ ।

‘रिपोर्ट फेरबदल हुनासाथ बेड पनि फेरबदल गर्नुपर्ने भएकाले ५० जना बिरामीका लागि १ सय बेड आवश्यक हुन्छ, यो जहाँतहीका कोरोना अस्पतालको अभ्यास हो’, अस्पतालका व्यवस्थापक दोर्ण वलीले गोरक्षलाई भने । सो भवनमा रहेको माथिल्लो तलासमेत उपयोग गरी आवश्यक परेको अवस्थामा २ सय बेडसम्म बनाउन सकिने अस्पताल व्यवस्थापनले मुख्यमन्त्री शंकर पोख्रेललाई केही दिन पहिले अवगत गराएको थियो ।

तर माथिल्लो तलामा रहेका झ्यालहरुमा ग्रिलहरु राखिएका छैनन् । ४ वटा कोठाहरुलाई स्वास्थ्यकर्मीको रेष्टरुमका रुपमा प्रयोग गरिएको छ भने केही कोठामा विश्वविद्यालय मातहतको आयुर्वेद क्याम्पसका कागजातहरु राखिएका छन् । अहिले कोरोना विशेष अस्पतालमा दाङका ३३ जना, बाँकेका ५ जना, कपिलवस्तुका २ जना, बर्दियाका ५ जना, रुपन्देहीका ३ जना र पूर्वी रुकुमका ३ जना बिरामीहरु उपचाररत रहेको अस्पतालले जनाएको छ ।

संक्रमितलाई फनपार्कमा
यसैबीच स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित व्यवसायीको सहमति र समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनको तयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ । सम्भवतः आइतवार साँझसम्म सो स्थानमा आवश्यक बेड र अन्य भौतिक पूर्वाधार तयार भैसक्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।

त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिने छ । ‘कुइरेपानी क्वारेन्टाइनमा राखिएका संक्रमितलाई भोलि बुधवारदेखि नै फनपार्कमा व्यवस्थापन भएको आइसोलेसन अस्पतालमा राखिने छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने । त्यसैगरी सम्भावित थप संक्रमितहरुलाई राख्नका लागि सम्बन्धित पालिकाहरुले आ–आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउने तयारीमा रहेको पनि उनले बताए ।

कोरोना विशेष अस्पतालले नयाँ संक्रमितलाई लिन नमानेपछि घोराही उपमहानगरपालिकाले वडा नं. ३ को कुइरेपानीमा रहेको क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् ।

‘घोराहीमा हिजो कोरोना संक्रमण देखिएका ९ जनालाई तत्काल कुइरेपानी क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौ, त्यहीअनुसार अहिले संक्रिमतलाई ल्याउन एम्बुलेन्सहरु सम्बन्धित वडामा रहेका क्वारेन्टाइनमा पुगेका छन्’, नगर प्रमुख चौधरीले भने– ‘यो तत्कालका लागि हो, थप व्यवस्थितरुपमा नारायणपुरमा अस्पताल निर्माण गर्दैछौं ।’

नगर प्रमुख चौधरीले १÷२ दिनमै व्यवस्थितरुपमा उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाउने समेत बताए । ‘संक्रमितलाई तत्काल उपचार गर्नुपर्ने भएकाले कुइरेपानी क्वारेन्टाइनमा डाक्टरसहितको स्वास्थ्यकमीको व्यवस्था मिलाएका छौं’, नगर प्रमुख चौधरीले भने– ‘नारायणपुरमा आइसोलेसन अस्पताल निर्माण गरेपछि बिरामीलाई त्यहाँ राखेर उपचार गर्नेछौं ।’

सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका ९ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमध्ये घोराही उपमहानगरपालिका–१ निवासी ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका–२ निवासी २६, ४०, ४५ र ४६ बर्षीय पुरुष रहेका छन् भने १९ बर्षीया एकजना महिला रहेकी छिन् भने घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही–१७ का २० बर्षीय पुरुषहरु रहेका छन् ।

तुलसीपुरमा पनि अस्पताल बन्दै
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले पनि कोरोनाका संक्रमितहरुलाई स्वास्थ्य उपचार गर्न थप आइसोलेसन अस्पतालको व्यवस्थापन गर्दैछ । तुलसीपुर उद्योग वाणिज्य संघको दोघरेमा रहेको सभाहललाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्ने अन्तिम तयारी भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

त्यसको व्यवस्थापन तुलसीपुर सिटी अस्पतालले गर्ने भएको छ । उपमहानगरपालिका र उद्योग वाणिज्य संघबीच सो हलमा आइसोलेसन वार्ड बनाउने सहमति यसअघि नै भैसकेको संघका अध्यक्ष बीरबहादुर रावत (बीरु)ले बताए । त्यसैगरी मोतीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलमा रहेको क्वारेन्टाइनलाई पनि संक्रमितहरुलाई मात्र राखेर उपचार गर्ने तयारी भइरहेको छ ।

‘क्वारेन्टाइनमा अब थप नागरिकहरुलाई राखिने छैन, क्रमशः खाली गर्दै संक्रमित नागरिकलाई मात्र राखिने तयारी भएको छ’, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने । अस्पतालका अध्यक्ष हरि रिजालले यसअघि नै सो भवनलाई कोरोनाका बिरामीलाई उपचार गर्न आइसोलेसन वार्ड बनाउन सहमति जनाइसकेका छन् ।

 

(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)

 

स्रोत : गोरक्ष दैनिक